Wednesday, September 9, 2026
Homeअन्तराष्ट्रियअमेरिका–क्यानडा व्यापार युद्ध चर्कियो, एकअर्काका सामानमा उच्च भन्सार

अमेरिका–क्यानडा व्यापार युद्ध चर्कियो, एकअर्काका सामानमा उच्च भन्सार

काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव पुनः चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकासँग भेदभाव गरेको आरोप लगाउँदै क्यानेडियन सामानमा ५० प्रतिशतसम्म भन्सार महसुल लगाउने घोषणा गरेपछि क्यानडाले पनि जवाफी कदम चालेको छ।

प्रतिवेदनअनुसार क्यानडाले ७०० भन्दा बढी अमेरिकी उत्पादनमा ५० प्रतिशतसम्मको ट्यारिफ लगाएको छ। उक्त ट्यारिफ सेप्टेम्बर ८ देखि लागू भएको जनाइएको छ।

सिएनबिसीका अनुसार क्यानडाले अमेरिकी वस्तुको ठूलो दायरामा १५ देखि ५० प्रतिशतसम्मको भन्सार महसुल लगाएको हो। दुई देशबीच व्यापारिक वार्ता असफल भएपछि तनाव थप बढेको बताइएको छ।

क्यानडाले करिब २७.६ अर्ब क्यानेडियन डलर मूल्यका अमेरिकी सामानमा नयाँ महसुल लगाएको छ। सूचीमा दुग्धजन्य पदार्थ, कृषि उपकरण, कागज, घरेलु उपकरण तथा इलेक्ट्रोनिक्सलगायत वस्तु छन्।

त्यस्तै, अमेरिकी स्टिल, एल्युमिनियम र फलामजन्य उत्पादनमा क्यानडाले लगाउँदै आएको महसुल दोब्बर गरी ५० प्रतिशत पुर्‍याएको छ। फर्निचर, मोटरसाइकल, लत्ताकपडा तथा केही कस्मेटिक सामग्रीमा पनि उच्च दरको ट्यारिफ लगाइएको छ।

क्यानडाले आफ्नो कदमलाई अमेरिकाले अगस्ट २२ मा करिब २० अर्ब डलर मूल्यका क्यानेडियन मदिरा, हक्की स्टिकलगायत सामानमा ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरेपछि त्यसको जवाफका रूपमा लिएको जनाएको छ।

क्यानडाको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नयाँ ट्यारिफले देशका श्रमिक, उत्पादक र उद्योगलाई संरक्षण गर्ने उद्देश्य राखिएको उल्लेख छ।

यता, क्यानडाको जवाफी कदमपछि राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १५ देखि अमेरिकाले क्यानडाबाट आयात हुने थप उत्पादनमा मौजुदा ५० प्रतिशत ट्यारिफ विस्तार गर्ने बताएका छन्। साथै, सेप्टेम्बर २९ देखि केही क्यानेडियन दुग्धजन्य उत्पादन, मोटरसाइकल र मदिराको आयातमा प्रतिबन्ध लगाउने घोषणासमेत गरेका छन्।

अमेरिका र क्यानडाबीच ठूलो परिमाणमा व्यापार हुँदै आएको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका तथ्यांकअनुसार सन् २०२५ मा अमेरिकाले क्यानडामा ३३३.६ अर्ब डलर मूल्यका सामान निर्यात गरेको थियो भने क्यानडाबाट ३८१.९ अर्ब डलर बराबरका सामान आयात गरेको थियो।

दुवै देशबीच ऊर्जा, सवारीसाधन, भारी मेसिनरी, विमान, औषधि, बहुमूल्य धातु तथा पत्थर, फर्निचर, लत्ताकपडा, खानेकुरा र पेय पदार्थलगायत विभिन्न क्षेत्रमा ठूलो व्यापार हुँदै आएको छ।

अमेरिका र क्यानडाबीचको पछिल्लो ट्यारिफ विवादले दुई देशको व्यापारमा थप असर पार्नुका साथै विश्वव्यापी रूपमा पुनः व्यापार युद्धको जोखिम बढाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका