हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिन आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।
सोमबार प्रदेशसभामा विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई निर्देशन दिएको हो।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
कांग्रेस संसदीय दलले प्रदेशसभाको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नबस्न तथा मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ।
यससँगै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्ने विषयमा प्रदेशसभामा राजनीतिक समीकरण थप निर्णायक बनेको छ।


