काठमाडौं । चीनमा एक हजुरआमाले आफ्नी नातिनीलाई १५ वर्षसम्म हुर्काएको भन्दै आफ्नै छोराविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन्। उनले नातिनीको पालनपोषणमा भएको खर्चबापत छोरासँग ३ लाख ६० हजार युआनभन्दा बढी अर्थात् करिब ८० लाख रुपैयाँ क्षतिपूर्ति मागेकी हुन्।
रिपोर्टअनुसार पूर्वी चीनसँग सम्बन्धित यो मुद्दा शङ्घाईको अदालतमा पुगेको हो। ६० वर्षभन्दा बढी उमेरकी शू नामकी महिलाले नातिनीको खानपान, बसोबास, शिक्षा र उपचारलगायतका खर्च लामो समयदेखि आफूले व्यहोर्दै आएको दाबी गरेकी छन्।
सन् २०१४ मा शूका छोरा लियाङको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद हुँदा उनकी छोरी चार वर्षकी मात्र थिइन्। सम्बन्धविच्छेदपछि बालिकाको हेरचाहको ठूलो जिम्मेवारी शूमाथि आएको थियो।
पछि लियाङले दोस्रो विवाह गरेपछि उनी नयाँ पत्नीसँग छुट्टै बस्न थाले भने उनकी छोरी भने हजुरआमा शूसँगै बसिरहिन्। यससँगै बालिकाको दैनिक हेरचाह र पालनपोषणको जिम्मेवारी लामो समयसम्म शूमाथि नै रह्यो।
शूका अनुसार उनले बालिकाको दैनिक आवश्यकताका साथै शिक्षा, स्वास्थ्य उपचार र अन्य खर्चसमेत व्यहोर्दै आएकी थिइन्। लामो समयसम्म आर्थिक भार बढ्दै गएपछि अब आफूले एक्लै यो जिम्मेवारी धान्न नसक्ने भन्दै उनले छोराबाट खर्चको भरपाई मागेकी हुन्।
शूले छोरा लियाङले बुबाको हैसियतले छोरीको पालनपोषणको जिम्मेवारी पूरा नगरेको आरोप लगाएकी छन्।
यता, लियाङले भने आमाको आरोप पूर्ण रूपमा स्वीकार गरेका छैनन्। उनले आफ्नो आर्थिक क्षमताअनुसार छोरीको जिम्मेवारी निभाउँदै आएको दाबी गरेका छन्। रिपोर्टअनुसार त्यतिबेला उनको मासिक तलब करिब ३ हजार युआन मात्र थियो।
यस घटनाले चीनमा हजुरबुबा–हजुरआमाले नाति–नातिनाको हेरचाह गरेबापत आर्थिक क्षतिपूर्ति पाउनुपर्ने वा नपर्ने विषयमा बहस सिर्जना गरेको छ।
चीनका धेरै परिवारमा बाबुआमा कामकाजी हुँदा वा अन्य पारिवारिक कारणले हजुरबुबा–हजुरआमाले बालबालिकाको हेरचाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छन्। तर, लामो समयसम्म बालबालिकाको पालनपोषणको जिम्मेवारी ज्येष्ठ नागरिकमाथि नै छोडिँदा त्यसको आर्थिक तथा मानसिक भारबारे प्रश्न उठ्ने गरेको छ।
विज्ञहरूका अनुसार यस्ता विवादको उद्देश्य पारिवारिक सम्बन्धलाई व्यापारिक बनाउनु नभई बालबालिकाको पालनपोषणको प्राथमिक जिम्मेवारी कसको हो र ज्येष्ठ नागरिकले लामो समयसम्म त्यो जिम्मेवारी सम्हाल्दा उनीहरूको अधिकार तथा खर्चको व्यवस्थापन कसरी गर्ने भन्ने विषय स्पष्ट पार्नु हो।
यस घटनाले बदलिँदो पारिवारिक सम्बन्धमा ज्येष्ठ नागरिकको भूमिकामाथि पनि प्रश्न उठाएको छ। नाति–नातिनाको हेरचाहलाई प्रेम र पारिवारिक सहयोगका रूपमा लिन सकिए पनि त्यसलाई आमाबाबुको जिम्मेवारीको स्थायी विकल्प बनाउनु कति उचित हुन्छ भन्ने बहस चीनमा चर्किएको छ।


