म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानीमा नदी कटान र बाढी नियन्त्रण गर्न ‘कम्पोजिट प्रविधि’ प्रयोग गरी पक्की पर्खाल निर्माण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय र प्रदेश सरकारको बजेटबाट म्याग्दी नदी किनारका विभिन्न स्थानमा पर्खाल निर्माण गरिएको हो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले छुट्टाछुट्टै योजनाअन्तर्गत पर्खाल निर्माण गरेका हुन्। योजनाको काम गत फागुनदेखि सुरु भई बर्खा सुरु हुनु अघि नै सम्पन्न भएको तातोपानीका स्थानीय बासिन्दा दिनेश केसीले जानकारी दिनुभयो।
सरस्वती माविमुनिको पर्खाल निर्माण
रु २ करोड ७० लाख लागत अनुमान गरिएको योजनाअन्तर्गत पर्वतस्थित साहाना–बिआरटी जेभीले रु १ करोड ५५ लाखमा ठेक्का सम्झौता गरी सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको हो। पर्खाल ६६ मिटर लामो, ४ मिटर चौडा र ३ मिटर अग्लो छ। यसमा कङ्क्रिटको पर्खालमाथि ग्यावियन जाली राखिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङका अनुसार यो पर्खालले बाढीको क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ।
उपल्लो तातोपानी बजारको पर्खाल निर्माण
जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयको रु ५० लाख बजेटबाट शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ। यो योजनाअन्तर्गत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण गरिएको कार्यालयका प्रमुख इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिनुभयो।
पछिल्ला क्षतिहरू र जोखिम
वि.सं. २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसार क्षेत्रमा कटान गर्दा मसारमा दुई घर भत्किएका थिए। सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारका १७ घर कटानको उच्च जोखिममा छन्। करिब १०० घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदी कटानको स्थायी जोखिममा रहेको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो।
बहुवर्षीय योजना र आगामी कामहरू
यसअघि ग्यावियन पर्खालको माध्यमबाट नदी नियन्त्रण गरिँदै आएकोमा अबदेखि पक्की कम्पोजिट पर्खालको प्रविधि प्रयोग गर्न थालिएको हो। प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजार क्षेत्रको संरक्षणका लागि चालु आर्थिक वर्षमै रु १० करोडको बहुवर्षीय योजना अघि बढाइएको छ।
इञ्जिनियर गुरुङका अनुसार तातोपानी क्षेत्रमा १०२ मिटर र बेनीको दरवाङ बजार पछाडि १६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।


