Wednesday, June 24, 2026
Home Blog Page 563

उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलद्वारा स्मार्टसिटी एवं अस्पताल भवन निर्माण क्षेत्रको अवलोकन

0

भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माण गर्न प्रस्तावित स्मार्टसिटी क्षेत्र र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रको अस्पताल भवन निर्माण स्थलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले अनुगमन गरेको छ।

अनुगमन टोलीमा पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, पूर्वसचिव मणिराम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका पौडेल र नायब विकास आयुक्त नवराज प्याकुरेल सहभागी थिए। टोलीलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी र वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले स्मार्टसिटी र अस्पताल निर्माण क्षेत्रबारे जानकारी गराए।

नगर प्रमुख खत्रीले सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका लागि चानपा–३ झौखेलमा पाँच वर्षअघि नेपाल सरकारले प्रदान गरेको ३५ रोपनी जग्गामा अस्पताल भवन निर्माणको सहजीकरण गर्न आग्रह गरे। उनले भने, “अस्पतालले अहिलेसम्म भवन निर्माण गरेको छैन। गत वर्षको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि छुट्याइएको बजेटसमेत फ्रिज भयो। यस वर्ष सरकारले पहल गर्नुपर्छ।”

नगरपालिकाले अस्पताललाई १०० देखि १५० रोपनी जग्गा आवश्यक पर्ने बताउँदै पहिलो चरणमा प्रदान गरिएको जग्गामा निर्माण गर्नुपर्ने र आवश्यकता परे थप जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

वडाध्यक्ष श्यामसुन्दर धिमालले तीन किलोमिटर दूरीमा फराकिलो १२ मिटरको बाटो बनेको जानकारी दिँदै, “२०७७ सालमा विभिन्न मन्त्रालय र प्राविधिक टोलीले यो क्षेत्रलाई अस्पताल निर्माणका लागि उपयुक्त ठहर गरेका थिए। बजेट विनियोजन भए पनि निर्माण सुरू भएको छैन,” भने।

उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलले अस्पताल प्रशासनसँग समन्वय गरी निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनीहरूले चाँगुनारायणमा प्रस्तावित स्मार्टसिटी क्षेत्रको पनि अवलोकन गरे। नगर प्रमुख खत्रीले स्मार्टसिटीको काम अघि बढाउने वा खारेज गर्ने निर्णय लिन सरकारलाई आग्रह गर्दै जनताको जग्गा वर्षौँदेखि रोक्का रहेको बताए।

स्वीडेनमा कुरान जलाउने सलवान मोमिकाको हत्या

0

काठमाडौं: स्वीडेनको एक मस्जिद अगाडि कुरान जलाउने विवादास्पद प्रदर्शनकारी सलवान मोमिका बुधबार साँझ अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन्। बीबीसीका अनुसार, ३८ वर्षीय सलवानलाई स्टकहोमको सडेरटेलजेको एउटा अपार्टमेन्टमा गोली हानिएको थियो। हत्याका समयमा सलवान टिकटकमा लाइभ थिए।

सलवान मोमिका २०२३ मा स्वीडेनको विभिन्न स्थानमा धेरै पटक कुरान जलाएर र इस्लामको प्यागम्बरको आलोचना गर्दै चर्चामा आएका थिए। यस घटनाले विश्वभर विवाद सिर्जना गरेको थियो, र स्वीडेनविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो। उनलाई आरोप लगाइएको थियो कि उनले कुरानको पानामा सुँगुरको मासु राखेर कुरानलाई खुट्टाले कुचेको थियो।

सलवानका हत्यारा अझै पत्ता लागेका छैनन्। स्वीडेन प्रहरीले अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरी हत्याराको खोजी सुरु गरेको छ। प्रहरी अधिकारीहरूले घटनामा संलग्नको पहिचान गर्न काम गरिरहेका छन्।

सलवान मोमिकाको कुरान जलाउने र इस्लाम विरोधी गतिविधिहरूले स्वीडेनमा गम्भीर प्रतिक्रिया उत्पन्न गरेको थियो। उनलाई इस्लामविरुद्ध घृणा फैलाएको आरोप लगाइएको थियो। यसका कारण स्वीडेनको अदालतमा १६ जनवरीमा उनको विरुद्ध मुद्दा सुरु भएको थियो, र यस मुद्दाको निर्णय ३१ जनवरीमा आउने बताइएको थियो।

आज, ३१ जनवरीमा स्टकहोम जिल्ला अदालतमा सलवानको मृत्युको पुष्टि भएको छ, र अदालतले सुनुवाई स्थगित गरेको छ। न्यायाधीश गोरान लुन्डहले मृतकको पुष्टि गरे र अदालतले आगामी प्रक्रिया स्थगित गरेको जानकारी दिएका छन्।

सलवान मोमिका इराकको असिरियन-अरामी (क्रिश्चियन) समुदायका सदस्य थिए। यस समुदायले इराकमा सधैं राजनीतिक रूपमा सक्रिय रहँदै आइरहेको छ र प्रायः आफ्ना माग पूरा गर्न हिंसाको सहारा लिन्छ। सलवान मोमिका इराकी मिलिसियामा पनि कार्यरत थिए।

सलवानले आफ्नो विरोध मुस्लिम समुदायविरुद्ध नभइ इस्लाम धर्मको विरुद्धमा रहेको बताउँदै आएका थिए। उनले कुरानको सन्देशबाट स्वीडेनका जनतालाई जोगाउन चाहेको दाबी गरेका थिए।

स्वीडेनी प्रहरीले अभिव्यक्ति स्वतन्त्रता अनुसार उनको प्रदर्शनलाई अनुमति दिएको थियो, तर यसै बीच उनी विरुद्ध पनि मुद्दा दायर गरिएको थियो।

रास्वपाको चेतावनी: सामाजिक सञ्जाल नियमन विधेयक अस्वीकार्य

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकको प्रावधानलाई अस्वीकार गर्ने चेतावनी दिएको छ। बिहीबार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो।

विज्ञप्तिमा उनले विधेयकको पछाडिको नियतप्रति आशंका व्यक्त गर्दै भनेका छन्, “अध्यादेशका गलत बाछिटाले नेपाली राजनीतिको वातावरणलाई दूषित बनाएको छ। त्यसकै सेरोफेरोमा आएको यो विधेयक जनताको स्वतन्त्रता कुण्ठित गर्न ल्याइएको देखिन्छ।”

लोकतन्त्र र पारदर्शितामाथि आघात

सामाजिक सञ्जालले वाक् स्वतन्त्रता र पारदर्शितालाई आधार स्तम्भ बनाएर लोकतन्त्रलाई जनताको पहुँचसम्म पुर्‍याएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको सकारात्मक पक्षलाई बेवास्ता गर्दै केवल नकारात्मक कुरामा केन्द्रित हुनु अनुचित हो।”

रास्वपाले कानुन निर्माण गर्दा कसैको अधिकार कुण्ठित नगर्ने र समाजलाई सही मार्गमा लैजाने दीर्घकालीन सोच राख्नुपर्नेमा जोड दिएको छ। “संवेदनशील विषयसँग सम्बन्धित कानुन खुला परामर्श, सार्वजनिक बहस र सर्वसाधारणको अपनत्वका आधारमा मात्र निर्माण गरिनुपर्छ। तर सरकार विधेयकलाई छलफल र बहसबिना हतारहतार दर्ता गराएर आफ्नो गलत नियत प्रकट गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

विधेयक फिर्ताको माग

विज्ञप्तिमा विधेयकका प्रावधानले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण गर्ने अलोकतान्त्रिक उद्देश्य झल्काएको उल्लेख गरिएको छ।

“वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार्य हुनेछैन। सरकारलाई यो विधेयक तत्काल फिर्ता लिई प्रत्यक्ष र परोक्ष सरोकारवालासँग परामर्श गरी संवैधानिक मूल्य र मान्यताको आधारमा पुनर्लेखन गर्न आग्रह गर्दछौं,” रास्वपाले चेतावनी दिएको छ।

वासिङ्टन विमान दुर्घटनाः २८ शव फेला, चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’

0

वासिङ्टन डीसी: बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा, क्यान्सासबाट वासिङ्टनतर्फ उडिरहेको बेला अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग आकाशमै ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनास्थलबाट २८ यात्रुको शव फेला परेको छ।

दुर्घटनापछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उद्धारकार्य जारी भए पनि प्रतिकूल मौसम र रातको समयमा खोजी कार्यमा कठिनाइ भइरहेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले जानकारी दिए।

डोनेलीका अनुसार उद्धारमा करिब ३०० आपतकालीन उद्धारकर्मी खटिएका छन्। उनले भने, “उच्च हावा, चिसो मौसम, धमिलो पानी र रातको कम दृश्यताका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।”

दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै भएको हो। विमानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना थिए। प्रारम्भिक अनुमानअनुसार जीवित कोही पनि फेला पर्ने सम्भावना छैन।

दुर्घटनापछि अमेरिकी नागरिक उड्डयन प्राधिकरण र संघीय जाँच ब्यूरो (एफबीआई)ले घटनाको अनुसन्धान थालेका छन्। विमान र हेलिकप्टरको रेकर्डर खोजी कार्य जारी रहेको र यसबाट दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

संवेदनशील सुरक्षा क्षेत्र
पोटोम्याक नदी आसपासको क्षेत्र सुरक्षा दृष्टिकोणले संवेदनशील मानिन्छ। यस क्षेत्रमा विमान र हेलिकप्टरको नियमित उडान हुने गर्छ। सुरक्षा विश्लेषकहरूले एयर ट्राफिक व्यवस्थापनमा सम्भावित त्रुटिको जाँच आवश्यक रहेको औंल्याएका छन्।

पीडित परिवारको प्रतीक्षा
पीडित परिवारहरूले आफ्ना आफन्तहरूको अवस्था बुझ्न सम्बन्धित निकायसँग सम्पर्क गरिरहेका छन्। सरकारी अधिकारीहरूले पीडित परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गर्न विशेष केन्द्र स्थापना गरिएको जानकारी दिएका छन्।

मोर्चालाई प्रभावकारी बनाउन मधेश केन्द्रित दलहरूले बनाए कार्यदल

0

काठमाडौं: मधेश केन्द्रित राजनीतिक दलहरुले सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

सिंहदरबारमा बिहीबार बसेको आठ मधेश केन्द्रित दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्दै मोर्चालाई सुदृढ बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा. शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा. शिवजी यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन्। साथै, राजेन्द्र महत्तोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने सुमनले बताए।

कार्यदलले आगामी दिनमा दस्तावेज तयार पार्ने र बैठकको संयोजन गर्ने जिम्मेवारी पाएको छ।

बैठकमा अध्यादेशबारे छलफल भएको र विशेषगरी भूमि सम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको सुमनले उल्लेख गरे।

उनका अनुसार उक्त अध्यादेशले मधेशी, जनजाति, आदिवासी लगायतका समुदायलाई आफ्नै भूमिबाट बञ्चित गर्दै आप्रवासनका नाममा नयाँ संरचना निर्माण गर्न खोजेको आशंकाले आफूहरूको धारणा नकारात्मक रहेको स्पष्ट पारे।

सामाजिक सञ्जालको नियमन गर्ने विधेयकप्रति प्रेस युनियन उपत्यका प्रदेश समितिको ध्यानाकर्ष

0

काठमाडौँ: सरकारले संघीय संसद् सचिवालयमा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का प्रावधानप्रति नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा समितिले विधेयकमा उल्लेख भएका कसुर र सजायसम्बन्धी प्रावधान, परिभाषा र उद्देश्य नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक अन्तर्गत धारा १७ को उपधारा (२) (क)को विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ को सञ्चारको हकसँग बाझिएको भन्दै आपत्ति जनाइएको छ।

प्रदेश समितिका अध्यक्ष लिलाराज खनालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र प्रेसलाई नियन्त्रण गरी प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्ने उद्देश्यले यो विधेयक ल्याइएको र यसले संविधानको मर्म, भावना, स्वतन्त्र प्रेसको गरिमा तथा मर्यादालाई कुल्चने मनसाय प्रकट गरेको उल्लेख छ।

समितिले सामाजिक सञ्जालमा देखिएका विकृति, विसंगति र अराजकतालाई नियन्त्रण गर्नु राज्यको दायित्व भए पनि सूचना सञ्जालको महत्त्व र प्रभाव बोकेको अनलाइन सञ्चारमाध्यमलाई नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको बताएको छ।

समितिले अनलाइन सञ्चारमाध्यमलाई मर्यादित र व्यावसायिक बनाउन राज्यको अनुगमन र नियमन आवश्यक रहेको स्वीकार्दै पनि नियन्त्रण गर्ने प्रयास स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको ठहर गरेको छ।

दूरगामी प्रभाव पार्ने यस्ता विधेयक ल्याउँदा नागरिकका मौलिक हकको संरक्षण गर्दै आलोचना, टिप्पणी र गुनासा स्वीकार्य हुने विधेयक ल्याउनुपर्नेमा जोड दिँदै समितिले वर्तमान विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने स्वेच्छाचारी प्रवृत्ति देखाएको टिप्पणी गरेको छ।

समितिले श्रमजीवी सञ्चारकर्मीहरूको सल्लाह र सुझावमा व्यापक परिमार्जन तथा संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, अन्यथा स्वतन्त्र प्रेसको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी समेत दिएको छ।

संविधान संशोधनका विषयमा दलहरु आफैँ अलमलमा छन्ः राष्ट्रियसभा सदस्य उदयबहादुर बोहरा

0

काठमाडौँ: हाल संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिमा व्यापक चर्चा र बहसको केन्द्र बनेको छ। संशोधनको सन्दर्भ उठ्दा शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनाजस्ता विषयलाई गहन छलफलमा लैजान आवश्यक भएको विश्लेषकहरूको धारणा छ।

विशेषज्ञहरूले प्रदेश, पालिका र वडाको सङ्ख्या घटाउने, कार्यकारीसहित सानो मन्त्रिमण्डल बनाउने लगायतका सुधारका विकल्प प्रस्तुत गरिरहेका छन्। उनीहरूका अनुसार संघीयता आफैँमा गलत होइन, तर यसलाई आर्थिक रूपमा व्यावहारिक, चुस्त र प्रभावकारी बनाउन संशोधन आवश्यक भइसकेको छ।

संविधान संशोधनको वर्तमान एजेन्डा सत्ताको खेलसँग जोडिएको भ¥याङजस्तो देखिएको टिप्पणी गर्न थालिएको छ। सरकारले संशोधनको एजेन्डा अघि सारे पनि राजनीतिक दलहरू यस विषयमा प्रस्ट निर्णय गर्न नसकेको देखिन्छ। संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति अपरिहार्य हुने प्रस्ट छ।

लोकतन्त्रको स्थापनाका लागि लामो सङ्घर्ष गरेका राजनीतिक दलहरूले विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणमा जनतालाई आश्वस्त बनाउन नसकेको गुनासो बढ्दै गएको छ। सुशासनको अभाव र भ्रष्टाचारले नागरिकमा असन्तुष्टि चुलिँदै गएको छ।

कानुन निर्माणमा संसद्को कछुवाको गति र कार्यान्वयनमा सरकारको कमजोरीले देशको प्रगतिलाई प्रभावित तुल्याएको देखिन्छ। भूमिसम्बन्धी कानुन संसद्बाट पारित हुन नसकेपछि सरकारले अध्यादेशको सहारा लिएको गुनासो उठिरहेको छ।

रोजगारी र कृषि संकट: सरकारको ध्यान अभाव
रोजगारीको सिर्जना नहुँदा युवाहरूको विदेश पलायन तीव्र बनेको छ। कृषि उत्पादनमा ह्रास आएपछि देशले आवश्यक खाद्य सामग्री विदेशबाट आयात गर्नुपर्ने बाध्यता बढेको छ। सरकारको लगानी अभावले औद्योगिकीकरण र कृषि उत्पादनमा अपेक्षित प्रगति देखिएको छैन।

सल्यान जिल्लाको प्राथमिकता सडक सञ्जाल नै रहेको सांसद उदयबहादुर बोहराले बताए। राप्ती राजमार्गलगायतका सडकको निर्माण लामो समयदेखि अलपत्र रहेको र बजेट अभावका कारण ढिलाइ भएको उनले उल्लेख गरे। कृषि उत्पादन बढाउन र रोजगार प्रवर्द्धन गर्न यातायात पूर्वाधारको विकास अपरिहार्य रहेको उनको धारणा छ।

विसं २०२४ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरेका उदयबहादुर बोहरा २०४५ देखि दलीय राजनीतिमा सक्रिय छन्। उनले २०५६ मा सल्यान जिल्ला विकास समिति सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए। वर्तमानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सदस्य हुन्।

पिएसबीको अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट

0

काठमाडौँ: नेपालको पहिलो टेलिभिजन प्रसारण संस्था नेपाल टेलिभिजनले आफ्नो ४०औँ वार्षिकोत्सव मनाएको छ। संविधानसभाबाट जारी नेपालको संविधान २०७२ र राष्ट्रिय आमसञ्चार नीति २०७३ अनुसार सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गर्ने व्यवस्था भएको थियो।

हालै संघीय संसद्बाट पारित विधेयक र राष्ट्रपतिबाट प्रमाणीकरण भएको सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भइसकेका छन्।

नेपाल टेलिभिजनको वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा टेलिभिजनको ऐतिहासिक योगदान र आगामी योजनाबारे जानकारी गराए।

डा. विष्टका अनुसार, सार्वजनिक सेवा प्रसारण (PSB) को अवधारणा राजनीतिक तटस्थता, व्यापारिक स्वार्थबाट स्वतन्त्रता, र नागरिकको हितलाई ध्यानमा राखेर कार्यक्रम उत्पादनमा केन्द्रित हुनेछ। उनले भने, “हामी राष्ट्रिय एकता, विपद् व्यवस्थापन, र समृद्धिलाई प्राथमिकतामा राखेर विषयवस्तु विकास गर्दैछौँ।”

नेपाल टेलिभिजनलाई अझ प्रभावकारी बनाउन तीनवटा प्लेटफर्म— रेडियो, टेलिभिजन र डिजिटल प्रसारणलाई समानान्तररूपमा अघि बढाइने योजना रहेको डा. विष्टले बताए।

आर्थिक व्यवस्थापनको चुनौतीबारे उनले भने, “विश्वव्यापी अभ्यासमा सार्वजनिक सेवा प्रसारकका लागि राज्यको अनुदान, व्यापारिक आय, र बाह्य सहयोग मुख्य स्रोत हुन्। हामी मिश्रित (हाइब्रिड) मोडललाई प्राथमिकता दिनेछौँ।”

एनटिभी वर्ल्ड च्यानलको सञ्चालन र भविष्यमा व्यूरो विस्तारका योजना पनि रहेको उनले जनाए।

सार्वजनिक सेवा प्रसारणको अवधारणा अनुरूप नेपाल टेलिभिजनले सूचना, शिक्षा र मनोरञ्जनका माध्यमबाट नागरिक सेवाको भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।

त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक

0

काठमाडौँ: नेपाल, नेदरल्यान्डस, र थाइल्यान्डबीच बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरेको हो।

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी अनावरण गर्नुभयो।

कार्यक्रममा नेपाली कप्तान इन्दु बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गर्नुभयो। “हाम्रो टोली सन्तुलित छ, र राम्रो प्रदर्शन गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो।

नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

१५ सदस्यीय नेपाली टोलीको घोषणा

शृङ्खलाका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। टोलीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन्।

त्रिवि क्रिकेट मैदानमा खेल हुने

बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

रोशी खोलाको बाढीपछि काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

0

काभ्रेपलाञ्चोक: रोशी खोलामा आएको बाढीका कारण अदलबदल भएको काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ। गत असोज दोस्रो साताको भीषण वर्षापछि खोलाले जमिन कटान गर्दा दुई जिल्लाबीच सीमा विवाद उत्पन्न भएको थियो।

समस्या समाधान गर्न काभ्रेपलाञ्चोक र सिन्धुलीबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो। सिन्धुलीका प्रतिनिधिसभा सदस्य राजन दाहाल र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमको नेतृत्वमा गठन भएको समितिमा दुवै जिल्लाका समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, तीन स्थानीय तह, र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि सहभागी हुनेछन्।

सांसद दाहालका अनुसार समितिले सीमा विवाद समाधानसहितको प्रतिवेदन तयार गर्नेछ। समितिको समयसीमा भने आफैंले तोक्ने व्यवस्था गरिएको छ।

गत असोज १०, ११, र १२ गतेको भीषण बाढीले काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीचको सीमा क्षेत्रमा समस्या सिर्जना गरेको थियो। नेपालथोक क्षेत्रमा सीमा विवाद झन् जटिल बनेको काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति प्रमुख गौतमले बताउनुभयो। उहाँले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने जनाउनुभयो।

यसैबीच, असोजको बाढीपहिरोबाट प्रभावित पनौती क्षेत्रको खोलाको सीमाङ्कन कार्य सम्पन्न भएको छ। जिल्ला नापी कार्यालय र पनौती नगरपालिकाको संयुक्त पहलमा करिब दुई हप्तामा नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिनुभयो।

भुसालका अनुसार पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट त्रिवेणीघाटसम्मको क्षेत्रमा सीमाङ्कन गरिएको हो। त्यस क्रममा करिब ७० कित्ता जग्गाको पहिचान गरिएको र बाढीले क्षति पुगेका घर तथा जमिनको समस्या समाधानका उपाय खोजिने जनाइएको छ।