खोटाङ: खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो वैकल्पिक मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’को निर्माण कार्य सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि विकल्पका रूपमा उक्त सडक निर्माण थालिएको हो ।
कोशी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल रु १ करोड २० लाखको लगानीमा बन्ने उक्त सडकको पहिलो चरणमा रु ४५ लाखको बजेटबाट निर्माण कार्य प्रारम्भ गरिएको हो । शनिबार खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गर्नुभएको हो ।
गत असोज १२ गते आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणमा समय लाग्ने भएकाले र धाप्लाङघाटमा नयाँ पुल निर्माण कार्य अघि बढिरहेका कारण तत्कालको आवश्यकताका लागि वैकल्पिक सडकको ट्रयाक खोल्न थालिएको मन्त्री राईले जानकारी दिनुभयो । उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढाइएको छ ।
बजेटको पहिलो किस्ता प्रदेश मन्त्रालयबाट बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको र बाँकी रकम भने ठेक्का प्रणालीमार्फत खर्च गरिने जानकारी मन्त्री राईको सचिवालयले दिएको छ ।
वैकल्पिक सडक निर्माण सम्पन्न भएपछि खोटाङवासीले फोक्सिङटारदेखि साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न सक्नेछन् । त्यहाँबाट उदयपुरको साउने हुँदै तराई झर्ने सबैभन्दा छोटो र सहज मार्गको विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
फोक्सिङटारबाट धाप्लाङघाट जोड्ने सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माण कार्य समेत भइरहेको छ । बाढीले बगाएको फोक्सिङटारको पक्की पुलको विकल्पमा हाल अस्थायी बेलिब्रिज प्रयोग भइरहेको छ । तर, बाढीको जोखिमका कारण यही जेठ ५ गतेदेखि उक्त बेलिब्रिज हटाउने तयारी भइरहेको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।
स्थानीयवासीले भने बेलिब्रिजलाई कम्तीमा जेठ १५ गतेसम्म यथास्थानमा राख्न माग गर्दै सडक विभागसँग आग्रह गरेका छन् । असोज यता कठिन जीवन बिताइरहेका खोटाङवासीलाई राहत स्वरूप सरकारले गत पुस २७ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याएको थियो ।
करीब रु १ करोड २ लाख ९४ हजार लागतमा जडान गरिएको ५० मिटर लम्बाइ र साढे ६ मिटर चौडाइ भएको बेलिब्रिजबाट एकतर्फी सवारीसाधन सञ्चालन भइरहेको छ । यसमार्फत दिक्तेल बजारबाट गाईघाट, बेलटार, धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडसम्म सिधा यातायात सेवा सुचारु भएको थियो ।
बेलिब्रिज हटाइएपछि खोटाङ–उदयपुर सिधा सम्पर्क विच्छेद हुने र जिल्लावासीलाई तराई झर्न तथा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री वा उपचारका लागि आवतजावतमा समस्या हुने निश्चित देखिन्छ ।
फोक्सिङटारमा निर्माण भएको पक्की पुल २०७९ पुस ७ गतेदेखि प्रयोगमा आए पनि हस्तान्तरण नहुँदै बाढीले बगाएको थियो । यस कारण निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीमाथि नै पुनर्निर्माणको जिम्मेवारी दिनुपर्ने भन्ने बहस स्थानीय तहमा चलिरहेको छ ।
दिक्तेल–गाईघाट १०१ किलोमिटर लामो सडकखण्ड अन्तर्गतको फोक्सिङटार पुल पुनर्निर्माणका लागि आवश्यक बजेट नेपाल सरकार, अर्थ मन्त्रालयबाट रु ३५ करोड सुनिश्चित गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य तथा संविधानसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभएको छ ।