Wednesday, July 1, 2026
Homeअन्तराष्ट्रियक्रिप्टो कारोबारबाट ट्रम्प परिवारको एक वर्षमै करिब १ अर्ब डलर आम्दानी, सम्पत्ति...

क्रिप्टो कारोबारबाट ट्रम्प परिवारको एक वर्षमै करिब १ अर्ब डलर आम्दानी, सम्पत्ति ६.५ अर्ब डलर पुग्यो

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी व्यवसायबाट सन् २०२५ मा मात्रै करिब १ अर्ब अमेरिकी डलर बराबरको आम्दानी भएको खुलासा भएको छ।

अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको ९२७ पृष्ठ लामो आर्थिक विवरणअनुसार ट्रम्पले मुख्यतः वल्र्ड लिबर्टी फाइनान्सियलट्रम्प क्रिप्टोकरेन्सी सम्बन्धी व्यावसायिक गतिविधिबाट ठूलो आम्दानी गरेका हुन्।

यस आम्दानीसँगै ट्रम्पको कुल व्यक्तिगत सम्पत्ति सन् २०२४ मा करिब २.३ अर्ब डलर रहेकोमा बढेर ६.५ अर्ब डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार ट्रम्पले वल्र्ड लिबर्टी फाइनान्सियलसँगको साझेदारीबाट करिब ५ करोड ५० लाख डलर प्राप्त गरेका छन्। त्यस्तै, जनवरी २०२५ मा गरिएको लाइसेन्सिङ सम्झौताअन्तर्गत ट्रम्प क्रिप्टोकरेन्सी ब्रान्डबाट उनले थप ६३ करोड ५० लाख डलर रोयल्टी आम्दानी गरेका छन्।

वल्र्ड लिबर्टी फाइनान्सियल कम्पनी ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर, एरिक ट्रम्प र अमेरिकी विशेष दूत स्टिभ विटकोफका छोराले सन् २०२४ मा स्थापना गरेका थिए। कम्पनीले आफ्नै डब्लुएलएफआई (WLFI) टोकन बिक्रीमार्फत प्रारम्भिक चरणमै ५५ करोड डलर जुटाएको थियो।

यद्यपि हाल उक्त टोकनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। त्यसका बाबजुद ट्रम्प परिवारसँग रहेको डब्लुएलएफआई टोकनको अनुमानित मूल्य अझै १.३ अर्ब डलर बराबर रहेको जनाइएको छ।

कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन समेत सार्वजनिक गरेको थियो।

राष्ट्रपति पदमा रहँदा आफ्नै क्रिप्टो व्यवसायबाट ठूलो लाभ लिएको भन्दै ट्रम्पमाथि स्वार्थको द्वन्द्व (Conflict of Interest) सम्बन्धी प्रश्न उठ्न थालेका छन्। आलोचकहरूले उनले राष्ट्रपति पदको प्रभाव प्रयोग गरी क्रिप्टो क्षेत्रका लागि अनुकूल नीति ल्याउन खोजेको आरोप लगाएका छन्।

तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि प्रकारको स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ। ह्वाइट हाउसकी उपप्रेस सचिव अन्ना केलीले ट्रम्प प्रशासनका नीति अमेरिकालाई विश्वकै ‘क्रिप्टो राजधानी’ बनाउने लक्ष्यमा केन्द्रित रहेको बताएकी छन्।

अमेरिकी कानुनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले हरेक वर्ष आफ्नो सम्पत्ति र आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यसपटक सार्वजनिक विवरणमा प्रथम महिला मेलानिया ट्रम्प ले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट १ करोड डलरभन्दा बढी र आफ्नै संस्मरण पुस्तकबाट ५ लाख डलरभन्दा बढी रोयल्टी प्राप्त गरेको उल्लेख छ।

यसैगरी ट्रम्पले क्रिप्टो एक्सचेन्ज कम्पनीहरूको सेयर, आफ्नै ब्रान्डका व्यापारिक सामग्री तथा विशेष संस्करणको बाइबल बिक्रीबाट पनि उल्लेखनीय आम्दानी गरेका छन्।

हाल ट्रम्पको व्यावसायिक सम्पत्ति उनका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमार्फत व्यवस्थापन भइरहेको छ। कानुनी व्यवस्थाअनुसार राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि ट्रम्पले उक्त सम्पत्तिमाथि पुनः प्रत्यक्ष नियन्त्रण लिन सक्नेछन्।

उक्त आर्थिक विवरणमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आफ्नो चर्चित संस्मरण ‘हिलबिली एलेगी’ बाट यस वर्ष १० लाखदेखि ५० लाख अमेरिकी डलरसम्म रोयल्टी प्राप्त गरेको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका