काठमाडौं। युरोपका विभिन्न मुलुक यतिबेला अभूतपूर्व गर्मी र लूको चपेटामा परेका छन्। बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेपछि मौसम निकायहरूले उच्च सतर्कता अपनाउँदै ‘रेड अलर्ट’ जारी गरेका छन्।
यहीबीच बेलायतमा एयर कन्डिसनर (एसी) प्रयोगसम्बन्धी नियमलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। कार्बन उत्सर्जन घटाउने ‘नेट जिरो’ नीतिअनुसार केही स्थानीय निकायहरूले नयाँ भवन तथा आवासमा एसी जडानका लागि कडा मापदण्ड लागू गर्न थालेपछि यसको व्यापक आलोचना भइरहेको छ।
बेलायतको भवन निर्माण तथा वातावरणीय नीतिअनुसार ‘एक्टिभ कुलिङ’ अर्थात् एसी प्रयोग गर्नुअघि ‘प्यासिभ कुलिङ’का उपाय प्रभावकारी नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ। अर्थात् झ्याल–ढोका खोल्ने, प्राकृतिक हावा चल्ने वातावरण बनाउने वा सिलिङ फ्यानजस्ता विकल्प पर्याप्त नभएपछि मात्र एसी प्रयोग गर्न अनुमति दिइने प्रावधान छ।
यसैक्रममा लन्डनको क्यामडेन काउन्सिलले एक स्थानीय बासिन्दालाई आवश्यक प्राकृतिक हावा व्यवस्थापन नगरेको भन्दै घरमा जडान गरिएका दुईवटा एसी हटाउन निर्देशन दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सम्बन्धित व्यक्तिले सुरक्षा र चोरीको जोखिमबारे चिन्ता व्यक्त गरे पनि अधिकारीहरूले राति झ्याल बन्द गर्न सकिने सुझाव दिएका थिए। साथै, सोलार प्यानलजस्ता वातावरणमैत्री प्रविधि अपनाएपछि मात्र एसी प्रयोगलाई सहज बनाइने नीति पनि लागू गरिएको छ।
यस नीतिको प्रभाव स्वास्थ्य क्षेत्रमा समेत देखिन थालेको छ। अत्यधिक गर्मीका बीच पर्याप्त शीतलन प्रणालीको अभावका कारण बेलायतका विभिन्न अस्पतालमा हजारौँ पूर्वनिर्धारित शल्यक्रिया स्थगित भएको जनाइएको छ। उच्च तापक्रमका कारण रेल सेवा पनि प्रभावित बनेको छ।
बेलायतकी पूर्व ऊर्जा सुरक्षा तथा ‘नेट जिरो’ मन्त्री क्लेयर काउटिन्होले उक्त नीतिको आलोचना गर्दै यसलाई अव्यावहारिक र नागरिकको दैनिक जीवनमा अनावश्यक बोझ थप्ने निर्णय भएको टिप्पणी गरेकी छन्।
यता फ्रान्समा पनि एसीको प्रयोगलाई लिएर राजनीतिक बहस चर्किएको छ। दक्षिणपन्थी नेतृ मरीन ले पेनले आफू सत्तामा पुगे अस्पताल र विद्यालयमा व्यापक रूपमा एसी जडान गर्ने प्रतिबद्धता जनाएकी छन्। अर्कोतर्फ, वामपन्थी दलहरूले ऊर्जा खपत र वातावरणीय प्रभावलाई ध्यानमा राख्दै एसीको प्रयोग नियन्त्रण गर्नुपर्ने धारणा राख्दै आएका छन्।
युरोपभरि बढ्दो गर्मीसँगै पोर्टेबल एसी र विद्युतीय पंखाको माग तीव्र रूपमा बढेको छ। विशेषगरी चिनियाँ उत्पादक कम्पनीका यस्ता उपकरणको माग अत्यधिक बढेपछि बजारमा आपूर्तिमा समेत दबाब परेको जनाइएको छ।


