युक्रेनमा जारी युद्ध अन्त्यका प्रयासस्वरूप युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच दुई घन्टा लामो वार्ता सम्पन्न भएको छ। उक्त वार्ता शुक्रबार टर्कीको इस्तानबुलमा सम्पन्न भएको हो।
वारापछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक/एक हजार युद्धबन्दी रिहा गर्ने सहमति भएको जानकारी दिएका छन्। उनले भने, “हामीले युद्धविराम र युद्धबन्दीहरूको आदानप्रदानबारे छलफल गर्यौँ। हाम्रो बैठकको परिणामस्वरूप एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति जुटेको छ।”
दुवै पक्षले चाँडै नै सम्भावित युद्धविरामबारे विस्तृत धारणा प्रस्तुत गर्ने बताएका छन्। त्यसपछि वार्ता अगाडि बढ्ने जनाइएको छ। युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको प्रस्ताव पनि राखेको छ।
सरकारी समाचार संस्था अनाडोलुले उद्धृत गरेअनुसार रक्षामन्त्री उमरोभले वार्तामा तीन मुख्य विषयमा ध्यान केन्द्रित गरिएको बताएका छन्—युद्धविराम, कैदी आदानप्रदान, र भविष्यमा हुने राष्ट्रपति शिखर वार्ताको सम्भावना।
वार्ताको अध्यक्षता गरेका टर्कीका विदेशमन्त्री हाकान फिदानले यो बैठकले विश्वास निर्माण र आगामी वार्ताहरूका लागि जग बसाल्ने महत्त्वपूर्ण परिणामहरू ल्याएको बताएका छन्।
यसअघि, आइतबार रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरेका थिए। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पहिले नै पुटिनसँग प्रत्यक्ष वार्ताका लागि खुला रहेको बताएका थिए। यद्यपि, क्रेमलिनले पुटिनले वार्तामा भाग नलिने जनाएको छ।
उल्लेखनीय छ, युक्रेन र रुसबीचको अन्तिम प्रत्यक्ष वार्ता मार्च २०२२ मा इस्तानबुलमै भएको थियो।
एजेन्सी


