Saturday, August 22, 2026
Homeअर्थ र ब्यापारहेटौँडा कपडा उद्योगमा पुनः उत्पादन सुरु, ४८८ वटै मेसिन सञ्चालन गर्ने सरकारको...

हेटौँडा कपडा उद्योगमा पुनः उत्पादन सुरु, ४८८ वटै मेसिन सञ्चालन गर्ने सरकारको लक्ष्य

हेटौँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको छ। उद्योगमा रहेका ४८८ वटा कपडा बुन्ने तान मेसिनमध्ये मर्मतपछि १० वटा मेसिन सञ्चालनमा ल्याएर परीक्षण उत्पादन भइरहेको हो। थप १० वटा मेसिन पनि उत्पादनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।

हाल सञ्चालनमा रहेका १० वटा मेसिनमध्ये तीन वटालाई स्वचालित प्रणालीमा रूपान्तरण गरिएको छ। बाँकी मेसिनलाई पनि आधुनिक तथा स्वचालित प्रणालीमा सञ्चालन गर्ने गरी मर्मत तथा स्तरोन्नतिको काम भइरहेको नेपाली सेनाको उत्पादन निर्देशनालयले जनाएको छ।

शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको स्थलगत निरीक्षण गर्दै परीक्षण उत्पादन, मेसिन मर्मत तथा आधुनिकीकरणको अवस्थाबारे जानकारी लिएकी छन्। निरीक्षणपछि उनले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी सरकार अघि बढिरहेको बताइन्।

उद्योग पुनः सञ्चालनको काममा नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक खटिएका छन्। उनीहरूसँगै उद्योगका दुई जना पुराना कर्मचारी र काठमाडौंँबाट आएका टेक्सटाइल क्षेत्रका दुई दक्ष प्राविधिकले समेत मेसिन मर्मत, उत्पादन लाइन सञ्चालन तथा आधुनिकीकरणको काम गरिरहेका छन्।

मन्त्री यादवले अहिलेको उत्पादनलाई प्रारम्भिक चरणको उपलब्धि भन्दै आगामी दिनमा उद्योगका सबै ४८८ वटा मेसिन सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको बताइन्।

‘सरकारले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य लिएको छ, हामी गरेर देखाउँछौँ,’ उनले भनिन्।

उद्योग बन्द गराउन स्वार्थ समूह सक्रिय हुन सक्ने चेतावनी

उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेसँगै केही स्वार्थ समूह सक्रिय हुन सक्ने भन्दै मन्त्री यादवले उद्योग संरक्षणका लागि सरकारसँगै जनताको समेत भूमिका महत्वपूर्ण हुने बताइन्।

‘हाम्रो यति राम्रो काम चलिरहेको छ। यसलाई बन्द गराउने तत्त्वहरू पनि सक्रिय हुन्छन्। बिचौलियाको आँखा परिसकेको छ। त्यसैले अब उद्योग जोगाउने जिम्मा सरकारसँगै जनताको पनि हो,’ उनले भनिन्।

उद्योगबाट उत्पादन हुने साडी, कपडा तथा अन्य सामग्रीमा नेपाली उपभोक्ताले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उत्पादनप्रति विश्वास गर्न आग्रह गरिन्।

स्वदेशमै कपास उत्पादन बढाउने तयारी

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको दीर्घकालीन व्यवस्थापनमा सरकार केन्द्रित रहेको मन्त्री यादवले बताइन्। केही दिनअघि किसानलाई कपास खेती विस्तार गर्न सार्वजनिक आह्वान गरिएको स्मरण गर्दै उनले उद्योगलाई आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

सरकारले केही मेसिन मात्र चलाएर प्रचारबाजी गरेको भन्ने आरोपसमेत उनले अस्वीकार गरिन्। विगतमा ठूलो रकम खर्च हुँदा पनि उद्योग सञ्चालन हुन नसकेको उल्लेख गर्दै उनले अहिले तुलनात्मक रूपमा कम खर्चमा मेसिन मर्मत गरी उत्पादन सुरु गरिएको दाबी गरिन्।

उनका अनुसार करिब ३३ लाख रुपैयाँ खर्चमा २० वटा लुम मर्मत गरेर सञ्चालनयोग्य बनाइएको छ।

‘यदि यो स्टन्टबाजी हो भने जनताले त्यही बुझ्लान्। तर मलाई लाग्छ, हामीले काम गरेर देखाइरहेका छौँ। मूल्यांकन जनता आफैँले गर्छन्,’ उनले भनिन्।

पुराना मेसिनलाई आधुनिक बनाइँदै

उद्योग पुनः सञ्चालनमा संलग्न टेक्सटाइल प्राविधिक राजप्रसाद अमात्यका अनुसार पुराना सटल लुमलाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गर्ने काम भइरहेको छ।

उनका अनुसार हाल सञ्चालनमा रहेका १० मेसिनमध्ये तीन वटा पूर्ण रूपमा स्वचालित बनाइएको छ भने बाँकी मेसिनलाई पनि क्रमशः स्वचालित प्रणालीमा रूपान्तरण गरिनेछ।

स्वचालित प्रणालीमा रूपान्तरण गरेपछि उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्ने उनको भनाइ छ।

‘अटोमेटिक भएपछि जनशक्ति कम लाग्छ र उत्पादन धेरै हुन्छ। सटल लुमले आठ घण्टामा २० देखि २५ मिटर कपडा निकाल्छ भने अटोमेटिक मेसिनले ६५ देखि ७० मिटरसम्म उत्पादन गर्न सक्छ,’ अमात्यले बताए।

अर्का प्राविधिक रमेशबहादुर भट्टराईले पनि स्वचालित प्रणालीबाट उद्योगको उत्पादन क्षमता उल्लेख्य रूपमा बढ्ने बताए।

२०३२ सालदेखि उद्योगसँग जोडिएका पुराना कर्मचारी भीष्मप्रसाद लम्सालले आवश्यक मर्मत र पार्टपुर्जा परिवर्तन गरे पुराना मेसिन पुनः सञ्चालन गर्न सकिने बताए।

‘मेसिन कहिल्यै बूढो हुँदैन, मान्छे बूढो हुन्छ। आवश्यक पुर्जा फेरेपछि मेसिन फेरि नयाँजस्तै हुन्छ,’ उनले भने।

उनका अनुसार उद्योगमा रहेका ४८८ वटै मेसिन पुनः सञ्चालन गर्न सकिने सम्भावना अझै कायम छ।

एक समय १,२०० जनालाई रोजगारी

हेटौँडा कपडा उद्योग कुनै समय नेपालकै प्रमुख सरकारी औद्योगिक प्रतिष्ठानमध्ये एक थियो। उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडाका साथै नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्दै आएको थियो।

उद्योग सञ्चालनमा रहेका बेला करिब १,२०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।

तर राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी, निरन्तरको घाटा तथा बन्द–हडताललगायतका कारण उद्योग २०५७ सालमा बन्द भएको थियो।

करिब तीन दशकपछि उद्योगमा पुनः परीक्षण उत्पादन सुरु भएको छ। पुराना मेसिनलाई आधुनिक प्रविधिमा रूपान्तरण गर्दै उत्पादन विस्तार गर्ने र सबै ४८८ मेसिन सञ्चालनमा ल्याउने सरकारको लक्ष्यले हेटौँडा कपडा उद्योगले पुनर्जीवन पाउने अपेक्षा बढाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका