काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ। व्यापार वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि कडा टिप्पणी गर्दै नयाँ भन्सार शुल्कको बचाउ गरेका छन्।
ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्यानडाले अमेरिकाबाट राज्यसरहको सुविधा लिन खोजेको आरोप लगाएका छन्। उनले क्यानडाले लामो समयदेखि अमेरिकी कृषकबाट भारी शुल्क असुल्दै आएको दाबी गर्दै अब यस्तो अवस्था स्वीकार्य नहुने बताएका छन्।
व्यापार वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म नयाँ भन्सार शुल्क थप गरेको जनाइएको छ।
ट्रम्पको पछिल्लो टिप्पणी क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी नयाँ ट्यारिफको आलोचना गरेपछि आएको हो। कार्नीले अमेरिकी कदमलाई ‘गलत मूल्याङ्कन’ भन्दै त्यसको उद्देश्य क्यानडालाई आर्थिक रूपमा कमजोर बनाउनु र विभाजित गर्नु रहेको आरोप लगाएका छन्।
क्यानडाले पनि अमेरिकी ट्यारिफको जवाफ समान रूपमा दिने तयारी गरेको छ। प्रधानमन्त्री कार्नीले आगामी सेप्टेम्बर ८ देखि अमेरिकाबाट आयात हुने विभिन्न वस्तुमा ‘डलर–फर–डलर’ आधारमा प्रतिशोधात्मक ट्यारिफ लगाउने घोषणा गरेका छन्।
क्यानडाको प्रतिकारात्मक ट्यारिफअन्तर्गत स्टिल, डेरी उत्पादन, घरायसी उपकरण तथा इलेक्ट्रोनिक्सलगायत वस्तु समेटिने बताइएको छ।
कार्नीले अमेरिका–क्यानडा सम्बन्ध व्यापार युद्धतर्फ अघि बढेको संकेत गर्दै अमेरिकी पक्षले धेरै माग राखेको तर बदलामा निकै कम प्रस्ताव गरेको आरोप लगाए।
‘जब तपाईँमाथि आक्रमण हुन्छ, तपाईँ युद्धमा हुनुहुन्छ। हामीमाथि आक्रमण भएको छ,’ कार्नीले भने।
विश्वका दुई ठूला व्यापारिक साझेदारबीच ट्यारिफसम्बन्धी विवाद थप चर्किँदा यसको प्रभाव दुवै देशको अर्थतन्त्रसँगै उपभोक्ता मूल्य, उद्योग र उत्तर अमेरिकी आपूर्ति शृंखलामा पर्न सक्ने चिन्ता बढेको छ।


