Thursday, June 25, 2026
Home Blog Page 549

ट्रम्पले रोके नेपालमा एमसीसी परियोजना

0

काठमाडौं: अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट हुने भुक्तानी रोकिएको छ।

अर्थमन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिअनुसार, नेपाल सरकार र एमसीसीबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट सम्झौताअन्तर्गत सञ्चालित आयोजनाका भुक्तानी प्रक्रिया हालका लागि स्थगित गरिएको छ।

यो निर्णय अमेरिकी राष्ट्रपतिको २०२५ जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार गरिएको हो।

“अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले मिति २०८१ माघ २ गते (फेब्रुअरी १५, २०२५) को इमेलमार्फत नेपाल सरकारलाई जानकारी गराउँदै, सम्झौताअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट हुने भुक्तानी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार रोकिएको जनाएको छ,” विज्ञप्तिमा उल्लेख छ।

उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : उडिसा पुग्यो नेपाल प्रहरीको टोली

0

काठमाडौं: भारतको ओडिसा राज्य स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीको एक टोली पुगेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान जानकारी दिनुभएको छ कि नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी विद्यालय पुगेर नेपाली विद्यार्थीहरूको स्थिति मूल्याङ्कन गरिरहेका छन्। यो घटनाका क्रममा बुटवलकी प्रकृति लम्साल शंकास्पद तरिकाले मृत अवस्थामा भेटिएकी थिइन्, जसपछि स्थिति तनावपूर्ण बनेको हो।

नेपाली विद्यार्थीहरूको सुरक्षा र सहजताका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीले नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरूलाई आज बिहानै विश्वविद्यालय पठाएको परराष्ट्रमन्त्री राणाले बताउनुभयो।

‘घटनाको निष्पक्ष अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गर्न र नेपाली विद्यार्थीहरूलाई आवश्यक सहयोग पुर्याउन विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिइएको छ,’ मन्त्री राणाले बताउनुभयो।

यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको जानकारी पनि उहाँले दिनुभएको छ। हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थिहरूलाई होस्टलमा फर्कन आग्रह गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६६ पैसा तय गरिएको छ

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १० पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३ रूपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४९ पैसा र बिक्री दर १९ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ चार पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ २८ पैसा र बिक्रीदर तीन सय ६१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

झापामा निःशुल्क हेमोडायलायसिस सेवाबाट बिरामी लाभान्वित

0

झापा: नेपाल सरकारले मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलायसिस सेवा सञ्चालनमा ल्याएपछि धेरै बिरामी लाभान्वित भएका छन्। झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा मात्र दैनिक ६० जना बिरामीले निःशुल्क सेवा प्राप्त गरिरहेको अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिनुभयो।

सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौला रोगीलाई निःशुल्क हेमोडायलायसिस सेवा दिइँदै आएको छ। “बिरामीले कुनै शुल्क तिर्नुपर्दैन। प्रत्येक डायलायसिसका लागि नेपाल सरकारले अस्पताललाई कोषमार्फत रु २,५०० प्रदान गर्छ, जसले विशेष गरी विपन्न नागरिकलाई ठूलो राहत मिलेको छ,” दाहालले बताउनुभयो।

दुवै मिर्गौलाले काम नगरेको अवस्थामा चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनुपर्ने हुन्छ। झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पाथिभरा अस्पताल पहिलो तथा सबैभन्दा बढी क्षमताको अस्पताल हो। हाल थप पाँचवटा स्वास्थ्य संस्थाले पनि डायलायसिस सेवा प्रदान गरिरहेका छन्।

अस्पतालमा २१ वटा हेमोडायलायसिस मेसिन सञ्चालनमा छन्। एक जना बिरामीको डायलायसिसमा चार घण्टा लाग्ने हुँदा दैनिक तीन सिफ्टमा गरी औसत ६० जनाले सेवा लिइरहेका छन्। हाल एक सय ६७ जनाले नियमित रूपमा यहाँ डायलायसिस गराइरहेका छन्। सरकारको स्वास्थ्य बीमामा आबद्ध नभएका बिरामीले समेत स्थानीय तहको सिफारिसमा सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

बिरामी तथा परिवारको अनुभव

भद्रपुर नगरपालिका–७, लेखनाथ चोकका ७० वर्षीय मनोरञ्जन न्यौपानेले सरकारले दिएको निःशुल्क सेवा नागरिकको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले १० वर्षदेखि नियमित हेमोडायलायसिस गराइरहनुभएको छ। “हप्ताको तीन पटक डायलायसिस गर्नुपर्छ,” उहाँले भन्नुभयो, “अस्पताल र सरकारले दिएको सेवा सुविधाप्रति आभारी छु।”

मेचीनगर–७ की सीता निरौलाले आफ्ना पति विष्णुप्रसाद निरौलाको डायलायसिस गराउन हप्तामा दुई पटक अस्पताल धाउनुपर्ने बताउनुभयो। सरकारले डायलायसिस निःशुल्क गरिदिए पनि बिरामीलाई अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स सुविधा नहुँदा समस्या भइरहेको उहाँको भनाइ छ। “संघीय सरकारले निःशुल्क डायलायसिस सेवा दिएको छ, तर स्थानीय सरकारले एम्बुलेन्स सुविधा पनि उपलब्ध गराए बिरामीलाई झनै सहज हुन्थ्यो,” उहाँले बताउनुभयो।

कोशी प्रदेशकै सबैभन्दा ठूलो डायलायसिस सेवा केन्द्रका रूपमा परिचित ओमसाई पाथिभरा अस्पतालमा १८ देखि ८२ वर्ष उमेर समूहका बिरामीले नियमित रूपमा सेवा लिइरहेका छन्। फिस्टुला राख्ने सेवा समेत स्वास्थ्य बीमामार्फत उपलब्ध गराइएकाले बिरामीको चाप दिनानुदिन बढ्दै गएको अस्पतालले जनाएको छ।

मधेसमा जलस्रोत संरक्षणका लागि समन्वय आवश्यक: मन्त्री लेखी

0

जनकपुर: मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशका कारण मधेसका जिल्लाहरूमा पानीका स्रोतहरू सुक्दै गएकाले यसको संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ।

जनकपुरधाममा सोमबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहकार्यमा आसमान नेपाल र मर्सिकोर नेपालले आयोजना गरेको ‘जलवायु उत्थानशील सामुदायिक परियोजना’ अन्तर्गतको जलवायु अनुकूलनसम्बन्धी कार्यशालामा मन्त्री लेखीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सबै पक्षको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यशालामा मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जलवायु परिवर्तनका कारण यस वर्ष जाडो कम भएको, हिउँदमा पानी नपरेकाले गर्मी बढ्ने र आगलागीको जोखिम उच्च रहेको बताउँदै चुरे विनाश जलवायु परिवर्तनको प्रमुख कारक भएकाले यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको औँल्याउनुभयो।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले नेपालमा मौसम विज्ञान विभागले समयमै पूर्वानुमान गर्ने प्रविधि लागू गरिरहेकाले धनजनको क्षति न्यूनीकरण भइरहेको उल्लेख गर्नुभयो। उहाँले मधेस प्रदेशका जिल्लामा मौसम विज्ञान सम्बन्धी पूर्वाधार विस्तार भइरहेकाले आगामी दिनमा जोखिम न्यूनीकरण गर्न अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

वातावरणविद् मधुसुदन गौतमले जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मधेसका जिल्लाहरू प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पूर्वतयारी अपर्याप्त रहेको औँल्याउनुभयो।

प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले मधेस जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउँदै वातावरण संरक्षणका लागि व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले “मधेस बचाउन चुरे जोगाउनुपर्छ” भन्दै चुरे संरक्षणका लागि तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।

नगरकोट भ्रमण वर्ष सफल बनाउन मेयर्स फोरमको प्रतिबद्धता

0

भक्तपुर: चाँगुनारायण नगरपालिकाले वैशाख १ गतेदेखि आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले विशेष प्रतिबद्धता जनाएको छ।

नगरकोटमा सोमबार सम्पन्न बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखहरू तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले तीनै तहका सरकारबीच समन्वय गर्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। उहाँले उपत्यका मेयर्स फोरमसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए मात्र पर्यटन तथा अन्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिने बताउनुभयो।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नगरकोटको पर्यटन प्रवर्द्धन गर्दै नागरिकको जीवनस्तर उकास्ने र समृद्ध मुलुक निर्माणमा टेवा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

बैठकले उपत्यकामा सवारीसाधनको धुवाँ प्रदूषण परीक्षण प्रविधि कार्यान्वयन गर्ने, अस्पतालजन्य फोहर व्यवस्थापन गर्ने तथा स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीचको समन्वयलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षका माध्यमबाट नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताउँदै भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकार तथा अन्य निकायहरूलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष केवल चाँगुनारायण नगरपालिकाको मात्र नभई सम्पूर्ण बागमती प्रदेश र मुलुककै पहिचानलाई उजागर गर्ने अवसर भएको बताउनुभयो।

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न बैठकमा उपत्यकाका नगर प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकमा चाँगुनारायण नगरपालिकाले तयार पारेको वृत्तचित्र प्रदर्शन गरिनुका साथै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोललाई पहिलो पटक बैठकमा स्वागत गरिएको थियो।

वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

0

ढोरपाटन (बागलुङ): आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको
छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो ।

खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिनुभयो । वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उहाँको भनाइ छ ।

रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेकामा हालसम्म ४१ वटा समाधान भइसकेका छन् । ठगीको उजुरी ५४ जनाले दिएकामा हालसम्म १७ वटा समाधान भइसकेका उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेकामा हालसम्म स्रोत केन्द्रले रु ४३ लाख पाँच हजार पाँच सय ठगिएको रकम फिर्ता गरेको छ ।

“धेरैजसो ठगी मेनपावरलेभन्दा व्यक्तिले ठगेको पाइएको छ । साउन महिनायता मृत्यु उजुरी आठ वटा परेकामा आठवटै समाधान भएका छन्”, परामर्शकर्ता रिजालले भन्नुभयो । सबैभन्दा बढी साउदी र कतारमा पुगेका कामदारको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

आफूहरुले जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिका, सम्बन्धित देशको राजदूतावास, वैदेशिक रोजगार बोर्ड र कन्सुल सेवा विभाग काठमाडौँसँग सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नागरिकहरूको समस्या समाधान गरिरहेको परामर्शकर्ता रिजालले बताउनुभयो । उहाँका अनुसार विदेशमा सम्पर्कविहीन भएका पाँच वटा उजुरी परेकामा हालसम्म एक जनालाई परिवारको सम्पर्कमा ल्याएको छ ।

रिजालले मेसियामा सम्पर्कविहीन भएका जैमिनीका एकजनालाई परिवारको सम्पर्कमा ल्याइएको बताउँदै स्रोत केन्द्रले ठगिएकोसहित मृत्यु भएका र कम्पनीमा तलब पाउन बाँकी रहेको रु ९७ लाख आठ हजार आठ सय ३१ फिर्ता गरेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रूपमा विदेश जानेहरू बढी समस्यामा परेका बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले राहदानी लिन आउने हरेक नागरिकलाई रोजगारी तथा अध्ययनका लागि विदेश जाँदा बढी सचेत हुन आग्रह गर्दै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विदेशमा गएर मृत्यु हुने र समस्यामा पर्ने बढीजसो न्यूनवर्ग र कम शिक्षित व्यक्तिहरू हुनुुहुन्छ, विदेशमा कतिले आत्महत्या गरेको र कतिको काम गर्दा गर्दै मृत्यु भएको पाइन्छ, धेरै कुरा सचेतनासँग जोडिएको हुँदा विदेश पलायन हुँदा कानुनी कुरा बुझ्न र कहाँ जाँदैछु, के काम गर्ने हो ?, कस्तो कम्पनीमा जाँदैछु भनि प्रष्ट भएर गइयो भने धेरै समस्या समाधान हुने देखिन्छ ।”

रुसद्वारा गुगललाई ३.८ मिलियन जरिवाना तिरायो, सेनालाई आत्मसमर्पण गराउने युट्युब सामग्री हटाउने आदेश

0

मस्को । रुसी सेनालाई आत्मसमर्पण गर्न सिकाउने युट्युब भिडियो राखेको आरोपमा रुसले गुगललाई ठूलो जरिवाना गरेको छ।

रुसको एक अदालतले अमेरिकी कम्पनी अल्फाबेट अन्तर्गतको गुगललाई ३.८ मिलियन रूबल (करिब ४२,००० अमेरिकी डलर) जरिवाना गरेको हो। अदालतका अनुसार युट्युबमा ‘रूसको आत्मसमर्पण’ सम्बन्धी सामग्री होस्ट गरिएको पाइएपछि यो कारबाही गरिएको हो। रुसको सरकारी स्वामित्वमा रहेको तास समाचार एजेन्सीका अनुसार ती भिडियोहरूमा रूसी सैनिकहरूलाई आत्मसमर्पण गर्न प्रेरित गर्ने निर्देशनहरू समावेश थिए।

रुसले पछिल्ला वर्षहरूमा विदेशी टेक्नोलोजी कम्पनीहरूलाई कडा निगरानी गर्दै गैरकानूनी ठहरिएका सामग्री हटाउन आदेश दिँदै आएको छ। विशेष गरी युक्रेन युद्धसँग सम्बन्धित सामग्रीहरूलाई लिएर क्रेमलिनले लामो समयदेखि पश्चिमा सञ्चारमाध्यमहरूलाई ‘भ्रम फैलाएको’ आरोप लगाउँदै आएको छ।

यस जरिवाना बारेमा गुगलले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसअघि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत डिसेम्बरमा गुगललाई अमेरिकी सरकारको ‘राजनीतिक हतियार’ भएको आरोप लगाएका थिए। उनले गुगलजस्ता प्रविधि कम्पनीहरूलाई पश्चिमा मुलुकहरूले आफ्नो ‘सूचना युद्ध’ को उपकरणका रूपमा प्रयोग गरिरहेको दाबी गरेका थिए।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल: नेपालको विजयी सुरुवात

0

काठमाडौं: नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई १-० ले पराजित गर्दै तीन महत्वपूर्ण अंक जोडेको छ।

नेपालको जितमा विमला चौधरीको गोल निणार्यक बन्यो। खेलको १३औँ मिनेटमा उनले सविता रानामगरको क्रसमा उत्कृष्ट फिनिसिङ गर्दै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।

यस जितसँगै नेपालले प्रतियोगितामा सानदार सुरुआत गरेको छ। त्यही दिन भएको अर्को खेलमा म्यानमारले लेबनानलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ।

भारतमा नेपाली विद्यार्थीको मृत्यु : घटना दबाउन नेपाली विद्यार्थीहरुलाई बलपूर्वक धपाइँदै

0

काठमाडौं: भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीको होस्टेलमा एक नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि कलेज प्रशासनले विवादास्पद निर्णय लिएको छ। कलेजले विश्वविद्यालयलाई नेपाली विद्यार्थीका लागि स्थायी रूपमा बन्द गरेको घोषणा गर्दै, सबै नेपाली विद्यार्थीलाई घर फर्कन लिखित निर्देशन दिएको छ।

आइतबार साँझ कलेजको होस्टेलमा नेपालकी प्रकृति लम्सालको शंकास्पद अवस्थामा मृत्यु भएको थियो। उनी बीटेक तेस्रो वर्षकी विद्यार्थी थिइन्। उनका साथीहरूको आरोप अनुसार, मेकानिकल इन्जिनियरिङका विद्यार्थी अद्विक श्रीवास्तवले उनको शोषण गरेका थिए। तीन वर्षदेखि प्रेमको नाममा शोषण गरेका अद्विकले अचानक जागिर पाएपछि उनीलाई छोडेर अर्कै शहर जान खोजेपछि प्रकृतिले अप्रिय निर्णय गरेको विद्यार्थीहरूको भनाइ छ।

विश्वविद्यालय प्रशासनले आइतबार जारी गरेको सूचना अनुसार, कलेजले नेपाली विद्यार्थीहरूको लागि विश्वविद्यालय स्थायी रूपमा बन्द गरिएको र सबै नेपाली विद्यार्थीलाई घर जान निर्देशन दिएको छ। ओडिशा टिभीका अनुसार, कलेजले मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूसहित सबै नेपाली विद्यार्थीलाई बसमा चढेर कटक रेलवे स्टेशन जान निर्देशन दिएको छ। उनीहरुलाई बिना टिकट र सबै सामान नलिइ घर जान आदेश दिइएको छ, जसका कारण विद्यार्थीहरू प्रदर्शन गरिरहेका छन्।

एक विद्यार्थीले ओडिशा टिभीसँग भने, “हामीलाई कुनै ट्रेन टिकट वा अन्य जानकारी दिइएको छैन। हामीलाई जबरजस्ती बसमा चढाइएको र कटक पठाइएका छौं, र जतिसक्दो चाँडो घर जान भनिएको छ।” विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनमाथि घटना दबाउन र प्रमाण लुकाउन खोज्ने आरोप लगाएका छन्।

केही विद्यार्थीहरूले आरोप गरेअनुसार, प्रकृतिले मृत्युपूर्व आफ्नो पूर्वप्रेमी अद्विक श्रीवास्तवको शोषणबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उजुरी दिइन्, तर विश्वविद्यालय प्रशासनले यो विषयलाई दबाउन प्रयास गरेको आरोप छ।

प्रदर्शनकारी विद्यार्थीहरूको भनाइ छ, “विश्वविद्यालय प्रशासनले सत्य लुकाउन प्रयास गरिरहेको छ। उनीहरूले प्रकृतिको शव फिर्ता नगरी प्रमाण लुकाउने काम गरिरहेका छन्।” विद्यार्थीहरूले सामाजिक संजाल मार्फत विश्वविद्यालय परिसरमा प्रदर्शनको आह्वान गर्दै सहयोगका लागि आग्रह गरेका छन्।

हाल, विश्वविद्यालय प्रशासनले यी आरोपहरूको बारेमा कुनै प्रतिक्रिया दिएको छैन, र प्रदर्शनकारीलाई दबाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।