Sunday, August 23, 2026
Homeसामाचारपुराना अपराधका फाइल बन्द हुँदैनन्, दोषी जुनसुकै बेला पक्राउ पर्छन् : प्रहरी...

पुराना अपराधका फाइल बन्द हुँदैनन्, दोषी जुनसुकै बेला पक्राउ पर्छन् : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनामा संलग्न व्यक्ति लामो समयपछि पनि कानुनी कारबाहीको दायरामा आउन सक्ने बताएका छन्। प्रहरी सङ्गठनले अपराधसम्बन्धी घटनालाई आफ्नो ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित राख्ने भएकाले दोषीलाई जुनसुकै बेला पक्राउ गर्न सकिने उनको भनाइ छ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा महानिरीक्षक कार्कीले दशकौँ पुराना घटनामा समेत अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउँदै आएको बताए।

‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्। तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सँदैन,’ उनले भने।

पुराना घटनामा अपेक्षाअनुसार सबै अवस्थामा सफलता प्राप्त हुन नसकेको स्वीकार गर्दै उनले निरन्तर अनुसन्धान र घटनाको पुनःअध्ययनबाट दोषी पहिचान गर्ने प्रयास भइरहेको बताए।

उनका अनुसार पुराना चर्चित तथा जघन्य अपराधको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ। केही घटनामा त्यस्ता टोलीबाट महत्वपूर्ण सफलता प्राप्त भएको उनले जानकारी दिए।

पुराना र नयाँ मुद्दाको अनुसन्धान सँगसँगै

महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान भइरहेको बताए।

‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ उनले भने।

बदलिँदो समाज, प्रविधि र अपराधको स्वरूपसँगै सुरक्षा चुनौतीसमेत परिवर्तन भइरहेको उल्लेख गर्दै कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्रै आधुनिक अपराध नियन्त्रण गर्न नसकिने बताए।

प्रहरी कर्मचारीको कार्यसम्पादन सुधार गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको जानकारी दिँदै उनले कामका आधारमा मूल्याङ्कन हुने प्रणालीले कर्मचारीलाई आफ्नो कार्यक्षमता सुधार गर्ने अवसर दिने बताए।

प्रहरी सेवा प्रविधिमैत्री बनाउँदै

महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको बताए। नागरिकले प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सकिने प्रणाली विकास गरिएको उनको भनाइ छ।

‘नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिनेछ,’ उनले भने।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएकाले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति उत्पादन र परिचालनमा समेत ध्यान दिनुपर्ने उनले बताए।

अन्तर्राष्ट्रिय प्रहरीसँग समन्वय

अपराधको स्वरूप अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिँदै गएकाले विभिन्न देशका प्रहरी सङ्गठन तथा इन्टरपोलमार्फत विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय भइरहेको महानिरीक्षक कार्कीले जानकारी दिए।

‘नेपाल प्रहरीले आधुनिक पुलिसिङका मापदण्ड अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ,’ उनले भने।

प्रविधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरी थप सक्षम बन्दै जाने विश्वास उनले व्यक्त गरे।

महानिरीक्षक कार्कीले नेपाल प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर राज्यको प्रतिनिधित्व गर्ने संस्था भएकाले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि आमनागरिकको सहयोग आवश्यक रहेको बताए।

उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना दिएर अनुसन्धानमा सहयोग गर्न नागरिकलाई आग्रहसमेत गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका