वासिङ्टन डीसी: बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा, क्यान्सासबाट वासिङ्टनतर्फ उडिरहेको बेला अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग आकाशमै ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनास्थलबाट २८ यात्रुको शव फेला परेको छ।
दुर्घटनापछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उद्धारकार्य जारी भए पनि प्रतिकूल मौसम र रातको समयमा खोजी कार्यमा कठिनाइ भइरहेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले जानकारी दिए।
डोनेलीका अनुसार उद्धारमा करिब ३०० आपतकालीन उद्धारकर्मी खटिएका छन्। उनले भने, “उच्च हावा, चिसो मौसम, धमिलो पानी र रातको कम दृश्यताका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।”
दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै भएको हो। विमानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना थिए। प्रारम्भिक अनुमानअनुसार जीवित कोही पनि फेला पर्ने सम्भावना छैन।
दुर्घटनापछि अमेरिकी नागरिक उड्डयन प्राधिकरण र संघीय जाँच ब्यूरो (एफबीआई)ले घटनाको अनुसन्धान थालेका छन्। विमान र हेलिकप्टरको रेकर्डर खोजी कार्य जारी रहेको र यसबाट दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
संवेदनशील सुरक्षा क्षेत्र
पोटोम्याक नदी आसपासको क्षेत्र सुरक्षा दृष्टिकोणले संवेदनशील मानिन्छ। यस क्षेत्रमा विमान र हेलिकप्टरको नियमित उडान हुने गर्छ। सुरक्षा विश्लेषकहरूले एयर ट्राफिक व्यवस्थापनमा सम्भावित त्रुटिको जाँच आवश्यक रहेको औंल्याएका छन्।
पीडित परिवारको प्रतीक्षा
पीडित परिवारहरूले आफ्ना आफन्तहरूको अवस्था बुझ्न सम्बन्धित निकायसँग सम्पर्क गरिरहेका छन्। सरकारी अधिकारीहरूले पीडित परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गर्न विशेष केन्द्र स्थापना गरिएको जानकारी दिएका छन्।


