पछिल्लो समय धेरै कलाकारको फोकस म्युजिक भिडियो हुन थालेको छ । थोरै समय दिए पुग्ने र आम्दानी पनि राम्रो हुने भएकोले अधिकांश कलाकार म्युजिक भिडियोमा देखिएका छन् ।
तर, अभिनेता अनमोल केसीको भने हालसम्म म्युजिक भिडियो आएका छैन । कारण अनमोलले आफ्नो फोकस म्युजिक भिडियो भन्दापनि फिल्म भएको बताउँदै आएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि अनमोलले सोही कुरा दोहोर्याए ।
‘फिल्ममा ४–५ वटा गीत नै हुन्छ । त्यसैले अहिले म्युजिक भिडियो खेल्नु आवश्यक ठान्दिन म,’ अनमोलले भने ‘म म्युजिक भिडियोप्रति भने सकारात्मक छु ।’ आफ्नो फोकस अहिले भिडियो भन्दा फिल्म भएको उनले सुनाए ।
काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा ‘ईम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ ले अनमोलाई आफ्नो ब्राण्ड एम्बासडर समेत नियुक्त गरेको छ । आफू यो ब्राण्डसँग जोडिन पाउँदा खुशी लागेको अनमोलले बताए । ‘ईम्पायरले अष्ट्रेलियामा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आएको छ । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले धेरै कुरा सिक्नुहुनेछ र सिकेको कुरालाई नेपाल फर्किएर लागू गर्नुहुनेछ ’ अनमोलले थपे ।
ईम्पायरका प्रमुख स्वतन्त्रप्रताप शाहले अनमोलको देश विदेशको क्रेज देखेर ब्राण्ड एम्बासडर नियुक्त गरेको बताए ।


