Thursday, July 2, 2026
Home Blog Page 472

विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौं: हितेन्द्रदेव शाक्य

0

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई प्राथमिकतासहित प्रवर्द्धन गर्न प्राधिकरण सक्रिय रहेको बताएका छन्।

शनिबार सगरमाथा संवादमा बोल्दै उनले नेपालमा विद्युतीय सवारी साधनको संख्या अझै न्यून रहेको भन्दै यसको प्रयोग बढाउन निजी क्षेत्रलाई समेत चार्जिङ स्टेशन निर्माणमा प्रोत्साहित गरिरहेको जानकारी दिए।

उनका अनुसार सुरुआतमा ६२ वटा मात्रै रहेका चार्जिङ स्टेशनहरू अहिले सात सयभन्दा बढी पुगेका छन्। प्राधिकरणले ती चार्जिङ स्टेसनहरूलाई ११ केभी क्षमताको मध्यम भोल्टेज विद्युत आपूर्ति गरेर समर्थन गरिरहेको उनले बताए।

“हामी विद्युतीय सवारी साधनलाई अपनाउँदै त्यसलाई प्रवर्द्धन गरिरहेका छौँ,” शाक्यले भने, “विद्युतीय सवारीको संख्या बढ्दो छ, तर पर्याप्त चार्जिङ पूर्वाधार नभएकाले देशभर चार्जिङ स्टेशनको संख्या बढाउनुपर्ने आवश्यकता छ।”

उनले नेपालमा ठूला ट्रक र बसहरू अझै पनि पेट्रोल तथा डिजेलमा निर्भर रहेको उल्लेख गर्दै, यस्ता साधनहरूलाई क्रमशः विद्युतीय बनाउने प्रयास भइरहेको बताए। तर यो रूपान्तरणको प्रक्रिया चुनौतीपूर्ण भएको उनको भनाइ छ।

“हामी २० वर्षदेखि विद्युतीय सवारीको विषयमा पहल गरिरहेका छौँ,” उनले भने, “तर ठूला ट्रक र बसहरू विद्युतीय बनाउने तथा त्यसको नियमन गर्ने कुरामा अझै काम गर्न सकिरहेका छैनौँ।”

शाक्यले हाल नेपालमा करिब ९५ प्रतिशत जनसङ्ख्याको पहुँचमा विद्युत् पुगेको पनि जानकारी दिए।

राम्रो व्यक्ति व्यक्ति गभर्नर हुनेमा ढुंक भए पनि अहिले गडबड भइरहेको छ : शेखर कोइराला

0

काठमाडौँ:नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रेमिट्यान्सको नाममा नेपालमा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले गएको महिनामा मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको जानकारी दिँदै वैदेशिक रोजगारीमा गएकाले पठाएको रकम मात्रैले यस्तो उच्च रेमिट्यान्स सम्भव नदेखिएको बताए। उनले यस्तो अवस्थाले रेमिट्यान्सको आवरणमा अवैध रकम भित्रिएको आशंका गर्न बाध्य बनाएको उल्लेख गरे।

कोइरालाले यिनै कारणले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा विभिन्न चलखेल हुन सक्ने सम्भावना औँल्याए। उनका अनुसार, पार्टी सभापतिसँगको कुराकानीमा आफूले योग्य व्यक्ति नै गभर्नरमा नियुक्त हुने जानकारी पाएपछि ढुक्क भए पनि देशमा कतै गडबडी भइरहेको त होइन भन्ने चिन्ता भने कायम रहेको बताए।

उनले संविधानमा गभर्नरको पद रिक्त हुनुअघि नै एक महिनाभित्र नयाँ नियुक्ति गर्नुपर्ने व्यवस्था रहे पनि हाल त्यो प्रावधानको उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

त्यसैगरी, डा. कोइरालाले देशमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हाल दण्डहीनता बढ्दै गएको बताए। उनले एकै प्रकरणमा पैसाको लेनदेन गर्ने व्यक्ति जेल जानु पर्ने तर पैसा लिने प्रदेश सांसदलाई उन्मुक्ति दिनु दण्डहीनताको चरम उदाहरण भएको टिप्पणी गरे।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले निर्धारण गरेको दरअनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर निम्नानुसार कायम गरिएको छ।

अमेरिकी डलर (USD) एकको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ।
युरोपियन युरो (EUR) एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।
युके पाउण्ड स्ट्रलिङ (GBP) एकको खरिद दर १८१ रुपैयाँ ५० पैसा र बिक्री दर १८२ रुपैयाँ ३० पैसा रहेको छ।
स्वीस फ्रयाङ्क (CHF) एकको खरिद दर १६३ रुपैयाँ ११ पैसा र बिक्री दर १६३ रुपैयाँ ८२ पैसा छ।
अष्ट्रेलियन डलर (AUD) एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा,
क्यानेडियन डलर (CAD) एकको खरिद दर ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २० पैसा तोकिएको छ।

सिङ्गापुर डलर (SGD) एकको खरिद दर १०५ रुपैयाँ १२ पैसा र बिक्री दर १०५ रुपैयाँ ५९ पैसा,
जापानी येन (JPY) १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा,
चिनियाँ युआन (CNY) एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ३ पैसा रहेको छ।
साउदी रियाल (SAR) एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा,
कतारी रियाल (QAR) एकको खरिद दर ३७ रुपैयाँ ४६ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा छ।

त्यस्तै, थाइ भाट (THB) एकको खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ १२ पैसा,
युएई दिराम (AED) एकको खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा,
मलेसियन रिङ्गेट (MYR) एकको खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा छ।

साउथ कोरियन वन (KRW) १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा,
स्वीडिस क्रोनर (SEK) एकको खरिद दर १३ रुपैयाँ ८८ पैसा र बिक्री दर १४ रुपैयाँ ५ पैसा,
डेनिस क्रोनर (DKK) एकको खरिद दर २० रुपैयाँ ५० पैसा र बिक्री दर २० रुपैयाँ ५९ पैसा रहेको छ।

हङकङ डलर (HKD) एकको खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा छ।
कुवेती दिनार (KWD) एकको खरिद दर ४४४ रुपैयाँ १७ पैसा र बिक्री दर ४४६ रुपैयाँ १२ पैसा,
बहराइन दिनार (BHD) एकको खरिद दर ३६२ रुपैयाँ १५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ७४ पैसा,
ओमानी रियाल (OMR) एकको खरिद दर ३५४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ (INR) १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार यी विनिमय दरहरू आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने छन्। वाणिज्य बैंकहरूले लागू गर्ने दर फरक हुनसक्ने जनाइएको छ भने अद्यावधिक विवरण नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

मनसुन सुरु हुनु अगावै एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

0

झापा: मनसुन सुरु हुनुअगावै पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम यथासक्य चाँडो सक्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड), दमकले निर्माण कम्पनीलाई आज औपचारिक पत्राचारमार्फत यस्तो निर्देशन दिएको हो।

एसियन हाइवेको स्तरोन्नतिको काम एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लागतमा भइरहेको छ। निर्माणको जिम्मा पाएको कम्पनीले डाइभर्सनको काम ढिलो गरिरहेको भन्दै कार्यालयका आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले मनसुन सुरु हुनुभन्दा अगावै काम सक्न आग्रह गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार डाइभर्सन बनाइएको स्थानहरूमा खाल्डाखुल्डी रहेकाले वर्षाको समयमा बाढीले डाइभर्सन बगाउने र यातायात अवरुद्ध हुने खतरा उच्च छ। “यस्ता ठाउँमा विपद् र दुर्घटनाको जोखिम रहन्छ,” उहाँले भन्नुभयो, “त्यसैले मुख्य राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सम्पन्न गरी सिधै मुख्य मार्गबाट यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता छ।”

सडक निर्माणको ठेक्का लिएको कम्पनीको कामको प्रगति भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। हालसम्म सडक निर्माणको भौतिक प्रगति १९ प्रतिशत र पुल तथा कल्भर्ट निर्माणको प्रगति १७ प्रतिशत मात्र रहेको पन्तले बताउनुभयो। पटक–पटक सचेत गराइए पनि निर्माण कम्पनीको काम सन्तोषजनक नभएको उहाँको भनाइ छ।

वर्षा सुरु भएसँगै सडक बन्द हुने खतरा बढेको भन्दै सर्वसाधारणबाट गुनासो आउन थालेको छ। यस्तो अवस्थामा आवश्यक परेमा रैपिड रेस्पोन्स टोलीमार्फत तत्काल समाधान गर्ने तयारी रहेको कार्यालयले जनाएको छ।

“वर्षात्को समयमा पनि आवश्यक कामहरू निरन्तर जारी रहनेछन्,” आयोजना प्रमुख पन्तले स्पष्ट पार्नुभयो।

जनकपुरमा कांग्रेसको ध्यानाकर्षण : अस्पताल सञ्चालनमा ढिलाइले स्वास्थ्य सेवा प्रभावित

0

जनकपुर: सत्तारुढ नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमाथि स्वास्थ्य क्षेत्रप्रति पूर्वाग्रही रवैया अपनाएको आरोप लगाउँदै मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएको छ।

मधेश प्रदेशमा कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापनपत्र बुझाउँदै अस्पताल सञ्चालनमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

२०८० मंसिर १८ गतेको मन्त्रिपरिषद् बैठकले ६ वटा जिल्ला अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्ने र ५ वटा नयाँ ५० शैय्याका अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि अहिलेसम्म उक्त निर्णय कार्यान्वयनमा नआएको उपनेता सिंहको आरोप छ। उनका अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत भइसकेको र विज्ञापनमार्फत कर्मचारी छनोट समेत सम्पन्न भइसकेको अवस्थामा पनि अस्पताल सञ्चालनमा चासो नदिइएको हो।

सिंहले स्वास्थ्य मन्त्रालयको लापरवाही र अस्पताल सञ्चालन नगर्ने नियतकै कारण नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित भएको दाबी गरेका छन्। ज्ञापनपत्रमा उल्लेख छ, “दरबन्दीअनुसारको जनशक्ति खटाएर ती अस्पतालहरू यथाशीघ्र सञ्चालन गर्नुपर्छ।”

कांग्रेसले खासगरी दूरदराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचमा गम्भीर असर परिरहेको उल्लेख गर्दै प्रदेश सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

पोखरामा फल्न थाले स्थानीय तरबुजा, २०० रोपनीमा विस्तार, ४०० टन उत्पादन

0

गण्डकी: विगतमा तराई वा भारतबाट आयात गरिएको तरबुजा मात्रै खाने गरेका पोखरेलीहरू अहिले आफ्नै गाउँघरमा उत्पादन भएको मिठो तरबुजा स्वाद लिएर उत्साहित छन्। पोखरा महानगरपालिका–३३ को सुरौदी खोला किनारको तिखेढुङ्गा, पोखरा–१३ ढाँडबेसी, पाटनवेशी, हेमजालगायत क्षेत्रका फाँटहरूमा अहिले लटरम्म फलेका तरबुजा देखिन्छन्।

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गरेका छन्, जुन अब केही दिनमै बजारमा आउने तयारीमा छ। त्यस्तै, आर्वाको ढाँडबेसीमा ‘रुद्रगङ्गा बहुउद्देश्यीय कृषि फर्म’मार्फत ई. विक्रम बरालसहितका युवाहरूले १५ रोपनीमा तरबुजा खेती गरी चार महिनामै १५ लाख रुपैयाँ आम्दानी गरेका छन्।

बरालका अनुसार ३,५०० किलोग्राम उत्पादन भइसकेको छ। “हामीले प्रमाणित गर्यौं कि यहाँ पनि राम्रो तरबुजा फल्छ,” उनले बताए। पोखरा–१३ का बुद्धप्रसाद बरालले ३ रोपनीमा खेती गरी ६०० किलोग्राम बिक्री गरिसकेका छन् भने हेमजाको अम्मट बिचमा रमेश कार्कीले तीन रोपनीमा लगाएको तरबुजा राम्रो फलिरहेको जानकारी दिएका छन्।

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष पोखरामा तरबुजा खेती २०० रोपनीमा विस्तार गरिएको छ। महानगरपालिकाले बीउ तथा मल्चिङ प्लास्टिकमा सहयोग गरेको र वडा नं. १३, २३, ३०, ३२, ३३ मा यसतर्फ आकर्षण बढिरहेको उनको भनाइ छ।

ब्रान्डिङ र बजारीकरण
यस वर्ष करिब ४०० टन (लगभग दुई करोड रुपैयाँ बराबर) तरबुजा उत्पादन भएको र ‘सरस्वती’ जातको तरबुजालाई ब्रान्डिङ गर्न स्टिकर तयार गरिएको कडरियाले जानकारी दिए।

तरबुजा मेलाले कृषकलाई प्रोत्साहन
स्थानीय उत्पादन प्रवर्द्धनका लागि पोखरा–१३ मा बिहीवार ‘तरबुजा मेला २०८२’ सम्पन्न भएको छ। वडास्तरीय कृषि सञ्जाल र महानगर कृषि विकास शाखाको सहकार्यमा आयोजित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक सल्लाह, किसान अनुभव आदान–प्रदान, परिकार प्रदर्शनी, र बाली उपचार शिविर सञ्चालन गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए।

उनका अनुसार मेलाले कृषकको मेहनतलाई सम्मान गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

७.८६ किलोको तरबुजा, पाँच हजार नगद पुरस्कार
मेलामा प्रदर्शनीका लागि ल्याइएका तरबुजामध्ये तिखेढुङ्गाको रमेश आचार्य र ज्ञानबहादुर कार्कीले फलाएको तरबुजा सबैभन्दा ठूलो देखियो — ७ किलो ८६० ग्राम। उनीहरूलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार दिइयो।

अन्य प्रतियोगिताका नतिजा
तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ क्रमशः पहिलो र दोस्रो भए। उनीहरूलाई ९ र ६ किलो तौलका तरबुजा पुरस्कारस्वरूप प्रदान गरियो।

तरबुजा प्रदर्शनीतर्फ उत्कृष्टता पुरस्कार मणिद्विप कृषि फर्म (पोखरा–१३) का श्रीधरलाल बराल र रोशन बरालले पाए। दोस्रो पिपलडाली पशु तथा कृषक समूह (पोखरा–२८) का शोवितबहादुर अधिकारी, तेस्रो सूर्यचन्द्र कृषक समूह (पोखरा–१३) का विश्वराज सापकोटा, र सान्त्वना पुरस्कार चण्डेश्वरी कृषि सहकारी संस्था (पोखरा–१३) का रामकाजी बरालले प्राप्त गरे।

उनीहरूलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

उदयपुरमा आँधी-हावाहुरीका कारण दर्जनौँ घर र विद्यालयमा क्षति, २२ लाखभन्दा बढीको नोक्सानी

0

गाईघाट (उदयपुर): विहानैदेखि परेको वर्षासँगै आएको तीव्र आँधी र हावाहुरीले उदयपुर जिल्लाका विभिन्न स्थानमा दर्जनौँ घर र विद्यालयमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङका अनुसार चौदण्डीगढी नगरपालिका–१० स्थित खैराहा झोडामा हावाहुरीका कारण हर्क श्रेष्ठ, ध्रुव खत्री र सम्भव अधिकारीका घरको छानो उडाएको छ।

यसैगरी, उदयपुरगढी गाउँपालिका–६ को जगेटारमा रहेको एक माध्यमिक विद्यालयको सम्पूर्ण छानो समेत उडाएको छ।

त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पु¥याएको प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुमान अनुसार हावाहुरीका कारण करिब २२ लाख ६० हजार रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको डीएसपी दोङले जानकारी दिनुभयो। जिल्लाका अन्य स्थानहरूमा पनि क्षति हुन सक्ने भएकाले थप विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ।

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तान छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

0

काठमाडौं। पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानले पाकिस्तानबाट स्वतन्त्रताको घोषणा गरेको छ। पहिल्यैदेखि महँगी, गरिबी र विदेशी ऋणको बोझमा थलिएको पाकिस्तान अहिले थप गम्भीर संकटमा छ, जसले देशलाई १९७१ यताकै सबैभन्दा ठूलो विभाजनको संघारमा ल्याइदिएको छ।

बलुच नेता मिर यार बलोचले बुधबार औपचारिक रूपमा पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रता घोषणा गरेका हुन्। उनले दशकौंदेखि भइरहेको हिंसा, बलुच नागरिकहरूको अपहरण र मानव अधिकार उल्लङ्घनलाई यसको प्रमुख कारण ठहर गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै उनले लेखे, “बलुचिस्तानका जनताले आफ्नो राष्ट्रिय निर्णय लिएका छन् र अब विश्व चुप लागेर बस्नु हुँदैन।” उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेका छन्।

बलुचिस्तानको स्वतन्त्रता घोषणा गर्ने मिर यार बलोच एक लेखक, स्वतन्त्र पत्रकार, मानव अधिकारकर्मी तथा ‘आजाद बलुचिस्तान आन्दोलन’का प्रतिनिधि हुन्। उनले पाकिस्तानबाट छुट्टै राष्ट्रको घोषणा मात्र गरेका छैनन्, बलुचिस्तानलाई स्वतन्त्र देशको मान्यता दिन संयुक्त राष्ट्र संघलाई आपतकालीन बैठक बोलाउन पनि माग गरेका छन्।

उनले बलुचिस्तानका लागि छुट्टै मुद्रा र राहदानीको व्यवस्था गर्न तथा आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त राष्ट्र संघबाट अर्बौं रुपैयाँको कोष स्थापना गर्न आग्रह गरेका छन्। त्यस्तै, पाकिस्तानको दमनबाट बलुच जनतालाई मुक्त गर्न अन्तर्राष्ट्रिय शान्ति सेना पठाउन पनि अपील गरेका छन्। उनका यी दाबीहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिए पनि हाल बलुचिस्तान अझै पाकिस्तानको हिस्सा नै हो।

बलुचिस्तानको स्वतन्त्रताका लागि आवाज उठाउने मुख्य संगठन बलुच लिबरेशन आर्मी (BLA) ले पनि आफ्नो सशस्त्र संघर्ष जारी राखेको छ। यही समूहले गत मार्च ११ मा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको थियो, जसमा ४४० जना यात्रु सवार थिए।

यस घटनापछि पाकिस्तानी सेनाले बलुच लिबरेशन आर्मी विरुद्ध कडा कारबाही गर्‍यो, जसमा दुवै पक्षबाट धेरै मानिसहरूको ज्यान गयो। BLA मा ५,००० भन्दा बढी सशस्त्र लडाकुहरू छन्, जसले पटक–पटक पाकिस्तानी सेनालाई निशाना बनाउँदै आएका छन्। सन् २००६ मा पाकिस्तान सरकारले यस समूहलाई ‘आतङ्कवादी संगठन’ घोषणा गरेको थियो।

BLA को नेतृत्व बशीर जेबले गर्छन्, जो पहिले कोर कमिटीमा थिए। २०१८ मा काबुलमा असलम बलोचको हत्या भएपछि बशीर जेब कमाण्डर इन चीफ नियुक्त भए। उनको नेतृत्वमा बलुच स्वतन्त्रता आन्दोलन अझ चर्किएको छ।

यसबाहेक बलुचिस्तानको लागि लड्ने अर्को प्रमुख संगठन बलुचिस्तान लिबरेशन फ्रन्ट (BLF) हो, जुन सन् १९६४ मा जुम्मा खानद्वारा स्थापना गरिएको थियो। कुनै समय BLF बलुच स्वतन्त्रता आन्दोलनको सबैभन्दा शक्तिशाली संगठन मानिन्थ्यो। तर पछि यसका धेरै लडाकुहरू BLA मा गाभिए।

BLF विशेषतः पाकिस्तानी सेनाविरुद्ध छापामार युद्ध, ग्यास पाइपलाइन तथा रेलवे ट्र्याकहरूमा आक्रमणका लागि परिचित छ। त्यसैगरी फ्री बलुचिस्तान मुभमेन्ट, बलुचिस्तान नेशनल मुभमेन्ट र बलुचिस्तान रिपब्लिकन पार्टी लगायतका संगठनहरू पनि पाकिस्तानविरुद्ध लडिरहेका छन्।

मिर यार बलोचबाहेक, आन्दोलनको अर्को प्रमुख अनुहार महराङ बलोच हुन्, जो पेशाले डाक्टर र याकजेहाती समिति (Baloch Yakjehti Committee) की सदस्य हुन्। सन् २००९ मा उनका बुबाको अपहरणपछि दुई वर्षमा शव फेला परेको थियो। सन् २०१७ मा उनका भाइ पनि अपहरणमा परे तर जनदबाबपछि उनी सुरक्षित फिर्ता भए। मार्चमा महराङ बलोचलाई पाकिस्तानी सरकारले गिरफ्तार गरेर जेलमा राखेको थियो।

बलुचिस्तान पाकिस्तानको ४० प्रतिशतभन्दा बढी ग्यास उत्पादन गर्ने तथा तामा र सुनका खानीले भरिपूर्ण प्रान्त हो। तर यसको अर्थतन्त्र भने पछाडि परेको छ। बलुच जनताको भाषा, संस्कृति र पहिचान पाकिस्तानको अन्य भागभन्दा फरक छ। यहाँ बलुची भाषा बोलिन्छ, जबकि पाकिस्तानमा मुख्य रूपमा उर्दू र पंजाबी प्रयोग गरिन्छ।

सेमिफाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपबाट बाहिरियो

0

काठमाडौं। साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शुक्रबार भारतको अरुणाञ्चलस्थित गोल्डन जुब्ली रंगशालामा सम्पन्न खेलमा नेपाल २-१ गोलले बंगलादेशसँग पराजित भयो।

बंगलादेशका लागि अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरे भने नेपालका तर्फबाट सुजन डंगोलले एक गोल फर्काए। खेलको ७३औं मिनेटमा अशिकुरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि कप्तान नज्मुलले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजन डंगोलले नेपालका लागि एक गोल फर्काउँदै फर्कने संकेत दिए पनि समय अभावका कारण त्यो प्रयास असफल रह्यो।

समूह चरणमा नेपालले श्रीलंकालाई ५-० ले हराउँदै शानदार सुरुवात गरेको थियो। तर दोस्रो खेलमा घरेलु टोली भारतसँग ४-० को ठूलो हार बेहोरेको थियो।

बंगलादेशले भने समूह चरणमा माल्दिभ्ससँग २-२ को बराबरी खेलेको थियो भने भुटानलाई ३-० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सर्वोच्चको आदेशमा रविन्द्र मिश्र रिहा: भने ‘मैले कुनै पनि अपराध गरेको छैन, तर राज्य मेरोविरुद्ध लागेको छ’

0

काठमाडौं: सर्वोच्च अदालतको आदेशमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र रिहा भएका छन्। शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मिश्रले आफूले कुनै पनि अपराध नगरेको स्पष्ट पारेका छन्।

उनले भने, “राज्यविरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रव मबाट केही पनि भएको छैन। मैले आज त्यति मात्र टिप्पणी गरे। म हाजिरी जमानीमा छुटेको हुँ। त्यसमा म धेरै खुसी हुने पक्षमा छैन, किनभने राज्य मविरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरूले पनि भन्नु भइसकेको छ।”

मिश्रले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जनधनको क्षतिप्रति पनि दुःख प्रकट गरे। उनले भने, “सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। जति जनधनको क्षति भयो, त्यसमा पनि दुःख व्यक्त गर्न चाहन्छु।”

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रलाई प्रहरीले सोही साँझ पक्राउ गरेको थियो। उनलाई राज्यविरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रवको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिँदै आएको थियो। प्रहरीले आठ पटकसम्म म्याद थप गरी उनलाई थुनामा राखेको थियो।

अदालतको आदेशपछि उनी हाजिरी जमानीमा रिहा भएका हुन्।