Wednesday, June 24, 2026
Homeसामाचाररोशी खोलाको बाढीपछि काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

रोशी खोलाको बाढीपछि काभ्रे र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन

काभ्रेपलाञ्चोक: रोशी खोलामा आएको बाढीका कारण अदलबदल भएको काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ। गत असोज दोस्रो साताको भीषण वर्षापछि खोलाले जमिन कटान गर्दा दुई जिल्लाबीच सीमा विवाद उत्पन्न भएको थियो।

समस्या समाधान गर्न काभ्रेपलाञ्चोक र सिन्धुलीबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो। सिन्धुलीका प्रतिनिधिसभा सदस्य राजन दाहाल र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमको नेतृत्वमा गठन भएको समितिमा दुवै जिल्लाका समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, तीन स्थानीय तह, र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि सहभागी हुनेछन्।

सांसद दाहालका अनुसार समितिले सीमा विवाद समाधानसहितको प्रतिवेदन तयार गर्नेछ। समितिको समयसीमा भने आफैंले तोक्ने व्यवस्था गरिएको छ।

गत असोज १०, ११, र १२ गतेको भीषण बाढीले काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीचको सीमा क्षेत्रमा समस्या सिर्जना गरेको थियो। नेपालथोक क्षेत्रमा सीमा विवाद झन् जटिल बनेको काभ्रेपलाञ्चोक जिल्ला समन्वय समिति प्रमुख गौतमले बताउनुभयो। उहाँले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने जनाउनुभयो।

यसैबीच, असोजको बाढीपहिरोबाट प्रभावित पनौती क्षेत्रको खोलाको सीमाङ्कन कार्य सम्पन्न भएको छ। जिल्ला नापी कार्यालय र पनौती नगरपालिकाको संयुक्त पहलमा करिब दुई हप्तामा नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिनुभयो।

भुसालका अनुसार पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट त्रिवेणीघाटसम्मको क्षेत्रमा सीमाङ्कन गरिएको हो। त्यस क्रममा करिब ७० कित्ता जग्गाको पहिचान गरिएको र बाढीले क्षति पुगेका घर तथा जमिनको समस्या समाधानका उपाय खोजिने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका