काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले तथाकथित विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई अपिल गरेका छन्।
संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले विशेष महाधिवेशन पक्षले आयोजना गर्न लागेको अधिवेशन तथा महाधिवेशनलाई अवैधानिक र विभाजनकारी गतिविधिको संज्ञा दिएका छन्। उनले त्यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउनसमेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको बताएका छन्।
उक्त निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेकाले मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेको उनको भनाइ छ।
यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कोइरालाले बताएका छन्।
विशेष महाधिवेशनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको उल्लेख गर्दै उनले थप अधिवेशन तथा महाधिवेशन आयोजना गरिए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने चेतावनी दिएका छन्।
पार्टीभित्रको विभाजनले आगामी स्थानीय तह तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत कांग्रेसलाई नकारात्मक असर पार्न सक्ने उनको दाबी छ। त्यसैले तत्काल विभाजनकारी गतिविधि रोक्न सबै पक्षलाई आग्रह गर्दै कोइरालाले सुदृढ, सबल र गतिशील कांग्रेस निर्माणका लागि पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।


