काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।
हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्।
हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


