काठमाडौं — नेपालकै होचो भू–स्तर झापा कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको ऐतिहासिक, साहसिक र प्रेरणादायी यात्रालाई समेटिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो।
सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा निर्माण भएको यो वृत्तचित्रको संयुक्त निर्देशन निरञ्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन्। वृत्तचित्रमा सगरमाथा आरोहणका क्रममा यात्रुले भोग्ने संघर्ष, दृढ संकल्प र चुनौतीपूर्ण यात्रालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
यात्राको सुरुवात झापाको कचनकवलबाट हुँदै इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुका विभिन्न स्थल पार गर्दै सगरमाथा आधार शिविर र त्यसपछि क्याम्प १ देखि क्याम्प ४ हुँदै हिलारी स्टेप पार गरेर शिखरसम्मको ५१० किलोमिटर लामो पदयात्रा समेटिएको छ। यात्रामा सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीको रूपमा नेतृत्व गरेका छन्। उनीसँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, चर्चित आरोही कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको सहभागिता रहेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै प्रेम बानियाँले भने, “यो केवल वृत्तचित्र होइन, देश चिनाउने हाम्रो साझा अठोट हो। समुद्री सतहभन्दा ५८ मिटर तल रहेको कचनकवललाई प्रतीकात्मक रूपमा ‘जिरो’ मानेर सगरमाथासम्मको यात्रा प्रस्तुत गरेका छौं।” उनका अनुसार यो यात्रा मानव जीवनको विकास यात्राको प्रतीक पनि हो— ‘जिरो’ बाट सुरु भएर शिखरसम्म पुग्ने।
निर्देशक निरञ्जन पाण्डेले विदेशमा रहेका नेपालीहरूबीच देशको लागि केही गरौँ भन्ने भावना जागृत गराउँदै यो वृत्तचित्रको अवधारणा अघि बढाइएको जानकारी दिए। “यो यात्रा नेपालको पर्यटन, जलवायु अध्ययन र भूगर्भ पर्यटनको दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण हुनेछ,” उनले भने।
वृत्तचित्रका कार्यकारी निर्माता श्री वाग्ले हुन् भने सहायक छायाँकार उमंग शाही रहेका छन्। प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। सगरमाथाको शिखर दृश्य सुजन गुरुङ र दोजी शेर्पाले खिचेका हुन्, जसका लागि उनीहरू शिखरसम्म पुगेका थिए।
निर्माण टोलीले यो वृत्तचित्रलाई अमेरिका, युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न देशहरूमा प्रदर्शन गर्दै नेपालका हलहरूमा पनि सार्वजनिक गर्ने योजना बनाएको छ। ‘जिरो टु ८८४८’ लाई नेपाल चिनाउने नयाँ झ्यालका रूपमा प्रस्तुत गरिनेछ।


