Saturday, August 15, 2026
Homeमनोरन्जन‘ओल्ड इज गोल्ड’ले देखायो पुराना नेपाली चलचित्रप्रतिको दर्शकको मोह

‘ओल्ड इज गोल्ड’ले देखायो पुराना नेपाली चलचित्रप्रतिको दर्शकको मोह

काठमाडौँ, ३० साउन । अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ प्लेटफर्मको बढ्दो प्रभावका बीच दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य भीड लागेपछि पुराना चलचित्रप्रतिको चासो अझै जीवित रहेको प्रमाणित भएको छ।

नेपाल सरकार र चलचित्र विकास बोर्डले आयोजना गरेको सातदिने ‘ओल्ड इज गोल्ड’ चलचित्र प्रदर्शन शृंखलामा अधिकांश शो हाउसफुल भए। कतिपय शोमा दर्शकले हलको भुइँ र सिँढीमा बसेरसमेत चलचित्र हेरेका थिए।

बुधबार ‘जीवनरेखा’ र ‘बदलिँदो आकाश’को प्रदर्शनसँगै सम्पन्न भएको शृंखलाले नेपाली चलचित्रको इतिहासलाई अभिलेख र पुराना रिलमा मात्र सीमित नराखी नयाँ पुस्तासहित आम दर्शकसम्म पुर्‍याउन सकिने देखाएको छ।

दशकौँ पुराना चलचित्र ठूलो पर्दामा

पुराना नेपाली चलचित्रलाई डिजिटाइज गर्ने काम केही वर्षअघि नै सुरु भए पनि ती चलचित्र व्यवस्थित रूपमा दर्शकसम्म पुग्न सकेका थिएनन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार डिजिटाइज गरिएका चलचित्रको उपयोग र प्रदर्शनका लागि उचित प्रक्रिया नहुँदा विद्यार्थी, अनुसन्धानकर्ता तथा आम दर्शकको पहुँच सीमित थियो।

उनका अनुसार पछिल्लो समय केन्द्रीय चलचित्र जाँच पास समितिबाट पुराना चलचित्रको औपचारिक जाँचपास गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेपछि ती चलचित्रलाई महोत्सवका रूपमा प्रदर्शन गर्न सम्भव भएको हो।

यसक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’ सहित ‘सिन्दुर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ जस्ता ऐतिहासिक चलचित्र पुनः ठूलो पर्दामा प्रदर्शन गरिएका थिए।

हाउसफुल शोले बढायो उत्साह

‘ओल्ड इज गोल्ड’को सबैभन्दा उल्लेखनीय पक्ष दर्शकको उत्साहजनक सहभागिता रह्यो। पहिलो दिनको भीडलाई सामान्य उत्सुकताका रूपमा हेरिए पनि दोस्रो दिन प्रदर्शन गरिएका ‘सिन्दुर’ र ‘परिवर्तन’का सबै शो हाउसफुल भएपछि आयोजक उत्साहित भएका थिए।

त्यसपछिका दिनमा पनि दर्शकको उपस्थिति निरन्तर बढेको थियो। कतिपय दर्शकले बाल्यकालमा हेरेका चलचित्र पुनः हेर्न तथा कतिपयले आफूले केवल सुनेका पुराना चलचित्र ठूलो पर्दामा हेर्न कार्यालयबाट बिदा लिएर आएको बोर्डका अध्यक्ष डीसीले बताए।

नयाँ र पुरानो पुस्ताको संगम

प्रदर्शनमा चलचित्रका विद्यार्थी, अनुसन्धानकर्ता, पुराना पुस्ताका दर्शक तथा अग्रज चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता थियो। विद्यार्थी र अनुसन्धानकर्ताले नेपाली चलचित्रको प्राविधिक तथा कथागत विकासक्रम बुझ्ने अवसर पाए भने पुराना पुस्ताले आफ्ना स्मृतिसँग जोडिएका चलचित्र पुनः हेर्न पाए।

यसले नेपाली चलचित्रको इतिहासलाई नयाँ पुस्तासँग जोड्ने महत्वपूर्ण अवसरसमेत सिर्जना गरेको आयोजकको भनाइ छ।

पुस्तान्तरणको प्रतीक बन्यो समापन

‘ओल्ड इज गोल्ड’ नेपाली चलचित्रको इतिहास, वर्तमान र भविष्यलाई जोड्ने सांस्कृतिक सेतुका रूपमा समेत देखिएको छ। अग्रज कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको सहभागिताबाट सुरु भएको कार्यक्रमको समापन पनि पुस्तान्तरणको सन्देश दिने गरी गरिएको थियो।

समापनका क्रममा वरिष्ठ कलाकारहरूले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर सम्मान तथा आशीर्वाद दिएका थिए। प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, शिव श्रेष्ठले अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले डा. कपिल रिजाललाई र सन्तोष पन्तले वितरक करण श्रेष्ठलाई खादा लगाइदिएका थिए।

पुराना चलचित्रको प्रदर्शनलाई निरन्तरता दिने तयारी

शृंखलाको सफलतापछि चलचित्र विकास बोर्डले पुराना नेपाली चलचित्रको नियमित प्रदर्शन र व्यवस्थापनका लागि आवश्यक कार्यविधि निर्माण गर्ने तयारी गरेको छ।

अध्यक्ष डीसीका अनुसार हङकङबाट च्यारिटी शोका लागि पुराना चलचित्र प्रदर्शनको माग आएको छ भने विभिन्न युट्युब च्यानलले समेत ती चलचित्र उपलब्ध गराउन आग्रह गरेका छन्। तर चलचित्र सरकारी सम्पत्ति भएकाले वितरण तथा प्रदर्शनका लागि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ।

बोर्डले पुराना चलचित्रलाई केवल रिल वा हार्डड्राइभमा सुरक्षित राख्नु मात्र संरक्षण नभई दर्शकको पहुँचमा पुर्‍याउनु पनि संरक्षणको महत्वपूर्ण पक्ष भएको निष्कर्ष निकालेको छ।

यसैबीच, उद्घाटनका क्रममा अध्यक्ष डीसीले प्रत्येक महिना पुराना नेपाली चलचित्रको विशेष प्रदर्शन आयोजना गर्ने र त्यसबाट प्राप्त रकम चलचित्र कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेका थिए। ‘ओल्ड इज गोल्ड’मा देखिएको दर्शकको उत्साहले उक्त योजनालाई निरन्तरता दिन थप हौसला दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका