कास्की (पोखरा): सहकारीको रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान आज सकिएको छ । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो ।
‘अहिलेका लागि बयान सकिएको छ । यही बयानका आधारमा अदालतमा पेस गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने, ‘आवश्यक पर्यो भने फेरि पनि थप बयान लिन सकिन्छ ।’ जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो ।
बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएकोमा बयान पूरा भएको थापाले बताए । उनलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर जहाज मार्फत पोखरा ल्याइएको थियो ।


