काठमाडौँ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले आज भदौ २४ र भोलि २५ गते शोक बिदा दिने घोषणा गरेका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्तै दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ। विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ।”
विज्ञप्तिमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
शोक बिदा दिने निर्णय नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।



