Saturday, August 22, 2026
Homeसामाचारनिर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने प्रस्ताव

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने प्रस्ताव

काठमाडौं । दिवंगत विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’को योगदानको सम्मान गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम परिवर्तन गरी ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने औपचारिक प्रस्ताव तयार पारेको छ।

आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमाल आरोहण गर्ने ऐतिहासिक ‘प्रोजेक्ट पसिबल’ अभियानको सुरुआत पुर्जाले अन्नपूर्ण हिमालबाटै गरेका थिए। यही योगदानको सम्मानस्वरूप गाउँपालिकाले अन्नपूर्णको नाममा पुर्जाको नाम समेट्ने प्रस्ताव अघि बढाएको हो।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार बेलायतमा पुर्जाको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकारसमक्ष औपचारिक सिफारिस पेस गर्ने तयारी भइरहेको छ। प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अघि बढाइने जनाइएको छ।

सालिक र संग्रहालय बनाउने योजना

गाउँपालिकाले पुर्जाको स्मृतिमा सालिक तथा संग्रहालय निर्माण गर्ने योजनासमेत अघि बढाएको छ। परिवारबाट जग्गा उपलब्ध भएमा त्यही स्थानमा संग्रहालय निर्माण गरिनेछ। जग्गा उपलब्ध हुन नसके पर्यटकीय दृष्टिले महत्वपूर्ण रुप्से झरना क्षेत्र वा अन्नपूर्ण आधार शिविरमा संग्रहालय स्थापना गर्ने विकल्पमा छलफल भइरहेको गाउँपालिकाले जनाएको छ।

संग्रहालयमा पुर्जाको आरोहण यात्रा, विश्व कीर्तिमान, प्रयोग गरेका सामग्री तथा उनको साहसिक जीवनसँग सम्बन्धित सामग्री राख्ने योजना रहेको बताइएको छ।

‘मौरिस हर्जोग ट्रेल’मा पनि पुर्जाको नाम जोड्ने तयारी

फ्रान्सेली आरोही मौरिस हर्जोगको नाममा रहेको ‘मौरिस हर्जोग ट्रेल’ पदमार्गमा निर्मल पुर्जाको नामसमेत समावेश गर्ने विषयमा छलफल अघि बढाइने भएको छ।

यसका लागि हर्जोगको परिवारसँग आवश्यक परामर्श तथा सहमति लिने तयारी गाउँपालिकाले गरेको छ। अन्नपूर्ण क्षेत्रसँग जोडिएको पुर्जाको ऐतिहासिक आरोहण योगदानलाई अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित गर्ने उद्देश्यले यस्तो पहल गर्न लागिएको गाउँपालिकाको भनाइ छ।

राष्ट्रिय सम्मानप्रति गाउँपालिकाको असन्तुष्टि

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्ने आरोहीहरूको निधनमा राज्यले उचित राष्ट्रिय सम्मान दिन नसकेको भन्दै अन्नपूर्ण गाउँपालिकाले असन्तुष्टिसमेत व्यक्त गरेको छ।

गाउँपालिकाले निर्मल पुर्जाको योगदानलाई केवल पर्वतारोहण क्षेत्रको उपलब्धिका रूपमा मात्र नभई नेपालको साहस, पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको राष्ट्रिय सम्पत्तिका रूपमा सम्मान गर्नुपर्ने जनाएको छ।

अन्नपूर्ण हिमालबाट सुरु भएको ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत पुर्जाले छोटो अवधिमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी विश्व पर्वतारोहणमा नेपालको नाम स्थापित गरेका थिए। उनको यही ऐतिहासिक योगदानलाई दीर्घकालीन रूपमा स्मरणीय बनाउने उद्देश्यले नामकरण, सालिक र संग्रहालय निर्माणको योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका