Wednesday, July 1, 2026
Homeअर्थ र ब्यापारइन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, निगमले अनुगमन टोली परिचालन गर्‍यो

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, निगमले अनुगमन टोली परिचालन गर्‍यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म घटाएपछि बुधबार काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन्।

निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाउने निर्णय गरेपछि केही निजी पम्प सञ्चालकहरूले बिक्री वितरण स्थगित गरेका हुन्।

पम्प सञ्चालकहरूले नयाँ मूल्य लागू हुँदा मौज्दात इन्धन बिक्रीमा घाटा हुने भन्दै पम्प बन्द गरेको जनाएका छन्। धेरै पम्पमा ‘नो पेट्रोल’ सूचना टाँसिएको छ भने कतिपयले इन्धन बिक्री नै रोकेका छन्।

निगमले मंगलबार राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची जारी गरेको थियो। नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजार र इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्य घटेपछि उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। तर, निजी पम्पहरू बन्द भएपछि बजारमा इन्धनको कृत्रिम अभाव देखिएको छ।

मूल्य घट्ने जानकारी पाएपछि केही डिलरहरूले सम्भावित नोक्सानबाट बच्न मंगलबार नै निगमको डिपोबाट पर्याप्त इन्धन नउठाएको पनि खुलेको छ।

अचानक पम्पहरू बन्द हुँदा इन्धन भर्न पुगेका सर्वसाधारण, सार्वजनिक तथा निजी सवारीचालकहरू समस्यामा परेका छन्। सरकारी तथा सुरक्षा निकायका पम्पहरू सञ्चालनमा रहे पनि त्यहाँ सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ।

बजारमा कृत्रिम अभाव सिर्जना भएको गुनासो बढेपछि नेपाल आयल निगमले तत्काल अनुगमनलाई तीव्र बनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौं उपत्यकामा तीनवटा विशेष अनुगमन टोली परिचालन गरिएको छ।

उनका अनुसार आकस्मिक अनुगमनका क्रममा बिना कारण पम्प बन्द गरेको वा उपभोक्तालाई इन्धन वितरण नगरी कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित पम्पलाई सिल गरी कानुनी कारबाही गरिनेछ।

निगमले मागअनुसार पर्याप्त इन्धन आपूर्ति भइरहेको उल्लेख गर्दै प्राविधिक समस्या छिट्टै समाधान भई बजारको अवस्था सामान्य हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका