Thursday, June 25, 2026
Home Blog Page 548

पहिलो टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड अमेरिकामा हुने

0

काठमाडौं: पहिलो टपसप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड आयोजना हुने भएको छ। अवार्डसम्बन्धी विशेष पत्रकार सम्मेलन काठमाडौंको हिल्टन होटलमा सम्पन्न भएको हो।

सतिसाल इन्टरनेशनल एलएलसीका लकेश श्रेष्ठ र बुद्ध कर तथा लेखाका पशुपति श्रेष्ठको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, निर्देशक दिलिप समनलगायत अन्य चर्चित व्यक्तित्वहरूको सहभागिता रह्यो।

कार्यक्रममा आयोजक टोलीले अवार्डको मुख्य उद्देश्य नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको बताउँदै, न्यूयोर्कमा आयोजना हुने भव्य अवार्ड समारोहबारे जानकारी गराए। समारोहमा विभिन्न विधामा अवार्ड वितरण गरिनुका साथै नेपाली कलाकारहरूको योगदानलाई कदर गर्दै लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।

यस अवार्डको टाइटल स्पोन्सर टपसप काठमाडौं रहेको छ भने समिप इन्टरटेनमेन्ट सह-प्रायोजकको रूपमा चयन गरिएको छ। आयोजकहरूका अनुसार, नेपाली कलाकारहरूको मेहनत र समर्पणलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड आयोजना गरिएको हो।

कार्यक्रममा उपस्थित कलाकार, सञ्चारकर्मी तथा आयोजकहरूले नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रको उन्नयनका लागि अवार्ड समारोह महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे। साथै, समारोहमा सांगीतिक प्रस्तुति तथा अन्य विशेष कार्यक्रमहरू समेत समावेश गरिने जानकारी दिइएको छ।

जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँ : अध्यक्ष दाहाल

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक प्रणालीअनुसार जनताको अवस्था रूपान्तरण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जनताको संघर्षबाट हासिल उपलब्धिको रक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला निर्माण गर्नु राष्ट्रिय कार्यभार रहेको उल्लेख गर्नुभएको छ।

“नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले निरन्तर सुधार र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण अवस्थासम्मको यात्रा तय गरेको छ,” उहाँले भन्नुभयो, “यी उपलब्धिहरू २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन तथा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण संघर्षहरूको योगदानबाट सम्भव भएका हुन्।”

पूर्वप्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको मुख्य एजेन्डा अघि बढाउँदै बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती पार गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। साथै, प्रजातन्त्र स्थापनाका लागि अमूल्य बलिदान दिने सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सबै योद्धाहरूलाई उच्च सम्मान प्रकट गर्नुभएको छ।

ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण: १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए

0

काठमाडौं: भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा उत्पन्न तनावपछि सयभन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। पर्साका एसपी गौतम मिश्रका अनुसार, अहिलेसम्म ९६ जना विद्यार्थी रक्सौल नाकाबाट नेपाल प्रवेश गरेका छन्।

‘बुधवार बिहानदेखि अहिलेसम्म ९६ जना वीरगन्ज आइपुगेका छन्,’ एसपी मिश्रले जानकारी दिए। प्रहरीले बारा, रौतहट, पर्सालगायतका जिल्लामा विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरसम्म पुग्न सहजीकरण गरेको छ।

विद्यार्थीहरू काँकडभिट्टा र विराटनगर नाका हुँदै पनि नेपाल फर्किरहेका छन्। प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यका अनुसार, विराटनगर नाका हुँदै आएका ५ जना विद्यार्थीले आफूहरू सुरक्षित रूपमा स्वदेश फर्किएको जानकारी गराएका छन्।

विश्वविद्यालयको अवस्था सामान्य बन्दै

उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य हुँदै गएको छ। नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयमा तनाव उत्पन्न भएको थियो।

नेपाल फर्किएका विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले इमेलमार्फत नेपाल फर्किन आग्रह गरेको बताएका छन्।

सरकारले ६ महिनामा जम्मा ४ प्रतिशत काम गर्यो

0

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा सरकारको समग्र प्रगति अत्यन्त न्यून देखिएको छ। सरकारले लक्ष्यको केवल ४.२ प्रतिशत मात्र काम पूरा गरेको छ, जुन अघिल्लो दुई आर्थिक वर्षको तुलनामा निकै कम हो। आर्थिक वर्ष ०८०/८१ मा ८.५ प्रतिशत र ०७९/८० मा ११.२ प्रतिशत प्रगति भएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, २८ वटा सरकारी निकायहरू मिलेर चालु आर्थिक वर्षमा १,०१० वटा क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म केवल ४.२ प्रतिशत मात्र पूरा भएका छन्।

पुस मसान्तसम्म १५७ वटा क्रियाकलाप पूरा गर्ने लक्ष्य राखिएको थियो, तर तीमध्ये केवल २७ वटा (१७.२ प्रतिशत) मात्र सम्पन्न भएका छन्। ७९.६ प्रतिशत कार्यहरू अझै प्रक्रियामा छन्, भने ३.२ प्रतिशत कार्यहरू सुरु नै भएका छैनन्।

क्षेत्रगत प्रगति

आर्थिक क्षेत्र: ४१ मध्ये १२ कार्य सम्पन्न
पूर्वाधार क्षेत्र: ३८ मध्ये ५ कार्य सम्पन्न
शासकीय सुधार: ३९ मध्ये ८ कार्य सम्पन्न
सामाजिक क्षेत्र: ३९ मध्ये २ कार्य सम्पन्न
सरकारका प्रमुख निकायहरू—प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल ट्रस्ट कार्यालय—मिलेर कुल १,९६१ वटा माइलस्टोन कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो।

शतप्रतिशत काम सम्पन्न गर्ने कानुन मन्त्रालय
सरकारी निकायहरूमध्ये कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मात्र शतप्रतिशत लक्ष्य पूरा गर्न सफल भएको छ।

अन्य मन्त्रालयहरूको प्रगति:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन – ८०.५%
रक्षा मन्त्रालय – ५९%
गृह मन्त्रालय – ५२.६%
उद्योग, वाणिज्य तथा आपूर्ति – ४८.१%
ऊर्जा, जलस्रोत तथा सिँचाइ – ४७.७%
परराष्ट्र मन्त्रालय – ४२.९%
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ४०.९%
अर्थ मन्त्रालय – ३९.२%
वन तथा वातावरण मन्त्रालय – ३६.६५%
अन्य मन्त्रालयहरूको प्रगति ३५ प्रतिशतभन्दा कम छ।
माइलस्टोन उपलब्धि : ट्रस्ट कार्यालयले पनि शतप्रतिशत पूरा गर्‍यो
चालु आर्थिक वर्षमा १,९६९ वटा माइलस्टोन मध्ये १५.६ प्रतिशत मात्र पूरा भएका छन्।

६५१ वटा माइलस्टोन पुस मसान्तसम्म पूरा गर्ने लक्ष्य थियो, तर तीमध्ये ४६.९ प्रतिशत मात्र सम्पन्न भए।
४२.१ प्रतिशत कार्यहरू प्रक्रियामा छन्, भने ११ प्रतिशत कार्यहरू सुरु नै भएका छैनन्।
नेपाल ट्रस्ट कार्यालय कानुन मन्त्रालयसँगै शतप्रतिशत माइलस्टोन पूरा गर्ने सरकारी निकाय बन्न सफल भएको छ।

निकृष्ट प्रदर्शन गर्ने निकायहरू

राष्ट्रिय सतर्कता केन्द्र – ०%
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – १५.८%
श्रम तथा रोजगार मन्त्रालय – २५%
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय – ३०.४%
युवा तथा खेलकुद मन्त्रालय – ३०.६%
सहरी विकास मन्त्रालय – ३२.५%
सार्वजनिक खरिद तथा अनुगमन कार्यालय – ३३.३%
लगानी बोर्डको कार्यालय – ३३.३%

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको समग्र प्रगति निकै कमजोर देखिएको छ। कानुन मन्त्रालय र नेपाल ट्रस्ट कार्यालयले शतप्रतिशत उपलब्धि हासिल गरे पनि धेरै मन्त्रालयहरूको प्रदर्शन असन्तोषजनक छ। खासगरी, भौतिक पूर्वाधार तथा यातायात, श्रम तथा रोजगार, र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरूको कमजोर प्रगति सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउँछ।

२०८१-पुस-महिनासम्मको-प्रगति

“पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ”- एमाले

0

दाङ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तनलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरेका छन्।

कपिलवस्तुमा एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्दै महासचिव पोखरेलले २०६२/६३ को जनआन्दोलनबाट राजसंस्थाको अन्त्य भई राजनीतिक परिवर्तन सुनिश्चित भए पनि पछिल्लो समय पुनः पञ्चायती प्रवृत्ति सक्रिय हुन खोजेको बताए।

उनले राजनीतिक परिवर्तन स्वीकार्न नसकेका केही शक्तिहरूले पूर्वराजालाई अगाडि सारेर वक्तव्यबाजी गराउने काम गरिरहेको आरोप लगाए।

‘पञ्चायतकालीन भूत फेरि सलबलाउन थालेका छन्,’ उनले भने, ‘राजालाई वक्तव्यबाजी गराएर राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको छ।’

महासचिव पोखरेलले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न कार्यकर्ताहरूलाई सक्रिय रहन निर्देशन दिए।

‘सामन्तवादी राजसंस्था हटाएर राजनीतिक क्रान्ति सफल बनाइएको छ,’ उनले भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुपर्छ।’

उनले स्थिर राजनीतिको लागि बलिया राजनीतिक शक्ति निर्माण आवश्यक रहेको उल्लेख गर्दै दुई ठूला दलको अवधारणा सही भएको तर्क गरे।

‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिरताको अन्त्य भई स्थायी सरकार निर्माण गर्न सकिन्छ भनेको हुँ,’ महासचिव पोखरेलले भने, ‘दल खोल्न प्रतिबन्ध लगाउने कुरा होइन, थ्रेसहोल्डको प्रतिशत बढाउन आवश्यक छ।’

चुनाव जितेर सत्ता सञ्चालन गर्न कसैलाई रोक लगाउन नहुने बताउँदै पोखरेलले साना–साना दलहरूको अनियन्त्रित वृद्धि आवश्यक नरहेको धारणा राखे।

देउवा भारत भ्रमणमा जाँदै

0

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाँदै छन्। उनी इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’मा सहभागी हुने कार्यक्रम रहेको छ।

शुक्रबार र शनिबार हुने उक्त समिटमा देउवा वक्ताका रूपमा सहभागिता जनाउने छन् भने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत अन्य विशिष्ट व्यक्तिहरू पनि रहनेछन्। बूढानीलकण्ठ स्रोतका अनुसार, देउवा बिहीबार नै भारत प्रस्थान गर्नेछन्।

समिटपछि देउवाले महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने कार्यक्रम रहेको छ।

१४ फागुनमा समापन हुन लागेको कुम्भ मेलामा कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेताहरूले यसअघि नै सहभागिता जनाई गंगा स्नान गरिसकेका छन्।

लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने : सभामुख घिमिरे

0

काठमाडौँ: सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताउनुभएको छ।

७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो।

सभामुख घिमिरेले भन्नुभएको छ, “वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्यायो। यो दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरित गर्छ।”

उहाँले सहिदहरूको बलिदानबाट प्रजातन्त्र र नागरिक स्वतन्त्रताको जग बसालिँदै गणतन्त्रको यात्रा तय भएको स्मरण गर्नुभयो। “वि.सं. २०६२/६३ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता र राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्यो। यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो।”

सभामुख घिमिरेले राजनीतिक आन्दोलनहरूबाट मुलुकले महत्त्वपूर्ण सफलता प्राप्त गरे पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो।

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

0

काठमाडौँ: देशभर विभिन्न कार्यक्रमका साथ आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँदै छ। मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ।

समारोहमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षमा बलिदान दिने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापनासँग जोडिएको गौरवमय दिनका रूपमा २००७ फागुन ७ गतेलाई स्मरण गरिन्छ।

यस अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई संघर्ष र सहिदहरूको बलिदानबाट स्थापित गरिएको उल्लेख गर्नुभएको छ।

खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल

0

काठमाडौँ: आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार ओमान तथा खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखहरूसँग छलफल गर्नुभएको छ।

ओमानस्थित नेपाली राजदूतावासको संयोजनमा भएको भर्चुअल बैठकमा परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर, श्रम सहचारीलगायत पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो।

बैठकमा नेपाली श्रमिक, विशेष गरी महिला घरेलु कामदारको उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल तथा शव व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो। श्रमिकसम्बन्धी सेवाहरू प्रभावकारी बनाउन देखिएका चुनौतीहरू र समाधानका उपायहरूबारे विस्तृत समीक्षा गरिएको थियो।

त्यसैगरी, आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीति, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, रोजगार विस्तार तथा नेपाली समुदाय र सामाजिक सङ्घसंस्थासँगको सहकार्यका विषयमा गहन छलफल भएको दूतावासले जनाएको छ।

बैठकमा उठान गरिएका विषयलाई समेटी परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायलाई आवश्यक निर्णयका लागि सिफारिस गर्ने सहमति भएको छ।

परराष्ट्रमन्त्री देउवाले सरकारको नीति वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउने रहेको बताउँदै प्रवासस्थित नेपाली नियोगहरूको भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले दीर्घकालीन रूपमा समस्या समाधान गरी श्रम क्षेत्रलाई सुरक्षित र आकर्षक बनाउनु पर्नेमा जोड दिनुभयो।

मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई डिजिटल सुशासनको सिद्धान्तअनुसार पारदर्शी, सरल, प्रभावकारी र सूचना प्रविधिमैत्री बनाउन पनि मन्त्री देउवाले निर्देशन दिनुभयो। आर्थिक कूटनीति प्रवर्द्धनमा नेपाली नियोगहरूलाई थप सक्रिय हुन आग्रह गर्दै उनले आवश्यक सहजीकरणका लागि परराष्ट्र मन्त्रालय तत्पर रहेको बताउनुभयो।

बैठकपछि परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, राजदूतावासका स्वयंसेवक तथा नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया गर्नुभयो। उहाँले विदेशमा बसेर इमान्दारीपूर्वक कार्य गर्न र नेपालको छवि उच्च राख्न सबैलाई आग्रह गर्नुभयो।

नेपाल सरकारले नेपाली श्रमिकहरूको हकहित सुरक्षाका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण गर्दै आइरहेको जानकारी पनि मन्त्री देउवाले दिनुभयो।

यसै क्रममा, राजदूत डोरनाथ अर्यालले परराष्ट्रमन्त्री देउवा तथा प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो। परराष्ट्रमन्त्री देउवा आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।

लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नु अहिलेको मुख्य कार्यभार भएको बताएका छन्।

७५औँ प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै भने, “निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना गरिएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै, प्रजातन्त्र स्थापनाका लागि बलिदान दिनुभएका सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।”

अध्यक्ष नेपालले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण रहेको उल्लेख गर्दै भने, “जनताको संघर्ष र सहिदहरूको बलिदानबाट नेपालको सार्वभौमसत्ता जनतामा निहित गर्ने मान्यता स्थापित भएको छ। यही संघर्षकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था निर्माण भएको छ।”

उनले लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्याय स्थापनाका लागि गरिबी, बेरोजगारी, विभेद, पछौटेपन तथा कुरीतिहरूलाई परास्त गर्न आवश्यक रहेको बताए।

अध्यक्ष नेपालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्य-मान्यताका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान दिने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संकल्प गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।