भक्तपुर । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।
१३३औँ बीपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले कांग्रेसको नाम, रुख चिह्न र चारतारे झन्डा आफू नेतृत्वको समूहले नै पाउने दाबी गरे।
विशेष महाधिवेशनको माग र त्यसको प्रक्रियाप्रति आपत्ति जनाउँदै देउवाले पार्टी विधानमा विशेष महाधिवेशनको व्यवस्था भए पनि त्यसका लागि आवश्यक प्रतिनिधिको सनाखत तथा अन्य प्रक्रिया पूरा नगरिएको आरोप लगाए।
‘सुवर्ण शमशेर सभापति हुँदा बीपी कोइरालाकै सहमतिमा प्रतिनिधिहरूको सनाखत गराएर मात्र अधिवेशन बोलाइएको थियो। तर, अहिले खल्तीबाट नाम राखेर धमाधम अधिवेशन बोलाइयो,’ उनले भने।
विशेष महाधिवेशनविरुद्ध आफूहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको स्मरण गर्दै देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिनु आफूहरूको ‘आधा विजय’ भएको बताए।
न्यायपालिकाको इतिहास स्मरण गर्दै देउवाले सर्वोच्च अदालतले आफूलाई विगतमा पटक–पटक न्याय दिएको दाबी गरे। पञ्चायतकालदेखि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालसम्म अदालतले आफूलाई न्याय दिएको उनको भनाइ थियो।
अदालतमा विपक्षी समूहले विभिन्न प्रयास गरिरहे पनि अन्ततः सत्यको जित हुने विश्वास देउवाले व्यक्त गरे।
‘सर्वोच्चले जसरी निष्पक्ष रूपमा हामीलाई पुनरावलोकनको निस्सा दिएको छ, त्यसरी नै रुख चिह्न र चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ उनले भने।


