Friday, September 18, 2026
Homeसामाचारमाथिल्लो त्रिशुली–१ को सुरुङबाट ६ जनाको शव निकालियो

माथिल्लो त्रिशुली–१ को सुरुङबाट ६ जनाको शव निकालियो

काठमाडौँ। रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ को सुरुङबाट ६ जनाको शव निकालिएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीका क्रममा आयोजनाभित्र थुनिएर ज्यान गुमाएका उनीहरूको शव नेपाली सेनासहितको उद्धार टोलीले फेला पारेको हो।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको थियो।

अप्ठ्यारो संरचना तथा सुरुङभित्रको अवस्थाका कारण ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्युलगायत प्राविधिक उपकरणको प्रयोग गरी शवहरू बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

सुरुङभित्र बाक्लो हिलो र लेदोले छोपिएको अवस्थामा अन्य शवजस्ता आकृति पनि देखिएकाले उद्धार टोलीले थप खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

यसअघि बाढी आएको २२औँ दिनमा उद्धारकर्मीले चिलिमे जलविद्युत आयोजनाको सुरुङ तथा पावरहाउस क्षेत्रबाट पाँच जनाको शव र एउटा मानव अङ्ग (खुट्टा) बाहिर निकालेका थिए।

भोटेकोशीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशुली–१, चिलिमे तथा माथिल्लो त्रिशुली–३ ‘बी’ लगायतका जलविद्युत आयोजनामा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ। बाढीका समयमा आयोजना स्थलमा कार्यरत कैयौँ श्रमिक तथा कर्मचारी सम्पर्कविहीन भएका थिए।

अहिले नेपाली सेना, स्थानीय प्रशासन, प्राविधिक तथा वैदेशिक उद्धार टोलीको सहकार्यमा विशेष उपकरण, पम्प तथा तालिमप्राप्त कुकुरको प्रयोग गरी सुरुङभित्र हराइरहेकाहरूको खोजी तीव्र पारिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका