काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले महानगर क्षेत्रभित्र सञ्चालित ९२ वटा संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
शिक्षा विभागले सम्बन्धित विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण तथा स्पष्टीकरण पेस गर्न सूचना जारी गरेको हो। प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर सञ्चालनमा रहेका भए पनि हाल खारेज गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई लक्षित गरी सूचना जारी गरिएको महानगरले जनाएको छ।
शिक्षा विभागका प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति खारेज गर्नुपर्ने अवस्था देखिएपछि प्रक्रिया अघि बढाइएको हो। तोकिएको ३५ दिनभित्र चित्तबुझ्दो जवाफ तथा आवश्यक कागजात पेस नगरे सम्बन्धित विद्यालयको अनुमति वा स्वीकृति खारेज गर्ने प्रक्रिया अघि बढाइने उनले बताए।
महानगरपालिकाले यसअघि पनि दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा कागजमा मात्र सीमित रहेका तथा वास्तविक रूपमा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको थियो।
महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालनसँगै कक्षा तथा विषय थप, विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनलगायतका विषयमा समेत प्रचलित कानुन र निर्धारित मापदण्डअनुसार अनुगमन तथा नियमन गर्दै आएको छ।
महानगरको पछिल्लो कदमले लामो समयदेखि कागजमा मात्र सीमित रहेका वा कानुनी मापदण्ड पूरा नगरेका निजी विद्यालयको अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।


