Sunday, June 28, 2026
Home Blog Page 511

मौसम पूर्वानुमान : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने

0

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको जनाउँदै बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहेको जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ।

एसइईको नतिजा असार ७ गतेभित्र आउने

0

भक्तपुर: माध्यमिक शिक्षा परीक्षा (एसईई) मंगलबार सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षा मंगलबार सफलतापूर्वक सम्पन्न भएको हो।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भन्नुभयो, “यस वर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भयो। अयोग्य गतिविधिमा संलग्न केही निरीक्षकलाई निष्कासित गरिएको छ।”

यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए। परीक्षार्थी संख्या सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जना रहेको थियो। साथै, जापानको एक परीक्षा केन्द्रबाट २९ जनाले एसईई परीक्षा दिएका थिए। काठमाडौँको केन्द्रीय कारागार, दैलेखका दुई कारागार, र भक्तपुरको बालसुधार गृहबाट समेत परीक्षार्थी सहभागी भएका थिए।

परीक्षा बोर्डले यस वर्षको परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ। परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन्। यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ, जबकि गत वर्ष २०८० सालको एसईईमा उत्तीर्ण दर ४८ प्रतिशत मात्र रहेको थियो।

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार स्व रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु

0

मन्थली (रामेछाप): काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग जुटाउन अभियान सुरु गरिएको छ। नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाले यो सहयोग सङ्कलन अभियान सुरु गरेको महासङ्घका अध्यक्ष दीपक घिमिरेले जानकारी दिनुभयो।

मङ्गलबारदेखि सुरु भएको अभियान एक हप्तासम्म सञ्चालन हुनेछ। त्यसपछि सङ्कलित रकम रजकको परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष घिमिरेले बताउनुभयो।

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता

0

बैङ्कक: थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ। भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ।

थाइल्याण्डका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हो। यस भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध सुदृढ गर्दै सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति तथा पर्यटन क्षेत्रसम्बन्धी सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशका गैरसरकारी तथा व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदानप्रदान गरिने छ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनुहुनेछ। साथै, प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङ्कर्नसँग शिष्टाचार भेट गर्नुहुनेछ।

प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा यहाँ आइपुग्नुभएको हो।

फ्रान्समा विपक्षी नेतृ भ्रष्टाचार आरोपमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न नपाउने

0

काठमाडौं – फ्रान्सको एक अदालतले दक्षिणपन्थी नेतृ मरीन ले पेनलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ। यसका कारण उनले २०२७ को फ्रान्सेली राष्ट्रपति चुनावमा उम्मेदवारी दिन पाउने छैनन्।

ले पेनमाथि युरोपेली संघको कोष हिनामिना गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको छ। जसमध्ये दुई वर्ष निलम्बन गरिनेछ भने बाँकी दुई वर्ष उनलाई हिरासतमा नराखी इलेक्ट्रोनिक निगरानी प्रणालीअन्तर्गत बस्नुपर्नेछ। यद्यपि, उनका वकिलले सजायको विरुद्धमा अपील गर्ने घोषणा गरेका छन्।

फ्रान्सको अदालतले राष्ट्रपति पदकी पूर्व उम्मेदवार मरीन ले पेनसहित २० जनालाई नेशनल र्‍याली (RN) पार्टीका लागि कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरेको हो। तीमध्ये ८ जना आरोपित व्यक्तिहरू युरोपेली युनियनका सांसद थिए भने १२ जना संसदीय सहायक थिए।

न्यायाधीश बेनेडिक्ट डे पर्थुइसले निर्णय सुनाउँदै भने:
“यो प्रमाणित भएको छ कि सबै आरोपितहरू वास्तवमा पार्टीको लागि काम गरिरहेका थिए। अनुसन्धानबाट देखिएको छ कि यी प्रशासनिक त्रुटिहरू नभई कोष हिनामिना थिए।”

म्यान्मार भूकम्प: मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, उद्धार कार्य जारी

0

काठमाडौं: म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि सोमबार पनि उद्धार कार्य जारी रह्यो। म्यानमारको सैन्य सरकारका अनुसार मृतक संख्याले २ हजार नाघेको छ।

सैन्य प्रशासनले दिएको पछिल्लो विवरणअनुसार भूकम्पका कारण २,०५६ जनाको मृत्यु भएको छ। ३,९०० भन्दा बढी घाइते भएका छन् भने २७० जना अझै बेपत्ता छन्।

तर, म्यानमारको सैन्य नेतृत्वको इतिहास नै प्रकोपबाट हुने क्षतिको मात्रालाई दबाउने भएकाले वास्तविक तथ्याङ्क थाहा पाउन गाह्रो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, विश्व स्वास्थ्य संगठन (WHO) ले भूकम्प प्रभावितलाई सहयोग गर्न ८० लाख डलरको आपत्कालीन राहत कोषका लागि अपील गरेको छ।

संस्थाका प्रवक्ताका अनुसार भूकम्पबाट म्यानमारका अस्पतालहरू पनि क्षतिग्रस्त भएकाले घाइतेहरूको चाप थेग्न गाह्रो भइरहेको छ। उद्धार टोलीहरू प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्।

बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान

0

गाजा: लेबनानका राष्ट्रपति जोसेफ आउनले बेरुतमा इजरायलले गरेको आक्रमणलाई लेबनान विरुद्धको ‘खतरनाक चेतावनी’ को रूपमा व्याख्या गरेका छन्।

बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणको निन्दा गर्दै राष्ट्रपति आउनले अन्तर्राष्ट्रिय समुदायलाई लेबनानको पूर्ण सार्वभौमसत्ताको रक्षा गर्न समर्थन जनाउन आग्रह गरेका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायली आक्रमकता रोक्नका लागि विश्वभर रहेका लेबनानका मित्र राष्ट्रहरूलाई सम्बोधन गर्न आवश्यक छ। हामी आफ्नो भूमि र सार्वभौमसत्ताको रक्षा गर्न थप प्रयास गर्नुपर्नेछ।”

राष्ट्रपति आउनले इजरायली हमलालाई लेबनानको सुरक्षा र स्थायित्वका लागि गम्भीर खतरा भएको बताएका छन्।

नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरको पत्रकार सम्मेलन

0

काठमाडौं – अन्तरिक्ष यात्राबाट फर्किएपछि नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरले पत्रकार सम्मेलन गरेका छन्।

पत्रकार सम्मेलनमा सुनिता विलियम्सले पृथ्वीमा पुनरागमनको अनुभव साझा गर्दै भनिन्, “हाम्रो शरीरले परिवर्तनसँग कसरी अनुकूलन गर्छ भन्ने कुरा साँच्चै चमत्कार हो। पहिलो दिन फर्किंदा हामी सबै थोरै डगमगाएका थियौं। तर, हाम्रो स्नायु प्रणालीले २४ घण्टाभित्रै पुनः सामान्य रूपमा काम गर्न थाल्यो। यो प्रक्रिया साँच्चै अचम्मको छ, जसमा हाम्रो मस्तिष्कले के भइरहेको छ भनेर चाँडै बुझ्छ।”

भारतीय मूलकी नासाकी अन्तरिक्ष यात्री सुनिता विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा २८६ दिन बिताएपछि मार्च १९ मा पृथ्वीमा फर्किइन्।

अन्तरिक्षमा रहँदा सुनिता विलियम्स र बुच विल्मोरले ९०० घण्टाभन्दा बढी अनुसन्धान गरे। सो अवधिमा उनीहरूले १५० वैज्ञानिक प्रयोगहरू सम्पन्न गरेका थिए, जसले भविष्यका अन्तरिक्ष मिसनहरूका लागि महत्वपूर्ण डाटा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीर काठमाडौं लगियो, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

0

भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं. ३ का सांसद दीपक बोहराको पार्थिव शरीर हेलिकप्टरमार्फत भैरहवाबाट काठमाडौं लगिएको छ।

राप्रपा नेता तथा कार्यकर्ताहरूले भैरहवाबाट मोटरसाइकल र्‍यालीसहित नगर परिक्रमा गर्दै उनको पार्थिव शरीर निवाससम्म पुर्‍याएका थिए। निवासमा श्रद्धाञ्जली अर्पणपछि शव पुनः काठमाडौं लगिएको छ, जहाँ पशुपतिनाथमा अन्त्येष्टि गरिनेछ।

पूर्वमन्त्री बोहराको निधन काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा भएको हो। कोरोना महामारीको दोस्रो लहर (२०७७ जेठ) मा संक्रमित भएका उनी पोस्ट-कोभिड जटिलताका कारण लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रस्त थिए। संक्रमणपछि उनको स्वर परिवर्तन भएको थियो, जसका कारण उनी बोल्न नसक्ने अवस्थामा पुगे।

बोहराले थप उपचारका लागि दिल्ली र अमेरिकाको न्यूयोर्कमा समेत उपचार गराएका थिए। चिकित्सकहरूले उनलाई पोस्ट-कोभिड जटिलताकै कारण घाँटीमा क्यान्सर भएको बताएका थिए। बोल्न नसक्ने अवस्थामा रहँदा पनि उनी सांसद निर्वाचित भएका थिए। संसदमा समेत उनले प्रत्यक्ष रूपमा नबोली आफ्ना विचार राप्रपाका अन्य सांसदमार्फत व्यक्त गर्दै आएका थिए।

प्रधानमन्त्री ओली पुगे थाइल्याण्ड, उपप्रधानमन्त्रीले गरे स्वागत

0

बैंकक: प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि थाइल्याण्ड पुगेका छन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन बैंकक आइपुगेका हुन्।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६:१५ बजे बैंकक अवतरण गरेका थिए। सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्षमा थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्याण्डका राजदूत सावापोङ सिरिसोर्नसहितको टोलीले उनलाई स्वागत गर्यो।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हो।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन्।