काठमाडौं – फ्रान्सको एक अदालतले दक्षिणपन्थी नेतृ मरीन ले पेनलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ। यसका कारण उनले २०२७ को फ्रान्सेली राष्ट्रपति चुनावमा उम्मेदवारी दिन पाउने छैनन्।
ले पेनमाथि युरोपेली संघको कोष हिनामिना गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको छ। जसमध्ये दुई वर्ष निलम्बन गरिनेछ भने बाँकी दुई वर्ष उनलाई हिरासतमा नराखी इलेक्ट्रोनिक निगरानी प्रणालीअन्तर्गत बस्नुपर्नेछ। यद्यपि, उनका वकिलले सजायको विरुद्धमा अपील गर्ने घोषणा गरेका छन्।
फ्रान्सको अदालतले राष्ट्रपति पदकी पूर्व उम्मेदवार मरीन ले पेनसहित २० जनालाई नेशनल र्याली (RN) पार्टीका लागि कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरेको हो। तीमध्ये ८ जना आरोपित व्यक्तिहरू युरोपेली युनियनका सांसद थिए भने १२ जना संसदीय सहायक थिए।
न्यायाधीश बेनेडिक्ट डे पर्थुइसले निर्णय सुनाउँदै भने:
“यो प्रमाणित भएको छ कि सबै आरोपितहरू वास्तवमा पार्टीको लागि काम गरिरहेका थिए। अनुसन्धानबाट देखिएको छ कि यी प्रशासनिक त्रुटिहरू नभई कोष हिनामिना थिए।”


