जनकपुर: मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशका कारण मधेसका जिल्लाहरूमा पानीका स्रोतहरू सुक्दै गएकाले यसको संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ।
जनकपुरधाममा सोमबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहकार्यमा आसमान नेपाल र मर्सिकोर नेपालले आयोजना गरेको ‘जलवायु उत्थानशील सामुदायिक परियोजना’ अन्तर्गतको जलवायु अनुकूलनसम्बन्धी कार्यशालामा मन्त्री लेखीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सबै पक्षको सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यशालामा मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जलवायु परिवर्तनका कारण यस वर्ष जाडो कम भएको, हिउँदमा पानी नपरेकाले गर्मी बढ्ने र आगलागीको जोखिम उच्च रहेको बताउँदै चुरे विनाश जलवायु परिवर्तनको प्रमुख कारक भएकाले यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको औँल्याउनुभयो।
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले नेपालमा मौसम विज्ञान विभागले समयमै पूर्वानुमान गर्ने प्रविधि लागू गरिरहेकाले धनजनको क्षति न्यूनीकरण भइरहेको उल्लेख गर्नुभयो। उहाँले मधेस प्रदेशका जिल्लामा मौसम विज्ञान सम्बन्धी पूर्वाधार विस्तार भइरहेकाले आगामी दिनमा जोखिम न्यूनीकरण गर्न अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
वातावरणविद् मधुसुदन गौतमले जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मधेसका जिल्लाहरू प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पूर्वतयारी अपर्याप्त रहेको औँल्याउनुभयो।
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले मधेस जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउँदै वातावरण संरक्षणका लागि व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले “मधेस बचाउन चुरे जोगाउनुपर्छ” भन्दै चुरे संरक्षणका लागि तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।


