काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान स्वास्थ्य परीक्षणपछि शुक्रबार बिहान पुनः अदियाला जेल फर्किएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनलाई बिहीबार अबेर राति इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको थियो।
अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरेपछि उनलाई ‘मेडिकली फिट’ घोषित गरिएको र बिहान करिब ५ बजे पुनः जेल पठाइएको पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले पुष्टि गरेका छन्।
मन्त्री तरारले सामाजिक सञ्जालमार्फत अगस्ट २० र २१ को राति कडा सुरक्षा व्यवस्थाबीच इमरानलाई अस्पताल लगिएको जानकारी दिएका छन्। उनको स्वास्थ्य परीक्षणमा आँखा रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियनसहितको टोली संलग्न थियो। परीक्षणका क्रममा इमरानकी बहिनी उज्मा खान पनि अस्पतालमा उपस्थित थिइन्।
पाकिस्तानको सर्वोच्च अदालतले गत अगस्ट १८ मा इमरान खानलाई शिफा इन्टरनेसनल अस्पताल लैजान आदेश दिएको थियो। अदालतमा पेस गरिएको मेडिकल रिपोर्टमा उनी ‘लेभल थ्री प्लस’ एन्जाइटीबाट पीडित रहेको उल्लेख थियो। अदालतले उनलाई दुई दिनभित्र अस्पताल भर्ना गर्न र आगामी सुनुवाइ अर्थात् सेप्टेम्बर १६ सम्म अस्पतालमै राख्न आदेश दिएको थियो।
इमरान खानका निकट सहयोगी जुल्फी बुखारीले पनि उनलाई अस्पताल लगिएको पुष्टि गरेका थिए। पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले लामो समयदेखि उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जेलमा पर्याप्त स्वास्थ्य सुविधा उपलब्ध नभएको आरोप लगाउँदै आएको छ।
इमरानको आँखासम्बन्धी समस्या पनि लामो समयदेखि चर्चामा छ। उनी दाहिने आँखामा ‘सेन्ट्रल रेटिनल भेन अक्लुजन’ नामक समस्याबाट पीडित छन्। उपचारका लागि उनलाई पछिल्ला केही महिनामा पटक–पटक इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज लगिएको थियो।
सन् २०२३ को अगस्टदेखि अदियाला जेलमा रहेका इमरान विभिन्न मुद्दामा थुनामा छन्। उनको पार्टी र परिवारले उनलाई उचित स्वास्थ्य उपचार, परिवारसँग भेटघाट तथा वकिलसँग परामर्शको सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन्।
यसैबीच, सरकारले सर्वोच्च अदालतको अस्पताल सार्ने आदेशमाथि पुनर्विचार गर्न माग गरेको थियो। तर, अदालतको रजिस्ट्रार कार्यालयले कागजात अपूर्ण रहेको भन्दै उक्त निवेदन फिर्ता गरिदिएको थियो। अदालतको आदेश पालना नभए सरकारविरुद्ध अवहेलना मुद्दा दायर गर्ने चेतावनी पीटीआईले दिएको थियो।


