काठमाडौं: सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने सुर्खेत गुर्भाकोट नगरपालिका(५ घर भएका २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्बिर साटासाट भएको र पछि फेक आइडी बनाई ब्ल्याकमेल गर्ने धम्की दिई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साईबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो।
वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साईबर ब्यूरोमा मुद्दा दर्ता भई फरारको सूचिमा रहेको तथा उनलाई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।


