Friday, July 3, 2026
Home Blog Page 471

‘सांसदले उठाएका जनताका मागलाई सरकारले सम्बोधन गर्नुपर्छ ’ : तिमिल्सिना

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ तथा राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सिनाले सबै प्रकारका हिंसाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। पछिल्लो समय पुरुषहरू पनि हिंसाको सिकार हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उहाँले कडा कानुनी व्यवस्था र सचेतना अभिवृद्धिबाट मात्रै यो समस्याको समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

रासससँगको अन्तरवार्तामा सांसद तिमिल्सिनाले “लिभिङ टुगेदर बस्ने सम्बन्धमा कुराहरु नमिल्दा बलात्कारको आरोप लाग्ने घटनामा हामीले सन्तुलित ढंगले विचार गर्न आवश्यक छ,” भन्नुभयो।

संसदीय अनुभव र कार्यक्षमता

तीन वर्षदेखि राष्ट्रियसभामा प्रतिनिधित्व गर्दै आउनुभएकी तिमिल्सिनाको यो पहिलो संसदीय कार्यकाल हो। उहाँले कानुन निर्माणमा राष्ट्रियसभाको भूमिकालाई सकारात्मक ठहर गर्दै संसद्मा विधेयक पारित गर्दा सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र निर्णय लिने परिपाटिलाई प्रशंसा गर्नुभयो। तथापि, सरकारको बहुमतका कारण धेरै विधेयकहरूमा संशोधन हुन नसक्ने अवस्था रहेको गुनासो पनि गर्नुभयो।

विकास र कार्यान्वयनमा ध्यान दिनुपर्ने

तिमिल्सिनाले सांसदहरूले संसद्मा उठाउने विषयहरूमा सरकारले गम्भीर ध्यान नदिएको बताउनुभयो। “हामी निर्वाचित प्रदेश र पालिकाका समस्या संसद्मा उठाउँछौं तर कार्यान्वयनमा सरकारको चासो देखिँदैन,” उहाँको भनाइ थियो।

युवा पलायन र उद्योग सञ्चालनको आवश्यकता

देशमा तीव्ररुपमा बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै सांसद तिमिल्सिनाले बन्द र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो। उहाँले संसद्मा पटक–पटक यस्तो प्रस्ताव राखेपनि सरकारले ती उद्योगहरू निजीकरण गरिसकेको अवस्थामा आफूले निराशा महसुस गर्नुभएको उल्लेख गर्नुभयो।

महिला सहभागिता र अधिकारको अवस्था

महिलासहित पछाडि पारिएका समुदायका अधिकारलाई सुनिश्चित गर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो। “महिला सहभागिताको हिसाबले संसद्मा ३३ प्रतिशत प्रतिनिधित्व भएपनि आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अधिकारको पूर्ण कार्यान्वयन हुन सकेको छैन,” उहाँको भनाइ थियो।

संविधान संशोधनभन्दा पहिला कार्यान्वयनमा जोड

संविधान संशोधनभन्दा पहिला यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको तिमिल्सिनाको धारणा छ। उहाँले पछाडि पारिएका समुदायको हकहितका विषयलाई प्राथमिकतामा राखेर मात्रै संशोधन गर्न सकिने बताउनुभयो।

समावेशी मन्त्रिपरिषद् र दलहरूको भूमिका

दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा एमाले—साझेदार रहेको वर्तमान सरकारमा दुई मात्र महिला मन्त्री रहनु लोकतान्त्रिक अभ्यासका लागि निराशाजनक भएको तिमिल्सिनाको भनाइ थियो। समावेशी मन्त्रिपरिषद् बनाउन कानुनी व्यवस्था आवश्यक रहेको सुझाव दिँदै उहाँले महिला नेतृहरूले पनि आफ्नै पार्टीभित्र अधिकारको माग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

ससाना दलको भूमिकाप्रति दृढ विश्वास

“हाम्रो पार्टी सानो भएपनि संसद्मा सशक्त छ,” भन्दै तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदहरूले समसामयिक विषयमा प्रभावकारी भूमिका खेलेको दाबी गर्नुभयो।

संघीयता बलियो बनाउन निष्ठाको खाँचो

संघीयता बलियो बनाउन तीनै तहका सरकारहरू–संघ, प्रदेश र स्थानीय—इमान्दारीपूर्वक काम गर्नुपर्नेमा तिमिल्सिनाले जोड दिनुभयो। “वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म सबैले निस्वार्थ र निश्कलङ्क भएर काम गरे मात्र संघीयता बलियो हुन्छ,” उहाँको भनाइ थियो। साथै, एक सरकारले अर्को सरकारलाई दोषारोपण गर्दै मात्र समस्या समाधान नहुने तर्क गर्दै सबै तहका निकायले जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको सुझाव थियो।

पखनाजोलबाट अफिम जस्तो देखिने कालो पदार्थसहित दुई जना पक्राउ

0

काठमाडौं: काठमाडौंको पकनाजोल क्षेत्रबाट अफिम जस्तो देखिने कालो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २०८२ साल जेठ ४ गते बिहान १०:०० बजे काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित स्थानबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा जिल्ला रोल्पा, सुनिल स्मृति गाउँपालिका–५, काप्राका ४५ वर्षीय रुद्रबहादुर थापा र सोही गाउँपालिकाका ३६ वर्षीय राकेश परियार रहेका छन्।

उनीहरूको साथबाट गिलो अवस्थामा रहेको अफिम जस्तो देखिने कालो पदार्थ करिब १०६० ग्रामसहित विभिन्न सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीहरू:

– गिलो अवस्थामा रहेको अफिम जस्तो देखिने कालो पदार्थ — १०६० ग्राम
– INFINIX कम्पनीको एन्ड्रोइड मोबाइल — १ थान
– Redmi कम्पनीको एन्ड्रोइड मोबाइल — १ थान
– NOKIA कम्पनीको कीप्याड मोबाइल — १ थान
– टेप रोल — १ थान
– कालो रङको लेदर झोलाजस्तो देखिने झोला — १ थान

पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

काठमाडौं – जयबागेश्वरीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

0

काठमाडौं: काठमाडौंको जयबागेश्वरी क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा सात जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोटको पाले सुत्ने घरमा जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरीले सोही दिन साँझ ५:०९ बजे छापा हानी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट जुवा खेल्दा प्रयोग गरिएको चार बुक तास र नगद रू. १,०७,९१५ (अक्षरेपी एक लाख सात हजार नौ सय पन्ध्र रुपैयाँ) बरामद गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्ने व्यक्तिहरूको विवरण यसप्रकार छ:

१. भिम संगत (६६), काठमाडौं महानगरपालिका–८, जयबागेश्वरी
२. कविन्द्र भण्डारी (६७)
३. ईश्वर राज भण्डारी (५९)
४. अनुज संगत (४५)
५. बुद्धि तामाङ (५६)
६. देवी बहादुर अधिकारी (४३), गजुरी गाउँपालिका–८, धादिङ
७. रेशम सिजाली (५४), बेशीखोला गाउँपालिका–१, बागलुङ

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

विद्यार्थी अभावका कारण बेनी नगरपालिकाका दुई विद्यालय बन्द

0

म्याग्दी: विद्यार्थीको अभावका कारण म्याग्दीको बेनी नगरपालिकाका दुई सामुदायिक विद्यालय बन्द भएका छन्। बन्द हुनेमा बेनी–५ स्थित जगन्नाथ आधारभूत विद्यालय र वडा नं १० स्थित ओखले आधारभूत विद्यालय रहेका छन्।

नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालका अनुसार नयाँ शैक्षिक सत्रमा एकजना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नुपरेको हो। “गत शैक्षिक सत्रमा पनि विद्यार्थी संख्या न्यून भएकाले कक्षा १ देखि ३ सम्म घटाएर बालकक्षा मात्रै सञ्चालन गरिएको थियो,” ढकालले जानकारी दिनुभयो, “तर यस वर्ष बालकक्षाका लागि समेत विद्यार्थी नआएपछि विद्यालय बन्द गर्नु परेको हो।”

गत वर्ष ओखले विद्यालयमा पाँच र जगन्नाथमा तीन जना मात्र विद्यार्थी थिए। ती विद्यालयका बालविकास सहयोगीलाई क्रमशः दिपक माध्यमिक विद्यालय र डिम्ब आधारभूत विद्यालयमा समायोजन गरिएको छ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय र कम्प्युटरसहितका पूर्वाधारहरू भए पनि तीव्र बसाइँसराइका कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दो क्रममा छ।

नगर प्रमुख सुरत केसीका अनुसार शैक्षिक सत्र २०७९ मा ११ वटा र २०८० मा सात वटा विद्यालयमा तह समायोजन (कक्षा घटुवा) गरिएको थियो। “कक्षा सञ्चालनका लागि आवश्यक न्यूनतम विद्यार्थी संख्या नपुगेपछि यस्तो निर्णय गर्नुपरेको हो,” उहाँले भन्नुभयो।

पछिल्लो समय निजी विद्यालयतर्फको आकर्षण, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्नु, अङ्ग्रेजी माध्यममा पठनपाठनको अभाव, र विषयगत शिक्षकको अभाव जस्ता कारणले सामुदायिक विद्यालयहरू थप सङ्कटमा पर्न थालेका छन्।

अध्यक्ष दाहालद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोको जोखिममा परेका स्थानीय बासिन्दाको तत्काल उद्धार र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्दै लेख्नुभएको छ, “तत्काल उद्धार कार्य अघि बढाई जोखिम क्षेत्रमा रहेका नागरिकको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। जनधनको क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन र उद्धारमा खटिन पार्टीपंक्तिलाई निर्देशन दिएको छु।”

उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरूमा हिमताल फुट्ने जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै, यसबारे छलफल केवल राजधानीमा सीमित नराखी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन, अवलोकन तथा पूर्वतयारीमा पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो।

“हिमताल फुटेर आएको पहिरोका कारण तिलगाउँका बस्तीहरू उच्च जोखिममा छन्,” अध्यक्ष दाहालले भन्नुभयो, “पहिरोले खानेपानीका संरचना, सडक र पुलहरूमा क्षति पुर्‍याएको छ, र हालसम्म ३३ जना स्थानीय नागरिक उद्धार र राहतको पर्खाइमा रहेको जानकारीले अवस्था अझ गम्भीर बनाएको छ।”

किक बक्सिङमा नेपाली खेलाडी अविरल घिमिरेको ऐतिहासिक कीर्तिमान

0

काठमाडौं: नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङको इतिहासमा पहिलोपटक तीनवटा अन्तर्राष्ट्रिय उपाधि हात पार्दै नयाँ कीर्तिमान कायम गरेका छन्। ‘हिमालयन चितुवा’को उपनामले विश्वभर परिचित घिमिरेले अदम्य साहस र असाधारण सफलता हासिल गर्दै नेपालको गौरव बढाएका हुन्।

अविरलले जापानको ओसाका सहरमा हालै सम्पन्न विश्वप्रसिद्ध ‘के-वन क्रस १७५’ प्रतियोगिताको उपाधि जित्दै कीर्तिमान रचेका हुन्। उनले जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउण्डमै पराजित गर्दै उपाधि चुमेका हुन्। रिङमा च्याम्पियन जिन्कलाई ढाल्ने पहिलो नेपाली खेलाडी बनेका घिमिरेका पिता एवं पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिनुभयो।

उनका अनुसार ‘के-वन क्रस १७५’ किक बक्सिङको अत्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ। प्रतियोगिता हेर्न जापानमा रहेका नेपाली तथा जापानी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस उपाधिका लागि अविरलले थाइल्यान्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा करिब डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका थिए। उपाधि जितेपछि अविरलले भने, “यो नेपाल र मेरो जीवनको ऐतिहासिक क्षण हो। विशेष धन्यवाद मेरा पिता एवं प्रशिक्षक देव घिमिरेलाई, अनि प्रतियोगितामा मलाई हौसला दिनुहुने सबै नेपाली तथा जापानी खेलप्रेमीलाई।”

यसअघि पनि अविरलले सन् २०२५ का लागि आयोजना गरिएको ‘के-वान वर्ल्ड म्याक्स’ प्रतियोगिताको उपाधि जितिसकेका छन्। टोकियोस्थित नेशनल योयोगी स्टेडियममा भएको उक्त प्रतियोगितामा उनले जापानी बक्सर यसुहितो सिरासुलाई पराजित गरेका थिए।

यस्तै, गत कात्तिक ११ गते जापानको नागोया सहरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा अविरलले फ्रान्सका चर्चित बक्सर एन्टोनिन मार्कोनीलाई पराजित गर्दै विश्व च्याम्पियन बनेका थिए।

फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, र थाइल्यान्ड लगायत देशका प्रतिस्पर्धीलाई हराइसकेका अविरलले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झण्डा फहराउँदै देशको नाम उच्च बनाउँदै आएका छन्।

वर्तमानमा अविरल आफ्ना पिता देव घिमिरेसँग जापानको नागोया सहरमा बस्दै आएका छन्। बुबा देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के-वान प्रोफेशनल किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन्। उनीहरूको मूलथलो चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारा बलम्बू हो।

अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

0

वीरगञ्ज (पर्सा): अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय अन्तर्गतका १२ जिल्लामा चालु आर्थिक वर्षको पहिलो १० महिनामा १,५६४ वटा उजुरी दर्ता भएका छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) राजीव श्रेष्ठका अनुसार, सबैभन्दा बढी उजुरी रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहहरूसँग सम्बन्धित छन्।

“चालु आवको १० महिनामा रौतहट जिल्लाबाट ४३० उजुरी दर्ता भएका छन्,” श्रेष्ठले जानकारी दिनुभयो, “त्यसपछि बाराबाट ३९७ र पर्साबाट ३५२ उजुरी परेका छन्।”
यस अवधिमा सबैभन्दा कम उजुरी रामेछाप र रसुवा जिल्लाबाट परेका छन्, जहाँ मात्र तीन–तीन उजुरी दर्ता भएका छन्।

अख्तियार हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले विधिको शासन र सुशासन सुनिश्चित गर्न स्थानीय तहमा सुधार आवश्यक रहेको बताउनुभयो। “मधेश प्रदेशका स्थानीय तहमा विकृति र विसङ्गति धेरै देखिएको छ,” उहाँले भन्नुभयो, “स्थानीय तहले सुशासनको अभ्यास गर्दै यस्ता विकृति अन्त्य गर्न अब ढिला गर्नुहुन्न।”

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार, उजुरीको अधिकांश हिस्सा सार्वजनिक खरिद प्रक्रिया र निर्माणसम्बन्धी अनियमिततासँग सम्बन्धित छन्।
“गलत इष्टिमेट बनाउने, कानुन नअपनाई खरिद प्रक्रिया अघि बढाउने, र उपभोक्ता समितिबाट जिम्मा लिएर अरू ठेकेदारमार्फत काम गराउने जस्ता प्रवृत्तिहरू देखिएका छन्,” उहाँले भन्नुभयो।

गत आर्थिक वर्षभरिमा हेटौंडा कार्यालयमा ९१८ उजुरी परेका थिए। चालु आवको १० महिनामा १,०३९ उजुरी फछ्र्यौट भइसकेको छ भने ५२५ उजुरी फछ्र्यौट गर्न बाँकी छ।
त्यसैगरी, गत वर्षका ४६४ उजुरी अझै फछ्र्यौट हुन बाँकी रहेका छन्।

हेटौंडा कार्यालय मातहत मधेश प्रदेशका रौतहट, बारा र पर्सा तथा बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछाप जिल्ला पर्दछन्।

इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

0

काठमाडौं: गाजामा युद्धविरामका लागि इस्रायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ। वार्ताको क्रममा, हमासले सम्भावित युद्धविराम सम्झौताको भागस्वरूप थप इस्रायली बन्धकहरू रिहा गर्ने प्रस्ताव गरेको छ।

यो संवाद इस्रायली सेनाले गाजा पट्टीमा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि सुरु भएको हो।

बीबीसीसँग कुरा गर्दै एक प्यालेस्टिनी अधिकारीले बताएअनुसार, हमासले ६० दिनको युद्धविराम प्रस्ताव गरेको छ, जसको सट्टामा उसले नौ इस्रायली बन्धकहरू रिहा गर्नेछ। यसको बदलामा इस्रायलले प्यालेस्टिनी कैदीहरू रिहा गर्ने सहमति जनाएको छ।

अधिकारीका अनुसार, नयाँ सम्झौताले राहत सामग्री लिएर आउने ४०० ट्रकहरूलाई गाजामा प्रवेश गर्न अनुमति दिनेछ र त्यहाँका बिरामीहरूलाई उपचारका लागि बाहिर लैजान पनि सहमति हुनेछ।

बदलीमा, इस्रायलले बाँकी सबै बन्धकहरू जीवित छन् भन्ने प्रमाण र उनीहरूको अवस्थाबारे विस्तृत जानकारी माग गरेको छ।

यो वार्ता कतार र अमेरिकाको मध्यस्थतामा दोहामा भइरहेको छ र शनिबार दिउँसोदेखि सुरु भएको हो।

इस्रायलले हालसम्म प्रस्तावित सम्झौताको विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। तर वार्ता सुरु हुनु अघि उसले गाजाबाट आफ्ना सेना फिर्ता नगर्ने र युद्ध अन्त्यको कुनै वाचा नगर्ने स्पष्ट पारेको थियो।

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

0

काठमाडौं: जापानमा हालै सार्वजनिक भएको एक अनौठो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। टोकियो निवासी एक व्यक्तिले आफ्नै बुबाको मृत शरीरलाई दुई वर्षसम्म दराजभित्र लुकाएर राखेको तथ्य खुलेको छ।

इकोनोमिक टाइम्सको रिपोर्टअनुसार ५६ वर्षीय नोबुहिको सुजुकी टोकियोमा चिनियाँ रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। केही दिनदेखि उनकाे रेस्टुरेन्ट बन्द भएपछि स्थानीयवासीहरू चिन्तित बनेका थिए र उक्त विषय प्रहरीसम्म पुगेको थियो।

प्रहरीले सुजुकीको घरमा छापा मार्दा दराजभित्र लुकाइएको अवस्थामा उनको बुबाको कंकाल फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानबाट उनका ८६ वर्षीय बुबाको निधन जनवरी २०२३ मा भएको खुलेको छ।

प्रहरीले सुजुकीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले आर्थिक अभावका कारण अन्त्येष्टि गर्न नसकेको स्वीकार गरेका छन्। महँगो अन्त्येष्टिको खर्च जुटाउन नसक्दा बाध्य भएर बुबाको शव लुकाउनुपरेको उनले बताएका छन्।

यो घटना केवल एक व्यक्तिको व्यक्तिगत पीडा मात्र नभई जापानको समाजमा देखिएको गम्भीर संरचनात्मक समस्याको संकेत पनि हो। रिपोर्टअनुसार जापानमा एक सामान्य अन्त्येष्टि खर्च झन्डै १३ लाख येन (झन्डै १३ लाख नेपाली रुपैयाँ) पर्ने गर्छ, जुन धेरै निम्न आय भएका वा एक्लै बस्ने व्यक्तिहरूका लागि अत्यन्तै कठिन हुन्छ।

जापानमा प्रायः बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिन्छ, जसमा दाहसंस्कार, मन्दिर सेवा, पुजारीको प्रार्थना, फूलसज्जा, कफिन र कलश लगायतका व्यवस्थामा उच्च खर्च लाग्ने गर्दछ। यही कारणले अन्त्येष्टि प्रक्रिया नै धेरैका लागि सामाजिक र आर्थिक बोझ बन्न थालेको देखिन्छ।

सलमान रुस्दीमाथि आक्रमण गर्नेलाई २५ वर्षको जेल सजाय

0

काठमाडौं: विश्वप्रसिद्ध ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि छुरा प्रहार गर्ने हादी मतारलाई अमेरिकी अदालतले शुक्रबार २५ वर्षको जेल सजाय सुनाएको छ। उक्त आक्रमण सन् २०२२ मा भएको थियो, जब रुश्दी अमेरिका भित्र एक कार्यक्रमका क्रममा मञ्चबाट भाषण दिइरहेका थिए।

फेब्रुअरी २०२५ मा एक निर्णायक मण्डल (जूरी) ले मतारलाई हत्या प्रयासको दोषी ठहर गरेको थियो। आक्रमणको क्रममा बुकर पुरस्कार विजेता रुश्दी गम्भीर घाइते भए, जसका कारण उनले एउटा आँखाको दृष्टि गुमाए। सजाय सुनाउँदा रुश्दी अदालतमा उपस्थित थिएनन्, तर उनले ‘भिक्टिम इम्प्याक्ट स्टेटमेन्ट’ मार्फत घटनाको विवरण दिएका थिए। सो विवरण अनुसार, उनीमाथि १२ पटक चक्कु प्रहार भएको थियो, र त्यस क्षण उनलाई लाग्यो कि अब उनी बाँच्ने छैनन्।

सजाय सुनाइनुअघि हादी मतारले आफू निर्दोष भएको दाबी गर्दै रुश्दीलाई ‘पाखण्डी’ भने। अदालतमा उनले भने, “सलमान अरूको अपमान गर्न चाहन्छन्। उनी धम्की दिने र तर्साउने व्यक्ति बन्न चाहन्छन्, र म यसमा सहमत छैन।”

अभियोजन पक्षका अनुसार, आक्रमणको समय कार्यक्रममा झण्डै १,४०० जना सहभागी थिए। मतारले मात्र रुश्दीलाई होइन, त्यहाँ उपस्थित अन्य समुदायलाई पनि हानी पुर्‍याउने नियतले योजनाबद्ध रूपमा आक्रमण गरेका थिए।

तर बचाउ पक्षले तर्क गर्‍यो कि मतार विरुद्ध यसअघि कुनै आपराधिक अभिलेख थिएन, त्यसैले उनलाई १२ वर्षको सजाय पर्याप्त हुने भनाइ राखिएको थियो। तर मिडिया ट्रायल र अन्तर्राष्ट्रिय ध्यानका कारण मुद्दा उच्च प्राथमिकतामा पर्‍यो।

यसअघि, ७ मे मा, रुश्दीका एक सहयोगीलाई मञ्चमा घाइते बनाएको आरोपमा मतारलाई सात वर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि, ती दुबै सजाय एकैपटक लागू हुनेछन्।

अधिकारिहरूका अनुसार, मतारले सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खोमेनीले जारी गरेको फतवाको प्रेरणामा आक्रमण गरेका थिए। उनले लेबनानस्थित हिजबुल्लाह संगठनप्रति समर्थन रहेको पनि स्वीकार गरेका थिए। उल्लेखनीय छ, सन् २००६ मा हिजबुल्लाहका महासचिव हसन नसरल्लाहले उक्त फतवाको समर्थन गरेका थिए।