काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक समस्या क्रमशः समाधान हुँदै गएको बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कूटनीतिक पहलका कारण विशेषगरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटेको जानकारी दिए।
उनका अनुसार नेपाली चिया भारत निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न नेपाल सरकारले भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग निरन्तर संवाद गर्दै आएको छ।
‘गत चैतमा मेरो भारत भ्रमणका क्रममा उच्चस्तरीय छलफल भएको थियो। त्यसको परिणामस्वरूप भारतले आफ्नो नीतिमा आवश्यक परिमार्जन गरेको छ,’ मन्त्री खनालले भने, ‘नीति संशोधनपछि अहिले नेपाली चियाको भारत निर्यात पहिलेको तुलनामा धेरै सहज भएको छ।’ उनले यस विषयमा नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि निरन्तर कूटनीतिक पहल गरिरहेको बताए।
सांसद सोमनाथ पोर्तेलले उठाएको सुपारी निर्यातसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सरकारले उक्त समस्याबारे पूर्ण जानकारी राखेको र समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताए। सुपारी निर्यातका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
मन्त्री खनालले सरकारले आर्थिक तथा विकास कूटनीतिलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा विशेष जोड दिएको उल्लेख गरे। कृषिजन्य उत्पादनको निर्यातमा देखिने अवरोधहरू छिमेकी मुलुकहरूसँगको आपसी समझदारी र कूटनीतिक वार्तामार्फत समाधान गर्दै लैजाने सरकारको नीति रहेको उनले बताए।


