काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयको टोलीले गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसँग मन्त्रालयमै भेटघाट तथा छलफल गरिरहेको हो। न्यायको माग गर्दै उनीहरू शनिबार दिउँसो केही स्थानीय अभियन्तासँगै सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए।
पीडित परिवारसँग भइरहेको छलफलमा कृषिमन्त्री गीता चौधरीसमेत सहभागी छन्। छलफलका क्रममा परिवारले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा न्याय सुनिश्चित गर्न सरकारसँग माग गर्ने अपेक्षा गरिएको छ।
गरिमाको घटनापछि दोषीलाई कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै बारा, काठमाडौंलगायत देशका विभिन्न स्थानमा नागरिक तथा अभियन्ताहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन्।
यसअघि गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताउँदै आरोपितहरू पक्राउ परिसकेको र अनुसन्धान जारी रहेको जानकारी दिएका थिए। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताएका थिए।


