झापा: मनसुन सुरु हुनुअगावै पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम यथासक्य चाँडो सक्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड), दमकले निर्माण कम्पनीलाई आज औपचारिक पत्राचारमार्फत यस्तो निर्देशन दिएको हो।
एसियन हाइवेको स्तरोन्नतिको काम एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लागतमा भइरहेको छ। निर्माणको जिम्मा पाएको कम्पनीले डाइभर्सनको काम ढिलो गरिरहेको भन्दै कार्यालयका आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले मनसुन सुरु हुनुभन्दा अगावै काम सक्न आग्रह गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार डाइभर्सन बनाइएको स्थानहरूमा खाल्डाखुल्डी रहेकाले वर्षाको समयमा बाढीले डाइभर्सन बगाउने र यातायात अवरुद्ध हुने खतरा उच्च छ। “यस्ता ठाउँमा विपद् र दुर्घटनाको जोखिम रहन्छ,” उहाँले भन्नुभयो, “त्यसैले मुख्य राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सम्पन्न गरी सिधै मुख्य मार्गबाट यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता छ।”
सडक निर्माणको ठेक्का लिएको कम्पनीको कामको प्रगति भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। हालसम्म सडक निर्माणको भौतिक प्रगति १९ प्रतिशत र पुल तथा कल्भर्ट निर्माणको प्रगति १७ प्रतिशत मात्र रहेको पन्तले बताउनुभयो। पटक–पटक सचेत गराइए पनि निर्माण कम्पनीको काम सन्तोषजनक नभएको उहाँको भनाइ छ।
वर्षा सुरु भएसँगै सडक बन्द हुने खतरा बढेको भन्दै सर्वसाधारणबाट गुनासो आउन थालेको छ। यस्तो अवस्थामा आवश्यक परेमा रैपिड रेस्पोन्स टोलीमार्फत तत्काल समाधान गर्ने तयारी रहेको कार्यालयले जनाएको छ।
“वर्षात्को समयमा पनि आवश्यक कामहरू निरन्तर जारी रहनेछन्,” आयोजना प्रमुख पन्तले स्पष्ट पार्नुभयो।


