काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने दाबी गरेका छन्। दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले होर्मुजमाथि अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबीसमेत गरेका हुन्।
सम्बोधनका क्रममा ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न चाहिरहेको दाबी गर्दै तेहरानलाई परमाणु हतियार विकास गर्न कुनै पनि हालतमा नदिने बताएका छन्।
‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ। यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नुपर्नेछ,’ ट्रम्पले भने।
उनले होर्मुज क्षेत्रमा अमेरिकाले पूर्ण नियन्त्रण कायम गरेको दाबी गर्दै भने, ‘म अहिले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्छु।’
यसअघि संयुक्त आधार एन्ड्र्युजमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी नाकाबन्दीका कारण होर्मुज क्षेत्रमा अमेरिकाको नियन्त्रण रहेको दाबी गरेका थिए। उनले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विचारप्रति समर्थनसमेत जनाएका थिए।
इरानद्वारा ट्रम्पको दाबी अस्वीकार
ट्रम्पको दाबीलाई इरानले भने कडा रूपमा अस्वीकार गरेको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको भनाइलाई ‘भ्रम’ को संज्ञा दिँदै परिस्थितिले वा इरान आफैँले त्यसलाई सच्याउने चेतावनी दिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पनि ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन्। उनले अमेरिकाले होर्मुज खोल्न नसक्ने अवस्था र उक्त जलमार्गको स्वामित्व दाबी गर्ने कुराबीच ‘७ हजार माइलभन्दा ठूलो दूरी’ रहेको टिप्पणी गरेका छन्।
तेल आपूर्तिको प्रमुख मार्ग होर्मुज
विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुजलाई लिएर पछिल्ला दिनमा अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ। खाडी क्षेत्रलाई विश्व बजारसँग जोड्ने प्रमुख समुद्री मार्ग भएकाले होर्मुजमा हुने कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
ट्रम्पले हालै इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर अभियान’ सञ्चालन गरेको दाबी गर्दै तेहरानलाई आर्थिक वा सरकारी सहयोग गर्ने मुलुकहरूले समेत कडा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
इरानको सर्त : प्रतिबन्ध हटाएपछि मात्र होर्मुज पूर्ण रूपमा खुल्ने
यता इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले १४ बुँदे समझदारीअनुसार नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने तथा तेल प्रतिबन्ध खुकुलो बनाउने प्रतिबद्धता पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा नखोलिने बताएका छन्।
होर्मुजलाई लिएर अमेरिका र इरानबीच बढ्दो विवादले मध्यपूर्वको भूराजनीतिक तनाव थप चर्किन सक्ने चिन्ता बढाएको छ। जलमार्गको सुरक्षासँगै विश्व ऊर्जा आपूर्तिमा यसको सम्भावित प्रभावलाई लिएर अन्तर्राष्ट्रिय समुदायको समेत चासो बढेको छ।


