काठमाडौं: भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा उत्पन्न तनावपछि सयभन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। पर्साका एसपी गौतम मिश्रका अनुसार, अहिलेसम्म ९६ जना विद्यार्थी रक्सौल नाकाबाट नेपाल प्रवेश गरेका छन्।
‘बुधवार बिहानदेखि अहिलेसम्म ९६ जना वीरगन्ज आइपुगेका छन्,’ एसपी मिश्रले जानकारी दिए। प्रहरीले बारा, रौतहट, पर्सालगायतका जिल्लामा विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरसम्म पुग्न सहजीकरण गरेको छ।
विद्यार्थीहरू काँकडभिट्टा र विराटनगर नाका हुँदै पनि नेपाल फर्किरहेका छन्। प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यका अनुसार, विराटनगर नाका हुँदै आएका ५ जना विद्यार्थीले आफूहरू सुरक्षित रूपमा स्वदेश फर्किएको जानकारी गराएका छन्।
विश्वविद्यालयको अवस्था सामान्य बन्दै
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य हुँदै गएको छ। नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयमा तनाव उत्पन्न भएको थियो।
नेपाल फर्किएका विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले इमेलमार्फत नेपाल फर्किन आग्रह गरेको बताएका छन्।


