Sunday, June 28, 2026
Home Blog Page 502

विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु

0

नयाँ दिल्ली: एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ। विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि औपचारिकता पूरा गर्दै गर्दा पाइलट अरमानलाई असजिलो महसुस भएको थियो।

केहीबेरमै उनी बेहोस भएर ढलेका थिए। अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।

सहकर्मीहरूका अनुसार पाइलट अरमानले ककपिटमै वान्ता गरेका थिए। एयर इन्डिया एक्सप्रेसले अनावश्यक अनुमान नगर्न आग्रह गर्दै उनको निधनप्रति दुःख प्रकट गरेको छ।

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

0

काठमाडौं: जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आज झापाबाट प्रहरीले पक्राउ गरेका प्रसाईंलाई थप अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका उनी मुख्य नेतृत्वकर्ता (कमाण्डर) मानिन्छन्। सो प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। त्यसपछि प्रसाईं फरार भएका थिए।

तर उनी भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका हुन्।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण

0

काठमाडौँ: वन तथा वातावरण मन्त्रालयले पेरिस सम्झौताअन्तर्गत नेपालले सन् २०३५ सम्मको लागि तयार गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) को मस्यौदा सार्वजनिक गरेको छ। हाल मन्त्रालयले सरोकारवालाहरूबाट लिखित सुझाव संकलन गरिरहेको छ।

पृष्ठभूमि
पेरिस सम्झौताअनुसार सबै सदस्य राष्ट्रले पाँच-पाँच वर्षमा एनडिसी पेस गर्नुपर्छ।

नेपालले सन् २०१६ मा पहिलो र २०२० मा दोस्रो एनडिसी पेश गरिसकेको छ।

तेस्रो एनडिसी सन् २०३५ सम्मको लक्ष्य समेट्नेछ।

मुख्य लक्ष्यहरू
शून्य कार्बन उत्सर्जन रणनीति (Net-Zero) सन् २०४५ भित्र प्राप्त गर्ने।

ऊर्जा उत्पादन:

सन् २०३० सम्म १४,३१ मेगावाट नवीकरणीय ऊर्जा।

सन् २०३५ सम्म २८,५०० मेगावाट नवीकरणीय ऊर्जा।

ट्रान्समिसन हानि:

सन् २०३० मा ११.५% मा घटाउने।

सन् २०३५ मा १०.५% मा झार्ने।

फोहोरबाट ऊर्जा उत्पादन:

विशेष आर्थिक क्षेत्रहरूमा प्लान्टहरू स्थापना।

काठमाडौँमा दैनिक १०० टन ‘आरडिएफ’ प्लान्ट निर्माण।

यातायात क्षेत्रका लक्ष्यहरू
सन् २०३० सम्म:

निजी सवारी: ९०% विद्युतीकरण।

सार्वजनिक यातायात: ९०% विद्युतीकरण।

उपत्यकामा ५० किमी इलेक्ट्रिक ट्रान्जिट (ट्रलीबस, लाइट रेल)।

सन् २०३५ सम्म:

निजी सवारी: ९५% विद्युतीकरण।

उपत्यकामा १०० किमी विद्युतीय यातायात विस्तार।

अनुकूलन तथा सहभागिता
जलवायु अनुकूलन, वित्तीय व्यवस्थापन, क्षति–हानि न्यूनीकरण, र स्थानीय तहमा जलवायु कार्यान्वयन योजना समावेश।

समावेशी परामर्श प्रक्रिया : स्थानीय समुदाय, महिला, युवाहरू, आदिवासी जनजाति, निजी क्षेत्र, सञ्चारमाध्यम, सांसदहरूको सहभागिता।

‘कसैलाई नछाड्ने’ सिद्धान्तमा आधारित योजना।

विज्ञहरूको धारणा
डा. महेश्वर ढकाल: परिमाणात्मक लक्ष्यहरू समेटिएको र सब तहमा छलफल भइसकेको जानकारी।

डा. धर्मराज उप्रेती: कार्यान्वयनको प्रभावकारिता सुनिश्चित गर्न सबै तह र क्षेत्रको सहकार्य आवश्यक।

मञ्जित ढकाल: वर्तमान एनडिसीहरू पर्याप्त नभएको, तापमान वृद्धि रोक्न थप प्रभावकारी प्रयास आवश्यक।

गीता पाण्डे: समावेशी रणनीति सकारात्मक, तर प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण।

निष्कर्ष
नेपालको तेस्रो एनडिसीले जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र दिगो विकासको दिशामा ठोस लक्ष्यहरू तय गरेको छ। तर, यस्ता योजनाहरू सफल बनाउन नीतिगत प्रतिबद्धता, स्रोतको सुनिश्चितता, अन्तरसरकारी समन्वय, र स्थानीयस्तरको सक्रिय सहभागिता अत्यावश्यक हुने देखिन्छ।

ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ प्रवेश

0

दमौली (तनहुँ): ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा बिहीबार साँझ तनहुँ आइपुगेको छ।

राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार, कोट–गढी–किल्लाहरूको संरक्षण, र एकीकरण इतिहासबारे आमजनमा जागरण फैलाउने उद्देश्यसहित सुरु गरिएको पदयात्रा गोरखा दरबारबाट प्रारम्भ भई पालुङटार, सतिघाट हुँदै तनहुँ प्रवेश गरेको हो।

सतिघाटमा रिपुमर्दन गणले पदयात्राको झण्डा भानु नगरपालिकास्थित रूरू भैरव दल गणलाई हस्तान्तरण गर्‍यो। पदयात्रा टोलीलाई स्थानीयवासीहरूले बाजागाजासहित भव्य स्वागत गरे। स्वागत कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत सहभागी थिए।

पदयात्रा टोली आज (शुक्रबार) व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुग्ने कार्यतालिका रहेको छ। त्यहाँ झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गरिनेछ। सेनानी वसन्त कार्कीका अनुसार, स्थानीय तहको समन्वयमा विभिन्न स्थानमा स्वागत कार्यक्रमहरू तय गरिएको छ।

तनहुँसुरपछि टोली धेनुङ देउराली पुग्नेछ र झण्डा श्री नम्बर ३ राजदल गणलाई हस्तान्तरण गरिनेछ। त्यसपछि टोली केलादीघाट पुग्नेछ, जहाँ झण्डा श्री दि फेमस महेन्द्रदल गणलाई दिइनेछ। चैत २९ देखि वैशाख २ गतेसम्म पदयात्रा टोली तनहुँ खण्डमा रहनेछ।

केलादीघाटपछि टोली नुवाकोटगढी पुग्नेछ र त्यहाँबाट वैशाख ७ गते अन्तिम गन्तव्य जीतगढीतर्फ प्रस्थान गर्नेछ। पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा, र एकीकरणका समयमा स्थापना गरिएका पाँच ऐतिहासिक कम्पनी—श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी, सबुज—र जितगढी लडाइँमा सहभागी गुरूबक्स गुल्मको झण्डा पनि समावेश गरिएको छ।

नेपाली सेनाका अनुसार गोरखादेखि जीतगढीसम्मको पदयात्रा दूरी २०७ किलोमिटर रहेको छ। सेनाले हरेक वर्ष यो पदयात्रा आयोजना गर्दै आएको छ।

पत्रकार रजकको मृत्युपछि न्यायको मागमा माओवादीको दबाब: सापकोटा

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन माओवादी केन्द्रले सरकारलाई निरन्तर दबाब दिइरहेको बताएका छन्।

बिहीबार ताहाचलस्थित रजकको निवासमा पुगेर सापकोटाले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीका लागि पार्टीले पटकपटक सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए।

“पीडित परिवारको पक्षमा हाम्रो पार्टी दृढतापूर्वक उभिएको छ,” सापकोटाले भने, “परिवारले उठाएका मागहरूमा हाम्रो समर्थन छ।”

रजकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई सहिद घोषणा गर्न तथा तीनकुनेमा उनको सालिक निर्माण गर्न सरकारसँग माग गरेका छन्।

गत चैत १५ गते विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थक भीडले तीनकुनेस्थित एक निजी घरमा गरेको तोडफोड र आगजनीको क्रममा प्रदर्शनको दृश्य खिचिरहेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

भेट्रान्स कप रनिङ शिल्ड फुटबलको उपाधि हेटौँडालाई

0

कास्की: पोखरामा सम्पन्न तेस्रो संस्करणको ‘४५ वर्षमाथिको एट ए साइड भेट्रान्स कप रनिङ शिल्ड’ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा भेट्रान्सले जितेको छ। ‘आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल’ भन्ने नारासहित अमरसिंह ब्वाइज क्लबको आयोजनामा पोखरा रङ्गशालामा भएको फाइनल खेलमा हेटौँडाले रूपन्देही ११ लाई २–० ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो।

खेलको १९औँ मिनेटमा उमल मोक्तानले पहिलो गोल गर्दै हेटौँडालाई अग्रता दिलाए भने दोस्रो हाफको २७औँ मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै जित पक्का गरे।

विजेता हेटौँडाले उपाधिसहित नगद रु १,५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता रूपन्देहीले नगद रु ७७,७७७, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि हेटौँडाका उदय गुरुङले जिते। उहाँलाई नगद रु १०,००० प्रदान गरिएको थियो।

पुरस्कार वितरण गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लब अध्यक्ष राजेश गुरुङ, गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङ, र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङलगायतले गर्नुभएको थियो।

क्लबका सचिव विजय घिमिरेका अनुसार प्रतियोगितामा देशभरिबाट ११ टोलीको सहभागिता रहेको थियो।

मुख्यमन्त्री कँडेलद्वारा एक वर्षको कार्य प्रगति सार्वजनिक

0

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले यो विवरण प्रस्तुत गर्नुभएको हो।

प्रगति विवरणअनुसार दोस्रो पञ्चवर्षीय योजना, नौवटा कानुन, १३ कार्यविधि र दुई निर्देशिका निर्माण गरिएको छ। सुशासन प्रवर्द्धनका लागि जथाभावी बजेट वितरण, आफूखुसी रकमान्तर तथा उपभोक्ता समितिबाट हुने अनियमितता नियन्त्रण गरिएको उल्लेख गरिएको छ। साथै, उहाँले दसैँ जिल्लाको भ्रमण गर्नुभएको थियो।

भौतिक पूर्वाधारतर्फ पछिल्लो एक वर्षमा ९५ किलोमिटर कालोपत्र, २०५ किलोमिटर ग्राभेल सडक, २३ पक्की र ४२ झोलुङ्गे पुल, तथा आठ सार्वजनिक भवन निर्माण भएका छन्। जनता आवास कार्यक्रमअन्तर्गत संघमार्फत ६६१, प्रदेशमार्फत २३१ तथा ५६ विपन्नका घर निर्माण सम्पन्न गरिएको छ।

साउनमै मातहत निकायसँग नौबुँदे प्रतिबद्धता गरिएपछि ७० प्रतिशतभन्दा बढी अलपत्र आयोजना पुनः सञ्चालनमा आएको र फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च भइसकेको जानकारी उहाँले दिनुभयो। रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार तथा शे–फोक्सुण्डो सडक निर्माण सुरु गरिएको छ।

चैत मसान्तसम्म ३० प्रतिशत बजेट खर्च हुने र ९० प्रतिशत योजना कार्यान्वयनमा गएकाले अधिकांश आयोजना असार मसान्तभित्र सम्पन्न हुने विश्वास मुख्यमन्त्री कँडेलले व्यक्त गर्नुभयो। उहाँ २०८० चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।

ट्रम्पले मान्छे नै नबस्ने ठाउँलाई पनि कर लगाए !

0

काठमाडौ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ व्यापार शुल्क लागू गर्दा संसारका सबैभन्दा दुर्गम र मानव बसोबास नभएका स्थानहरूलाई पनि समेटेका छन्। यस अन्तर्गत अन्टार्कटिका नजिकका हिमनदीले ढाकिएका र पेन्गुइनहरूको बासस्थान रहेका ज्वालामुखी टापुहरूको समूह पनि समावेश गरिएको छ।

अष्ट्रेलियाको नियन्त्रणमा रहेका हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्ड जस्ता टापुहरू पृथ्वीका सबैभन्दा एकान्त र दुर्गम स्थानहरू मध्ये पर्छन्। यी टापुहरू अष्ट्रेलियाको पश्चिमी तटबाट २ हप्ताको डुङ्गा यात्राबाट मात्र पुग्न सकिन्छ र यहाँ मानिसहरूको बसोबास छैन। यो स्थानमा अन्तिम पटक मानिसहरूको भ्रमण करीब १० वर्ष पहिले भएको भनिन्छ।

यद्यपि, ह्वाइट हाउसले आफ्नो व्यापार शुल्क सूचीमा यी टापुहरूलाई समावेश गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बिहीबार भने, “पृथ्वीमा कुनै पनि ठाउँ सुरक्षित छैन।” हर्ड र म्याकडोनाल्ड आइल्याण्ड अष्ट्रेलियाका बाह्य क्षेत्रहरू मध्ये समावेश गरिएका छन्, जहाँ १०% व्यापार शुल्क लागू गरिनेछ।

अष्ट्रेलियाका बाह्य क्षेत्रहरू स्वशासित नभइ संघीय सरकारसँग विशेष सम्बन्धमा रहेका छन्। ह्वाइट हाउसको सूचीमा अन्य बाह्य क्षेत्रहरूमा कोकोस (किलिङ) टापुहरू, क्रिसमस टापुहरू र नोर्फोक टापुहरू पनि समावेश छन्।

नोर्फोक टापु, जसको जनसंख्या २,१८८ छ, सिड्नीबाट १,६०० किलोमिटर उत्तर-पूर्वमा स्थित छ, र यहाँ २९% व्यापार शुल्क लगाइएको छ। यो कर अष्ट्रेलियाको मुख्य भूमिबाट १९% बढी हो। नोर्फोक टापुका प्रशासक जर्ज प्लान्टले भने, “हामीले अमेरिका तर्फ कुनै ज्ञात निर्यात गरेका छैनौं, र यहाँको व्यापारमा कुनै शुल्क वा गैर-भन्सार व्यापार अवरोध छैन।”

अल्बानीजले भने, “नोर्फोक टापुमा २९% कर लगाइएको छ। म निश्चित छैन कि यो टापु अमेरिका जस्ता विशाल अर्थतन्त्रसँग व्यापार प्रतिस्पर्धा गर्ने खालको स्थान हो, तर यसले देखाउँछ कि पृथ्वीमा कुनै पनि ठाउँ यसबाट सुरक्षित छैन।”

हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्डबाट अमेरिकामा निर्यातको तथ्याङ्क अझै अस्पष्ट छ। यद्यपि, विश्व बैंकका तथ्याङ्क अनुसार, २०२२ मा अमेरिकाले १.४ मिलियन अमेरिकी डलर बराबरको उत्पादन हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्डबाट आयात गरेको थियो। यी उत्पादनहरू प्रायः “मेसिनरी र विद्युतीय” सामान थिए, तर ती सामानहरूको विशिष्टता अझै स्पष्ट छैन।

पाँच वर्ष पहिले, हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्डबाट प्रति वर्ष १५,००० डलर देखि ३२५,००० डलरसम्मको आयात गरिएको थियो।

मुम्बई आक्रमणका आरोपी तहब्बुर राणालाई अमेरिकाले सुपुर्दगी गरेपछि भारत ल्याइयो

0

काठमाडौं: २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याउन विशेष विमान दिल्ली आइपुगेको छ।

विमान दिल्लीको पालम प्राविधिक विमानस्थलमा अवतरण गरेको छ। यहाँबाट तहव्वुरलाई सिधै एनआईए मुख्यालयतर्फ लैजान सकिन्छ, जहाँ कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

जेल स्रोतका अनुसार, राणालाई दिल्लीको तिहाड जेलको उच्च सुरक्षा वार्डमा राखिनेछ, र कारागार प्रशासनले यसका लागि आवश्यक व्यवस्था मिलाएको छ। यद्यपि, उनलाई कुन वार्डमा राख्ने र कहिले राख्ने भन्ने अन्तिम निर्णय अदालतको आदेश पछि मात्र हुनेछ।

अमेरिकाबाट तहव्वुर राणालाई लिएर एनआईए र रअको संयुक्त टोली बुधबार प्रस्थान गरेको थियो। उनलाई पटियाला हाउस अदालतमा पेश गरिने अपेक्षा गरिएको छ, र उपस्थित गर्नुअघि उनका मेडिकल परीक्षण गरिनेछ।

मिडिया रिपोर्टका अनुसार, राणाको सुपुर्दगीको घटनामा दिल्ली प्रहरीको विशेष सेललाई उच्च सतर्कतामा राखिएको छ। यसका साथै, विमानस्थलमा स्वाट कमाण्डो र केन्द्रीय सशस्त्र प्रहरी बलका सुरक्षा कर्मचारी तैनाथ गरिएका छन्। स्थानीय प्रहरी पनि विमानस्थल बाहिर उपस्थित छन्।

केन्द्र सरकारले यस मुद्दामा अधिवक्ता नरेन्द्र मानलाई विशेष सरकारी वकिलको रूपमा नियुक्त गरेको छ। उनलाई यो जिम्मेवारी तीन वर्ष वा मुद्दाको सुनुवाइ पूरा नभएसम्म दिइएको छ।

राणाले भारत आउनबाट बच्न अमेरिकी सर्वोच्च अदालतमा निवेदन दिएका थिए, तर त्यसलाई खारेज गरिएको छ। आफ्नो निवेदनमा उनले पार्किन्सन रोगबाट पीडित भएको र भारत निर्वासित गरिएमा यातना दिइन सक्ने कुरा उठाएका थिए।

पाकिस्तानले तहव्वुर राणालाई क्यानेडियन नागरिक भएको भन्दै आफूलाई टाढा राखेको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले भने, “तहव्वुर राणाले विगत दुई दशकदेखि आफ्नो पाकिस्तानी कागजातहरू नवीकरण गरेका छैनन्। उनीसँग क्यानेडियन नागरिकता छ।”

पाकिस्तानले क्यानडामा बसोबास गरेका नागरिकलाई दोहोरो नागरिकता राख्न अनुमति दिन्छ। तहव्वुर राणालाई २००९ मा अमेरिकाको एफबीआईले पक्राउ गरेको थियो र उनले लश्कर-ए-तैयबालाई समर्थन गरेको आरोपमा दोषी ठहरिएका थिए। अहिलेसम्म उनलाई लस एन्जलसको हिरासत केन्द्रमा राखिएको थियो।

२००८ को २६ नोभेम्बरमा आतंकवादी संगठन लश्कर-ए-तैयबाका १० आतंककारीहरूले मुम्बईमा हमला गरेका थिए। चार दिनसम्म जारी रहेका ती आक्रमणमा १७५ जनाको मृत्यु भएको थियो र ३०० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

भारत सरकारका उच्च अधिकारीहरू—गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार गृह मन्त्रालयमा बैठक गरी राणालाई भारत ल्याउने प्रक्रियालाई अगाडि बढाएका थिए।