काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन तर्जुमासहित नेपाल शिक्षक महासंघले उठाउँदै आएका विभिन्न विषयमा महासंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा विद्यालय शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासंघले विगतदेखि उठाउँदै आएका माग र सवाललाई दुई पक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो।
छलफलका क्रममा रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आवश्यक उपायबारे पनि छलफल भएको थियो।
मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा प्राप्त राय–सुझावलाई ऐनमा समेटिने बताए। नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने उनको भनाइ थियो।
विद्यालय तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन गुणस्तरीय शिक्षा र पर्याप्त अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समय–समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने बताए।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि विद्यालय शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए। शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र शिक्षक महासंघबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी तथा नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिको सहभागिता थियो।


