काठमाडौं: अभिनेता अनमोल केसी, अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको विशेष उपस्थितिमा नेपाली चलचित्र ऊनको स्वीटर को विशेष प्रदर्शन बुधबार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ। शोमा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति देखिएको थियो।
गायक राजेशपायल राईलगायत उपस्थित सेलिब्रेटीहरूले चलचित्रको विषयवस्तु, अभिनय, र प्रस्तुतिको खुलेर प्रशंसा गरे। गायक राईले ऊनको स्वीटर लाई यस वर्षको उत्कृष्ट चलचित्रको रूपमा मूल्याङ्कन गर्दै भने, “यो चलचित्र नेपाली चलचित्र उद्योगका लागि मिठो उपलब्धि हो। सामाजिक परिवेशभित्रको प्रेमकथालाई अत्यन्तै सशक्त ढंगले प्रस्तुत गरिएको छ।”
क्याप्टेन विजय लामाले चलचित्रले आफूलाई भावुक बनाएको उल्लेख गर्दै भने, “गाउँघरको परिवेश, नेपाली संस्कृति र जीवनशैली सिक्न सकिने सामग्रीले भरिपूर्ण यो चलचित्र सबै दर्शकका लागि अनुभव गर्नैपर्ने छ।”
अभिनेता नाजिर हुसेनले निर्देशकद्वारा सिर्जना गरिएको संसार र त्यसमा बसोबास गर्ने पात्रहरूको यथार्थपरक चित्रणलाई प्रशंसा गर्दै भने, “ऊनको स्वीटर सबै परिवारले सँगै बसेर हेर्न सकिने सुन्दर चलचित्र हो।”
चलचित्रका प्रमुख कलाकार विपिन कार्कीले आफूले निभाएको पात्र वास्तविक जीवनसँग निकै मिल्दोजुल्दो रहेको बताए। “पूर्वमा छायांकन गरिएको यस चलचित्रमा काम गर्दा निकै रमाइलो अनुभव भयो,” उनले भने, “पूर्वकै मान्छे भएकाले यो चलचित्रसँग भावनात्मक रूपमा पनि जोडिएको छु।”
ऊनको स्वीटर को कथा सामाजिक परिवेशभित्रको माया, प्रेम र संस्कृतिलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ। उपस्थित कलाकार तथा दर्शकहरूले यो चलचित्रलाई यस वर्षको उत्कृष्ट नेपाली चलचित्रको रूपमा उल्लेख गरेका छन्।
चलचित्रको निर्देशन र प्रस्तुतिप्रति गरिएको प्रशंसाले नेपाली सिनेमाको गुणस्तर उकास्ने दिशामा यो फिल्मले महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ।


