काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्व चयनसँगै डा. स्वर्णिम वाग्लेलाई संगठनको सबैभन्दा लोकप्रिय नेतामध्ये एकका रूपमा स्थापित गरेको छ। उपसभापतिमा निर्विरोध निर्वाचित भएका वाग्लेले प्रतिनिधिहरूको सर्वाधिक विश्वास प्राप्त गर्दै पार्टीभित्र आफ्नो प्रभाव अझ सुदृढ बनाएका छन्।
असार ७ गते उद्घाटन भएको महाधिवेशन व्यवस्थापकीय कारणले निर्धारित समयभन्दा तीन दिन लम्बिँदै असार १२ गते सम्पन्न भएको थियो। सभापतिमा अन्य उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध निर्वाचित भए भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायतका पदमा निर्वाचन भएको थियो।
विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न निर्वाचनमा पहिलो चरणमा २ हजार ९५९ मत खसे पनि दोस्रो चरणमा भने जम्मा १ हजार २८९ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणमा झण्डै १ हजार ६७० मत कम खस्नु महाधिवेशनको अर्को चर्चित पक्ष बन्यो।
महाधिवेशनबाट सभापतिसहित सात जना पदाधिकारी निर्वाचित भएका छन्। वरिष्ठ नेतामा बालेन्द्र शाह ‘बालेन’ स्वतः निर्वाचित भए भने १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचित भएका छन्। बाँकी ५१ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
उपसभापतिका आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले निर्विरोध उपसभापति बने। प्रवास र विद्युतीय मतदानबाट प्राप्त मतसहित उनले कुल २ हजार ६५६ मत प्राप्त गरेका थिए। निर्वाचन समितिका अनुसार प्रवास समितिबाट खसेको शतप्रतिशत मत वाग्लेको पक्षमा परेको थियो।
रास्वपाका विभिन्न प्रदेशका प्रतिनिधिहरूका अनुसार महाधिवेशनभरि डा. वाग्ले सबैभन्दा बढी चर्चामा रहेका नेतामध्ये एक थिए। उनको अन्तर्राष्ट्रिय अनुभव, बौद्धिक नेतृत्व, नीति निर्माणमा सक्रिय भूमिका तथा संगठनप्रतिको योगदानका कारण प्रतिनिधिहरूको व्यापक समर्थन प्राप्त भएको उनीहरूको भनाइ छ।
महाधिवेशनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मत (८८ प्रतिशत) सहित निर्विरोध उपसभापति चयन गरेकोमा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले पहिलो महाधिवेशनबाट प्राप्त अनुभवलाई सुधार गर्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।
विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा दुई दशकभन्दा बढी अनुभव बटुलेका डा. वाग्ले अन्तर्राष्ट्रिय विकास र आर्थिक नीतिका विज्ञका रूपमा परिचित छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका उनी २०८० सालमा रास्वपामा प्रवेश गरी उपसभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।
पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न कानुनी र राजनीतिक चुनौती आइपरेका बेला डा. वाग्लेले सार्वजनिक रूपमा पार्टीको बचाउ गर्दै आन्दोलन, संगठन विस्तार र नीतिगत बहसको नेतृत्व गरेका थिए। त्यसैले महाधिवेशनबाट प्राप्त यो जनमतलाई रास्वपाभित्र उनको बढ्दो राजनीतिक प्रभाव र भविष्यको निर्णायक भूमिकाको संकेतका रूपमा हेरिएको छ।


