Sunday, June 28, 2026
Homeसामाचारमुख्यमन्त्री कँडेलद्वारा एक वर्षको कार्य प्रगति सार्वजनिक

मुख्यमन्त्री कँडेलद्वारा एक वर्षको कार्य प्रगति सार्वजनिक

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले यो विवरण प्रस्तुत गर्नुभएको हो।

प्रगति विवरणअनुसार दोस्रो पञ्चवर्षीय योजना, नौवटा कानुन, १३ कार्यविधि र दुई निर्देशिका निर्माण गरिएको छ। सुशासन प्रवर्द्धनका लागि जथाभावी बजेट वितरण, आफूखुसी रकमान्तर तथा उपभोक्ता समितिबाट हुने अनियमितता नियन्त्रण गरिएको उल्लेख गरिएको छ। साथै, उहाँले दसैँ जिल्लाको भ्रमण गर्नुभएको थियो।

भौतिक पूर्वाधारतर्फ पछिल्लो एक वर्षमा ९५ किलोमिटर कालोपत्र, २०५ किलोमिटर ग्राभेल सडक, २३ पक्की र ४२ झोलुङ्गे पुल, तथा आठ सार्वजनिक भवन निर्माण भएका छन्। जनता आवास कार्यक्रमअन्तर्गत संघमार्फत ६६१, प्रदेशमार्फत २३१ तथा ५६ विपन्नका घर निर्माण सम्पन्न गरिएको छ।

साउनमै मातहत निकायसँग नौबुँदे प्रतिबद्धता गरिएपछि ७० प्रतिशतभन्दा बढी अलपत्र आयोजना पुनः सञ्चालनमा आएको र फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च भइसकेको जानकारी उहाँले दिनुभयो। रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार तथा शे–फोक्सुण्डो सडक निर्माण सुरु गरिएको छ।

चैत मसान्तसम्म ३० प्रतिशत बजेट खर्च हुने र ९० प्रतिशत योजना कार्यान्वयनमा गएकाले अधिकांश आयोजना असार मसान्तभित्र सम्पन्न हुने विश्वास मुख्यमन्त्री कँडेलले व्यक्त गर्नुभयो। उहाँ २०८० चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका