काठमाडौँ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ गतेलाई महत्वपूर्ण दिन भएको बताएका छन्।
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरी राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताए।
लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता तथा कार्यकर्तालाई एक ठाउँमा आउन आह्वान गरे। उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सम्पूर्ण देशवासीलाई सहभागी हुन आग्रह गरे।
उनले आन्दोलन सफल नभएसम्म नरोकिने बताए। “देश यही अवस्थामा बसिरहन सक्दैन, नयाँ राजनीतिक समझौतामा जानुपर्छ, जहाँ राजादेखि सबै शक्ति अट्न सकून्,” लिङ्देनले भने। उनले गणतन्त्र पक्षधर शक्तिहरूले आफूहरूको प्रस्ताव नस्वीकारेमा दमन बढ्ने चेतावनी पनि दिए।
“अब बल सरकारको कोर्टमा छ। तपाईंहरू के चाहनुहुन्छ? केही दिनपहिले सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर आन्दोलनको प्रतिवाद गर्ने प्रयास गरियो, तर जनता कति उपस्थित छन् भन्ने देखिएको छ,” उनले भने।
गणतन्त्र पक्षधर दलहरूलाई दमन वा जालझेलको सहारा नलिइकन समझदारीमा आउन उनले आग्रह गरे। साथै, राजसंस्थाको वकालत गर्नु भनेको लोकतन्त्रको विरोध होइन भनी स्पष्ट गर्दै लिङ्देनले विश्वका उन्नत मुलुकहरूमा पनि राजतन्त्र कायम रहेको उदाहरण प्रस्तुत गरे।
उनले अबदेखि राप्रपाका सबै कार्यक्रमहरू आन्दोलनकै अंगका रूपमा अघि बढाइने घोषणा पनि गरे।