काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री वितरण गरिने भएको छ।
निगमका अनुसार ग्यासको सहज आपूर्ति हुन नसकिरहेका कारण अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी प्रत्यक्ष रूपमा ग्यास बिक्री गर्ने व्यवस्था मिलाइएको हो।
ग्यास खरिद गर्न आउने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
निगमका अनुसार ग्यास बिक्री हुने स्थानहरू:
- नेपाल आयल निगमको कार्यालय परिसर, टेकु
- पशु सेवा शाखा, चपली
- राधास्वामी परिसर, कीर्तिपुर
- तारकेश्वर नगरपालिका परिसर
- जुडो हल परिसर, नयाँबजार
- चन्द्रागिरी नगरपालिका कार्यालय
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी
निगमले तोकिएका बिक्री केन्द्रमा विभिन्न ग्यास उद्योगका सिलिन्डर उपलब्ध गराइने जनाएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले आवश्यक समन्वय भइरहेको निगमको भनाइ छ।


