काठमाडौँ। अमेरिकी मिडिया सीबीएस न्युजले प्रकाशित गरेको एक विशेष रिपोर्टमा इरानसँग सम्बन्धित एक समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयासमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेको उल्लेख गरिएको छ।
रिपोर्टअनुसार उक्त समूहले अमेरिकामै विकसित एआई प्रविधिको प्रयोग गरी अमेरिकी नौसेनासम्बन्धी सार्वजनिक जानकारी सङ्कलन, सैन्य गतिविधिको अवस्थिति पहिचान तथा सम्भावित लक्ष्यबारे सुझाव प्राप्त गर्ने प्रयास गरेको थियो।
यो गतिविधिबारेको विवरण एआई कम्पनी एन्थ्रोपिकले गत साता सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको हो। एन्थ्रोपिकले सम्बन्धित समूहको नाम भने सार्वजनिक गरेको छैन। कम्पनीले उक्त समूहलाई “खतरा पैदा गर्ने सङ्गठन” का रूपमा वर्णन गरेको छ।
एन्थ्रोपिकका अनुसार समूहले इन्टरनेटमा उपलब्ध सार्वजनिक सूचनाहरू सङ्कलन गर्न तथा अमेरिकी नौसेनाको स्थिति र सम्भावित लक्ष्य पहिचान गर्न क्लाउडमा आधारित एआई प्रणाली प्रयोग गरेको थियो।
कम्पनीले यस गतिविधिमा संलग्न अकाउन्टलाई बन्द गरिएको जनाएको छ। साथै, सम्भावित सुरक्षा जोखिमबारे अमेरिकी सरकारलाई आवश्यक जानकारी उपलब्ध गराइएको एन्थ्रोपिकले जनाएको छ।
विज्ञहरूका अनुसार सैन्य तथा रणनीतिक गतिविधिमा एआईको प्रयोग बढ्दै जाँदा यस्ता घटनाहरू भविष्यमा थप देखिन सक्ने सम्भावना छ। उनीहरूका अनुसार राज्य तथा गैरराज्य समूहहरूले सार्वजनिक रूपमा उपलब्ध सूचनाको विश्लेषण, लक्ष्य पहिचान र अन्य रणनीतिक कार्यमा एआईको प्रयोग गर्न थालेका छन्।
एन्थ्रोपिकको निष्कर्षले इरानसँग सम्बन्धित समूहहरूले अमेरिका र इजरायलसँगको द्वन्द्वसहित आफ्ना रणनीतिक उद्देश्य पूरा गर्न नयाँ प्रविधिको प्रयोग गर्ने प्रयास गरिरहेको देखाउने विज्ञहरूको भनाइ छ।
यस घटनाले एआई प्रविधिको दुरुपयोग रोक्न सुरक्षा मापदण्ड, निगरानी तथा जिम्मेवार प्रयोगसम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।


