काठमाडौं: विश्वप्रसिद्ध ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि छुरा प्रहार गर्ने हादी मतारलाई अमेरिकी अदालतले शुक्रबार २५ वर्षको जेल सजाय सुनाएको छ। उक्त आक्रमण सन् २०२२ मा भएको थियो, जब रुश्दी अमेरिका भित्र एक कार्यक्रमका क्रममा मञ्चबाट भाषण दिइरहेका थिए।
फेब्रुअरी २०२५ मा एक निर्णायक मण्डल (जूरी) ले मतारलाई हत्या प्रयासको दोषी ठहर गरेको थियो। आक्रमणको क्रममा बुकर पुरस्कार विजेता रुश्दी गम्भीर घाइते भए, जसका कारण उनले एउटा आँखाको दृष्टि गुमाए। सजाय सुनाउँदा रुश्दी अदालतमा उपस्थित थिएनन्, तर उनले ‘भिक्टिम इम्प्याक्ट स्टेटमेन्ट’ मार्फत घटनाको विवरण दिएका थिए। सो विवरण अनुसार, उनीमाथि १२ पटक चक्कु प्रहार भएको थियो, र त्यस क्षण उनलाई लाग्यो कि अब उनी बाँच्ने छैनन्।
सजाय सुनाइनुअघि हादी मतारले आफू निर्दोष भएको दाबी गर्दै रुश्दीलाई ‘पाखण्डी’ भने। अदालतमा उनले भने, “सलमान अरूको अपमान गर्न चाहन्छन्। उनी धम्की दिने र तर्साउने व्यक्ति बन्न चाहन्छन्, र म यसमा सहमत छैन।”
अभियोजन पक्षका अनुसार, आक्रमणको समय कार्यक्रममा झण्डै १,४०० जना सहभागी थिए। मतारले मात्र रुश्दीलाई होइन, त्यहाँ उपस्थित अन्य समुदायलाई पनि हानी पुर्याउने नियतले योजनाबद्ध रूपमा आक्रमण गरेका थिए।
तर बचाउ पक्षले तर्क गर्यो कि मतार विरुद्ध यसअघि कुनै आपराधिक अभिलेख थिएन, त्यसैले उनलाई १२ वर्षको सजाय पर्याप्त हुने भनाइ राखिएको थियो। तर मिडिया ट्रायल र अन्तर्राष्ट्रिय ध्यानका कारण मुद्दा उच्च प्राथमिकतामा पर्यो।
यसअघि, ७ मे मा, रुश्दीका एक सहयोगीलाई मञ्चमा घाइते बनाएको आरोपमा मतारलाई सात वर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि, ती दुबै सजाय एकैपटक लागू हुनेछन्।
अधिकारिहरूका अनुसार, मतारले सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खोमेनीले जारी गरेको फतवाको प्रेरणामा आक्रमण गरेका थिए। उनले लेबनानस्थित हिजबुल्लाह संगठनप्रति समर्थन रहेको पनि स्वीकार गरेका थिए। उल्लेखनीय छ, सन् २००६ मा हिजबुल्लाहका महासचिव हसन नसरल्लाहले उक्त फतवाको समर्थन गरेका थिए।


