काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोको जोखिममा परेका स्थानीय बासिन्दाको तत्काल उद्धार र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्दै लेख्नुभएको छ, “तत्काल उद्धार कार्य अघि बढाई जोखिम क्षेत्रमा रहेका नागरिकको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। जनधनको क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन र उद्धारमा खटिन पार्टीपंक्तिलाई निर्देशन दिएको छु।”
उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरूमा हिमताल फुट्ने जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै, यसबारे छलफल केवल राजधानीमा सीमित नराखी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन, अवलोकन तथा पूर्वतयारीमा पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो।
“हिमताल फुटेर आएको पहिरोका कारण तिलगाउँका बस्तीहरू उच्च जोखिममा छन्,” अध्यक्ष दाहालले भन्नुभयो, “पहिरोले खानेपानीका संरचना, सडक र पुलहरूमा क्षति पुर्याएको छ, र हालसम्म ३३ जना स्थानीय नागरिक उद्धार र राहतको पर्खाइमा रहेको जानकारीले अवस्था अझ गम्भीर बनाएको छ।”


